पाठेघरको मुखको क्यान्सरबाट बँच्न एचपिभी खोप अभियान, गण्डकीमा १ लाख ५ हजारलाई दिइने

eAdarsha.com Reporter
Jan 31, 2025
b1321d32-a1d8-4969-ac1a-6a192e1c7da3

तस्बिरः विजय नेपाल

पोखरा, १८ माघ । विश्वमा पाठेघरको मुखको क्यान्सरबाट बर्सेनि ३ लाख ११ जना महिलाको ज्यान जाने गरेको तथ्यांक छ । सन् २०३० मा त यसको संख्या ४ लाख पुग्ने अनुमान विश्व स्वास्थ्य संगठनले गरेको छ । बर्सेनि ५ लाख ७० हजार महिला यो क्यान्सरबाट पीडित हुने गरेकामा अबको ५ वर्षमा ७ लाख महिला यसको शिकार हुने प्रक्षेपण छ ।

मध्यम र न्यून आय भएका देशका महिलाहरुमा यसबाट बढी शिकार हुने गरेका छन् । नेपालमा बर्सेनि २१ सयभन्दा बढी महिलालाई पाठेघरको मुखकाे क्यान्सर हुने अनुमान गरिएकामा १३ सय यसैका कारण ज्यान गुमाउँछन् । यसरी हेर्दा दैनिक ४ जना महिलाको मृत्यु पाठेघरको मुख्यको क्यान्सरबाट हुने गरेको पाइन्छ । महिलाहरुमा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण बनिरहँदा निदानमा सरकारले देशव्यापी रुपमा एचपिभी खोप अभियान थालेको छ।

यही २२ माघदेखि ६ फागुनसम्म हुने खोप अभियानमा विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई यो खोप दिइँदैछ ।

यसैबीच, प्रादेशिक स्वास्थ्य निर्देशनालय गण्डकीले प्रदेशस्तरीय खोप समन्वय समितिका पदाधिकारीका लागि अभिमुखीकरण तथा पत्रकार एवं संचारकमीबीच अन्तरक्रिया गरेको छ । अन्तरक्र्रियामा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठक, जिल्ला समन्वय समिति कास्की प्रमुख लीलाधर पौडेल, निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्का, स्वास्थ्य सचिव विनोदबिन्दु शर्मा लगायतले खोप अभियान प्रभावकारी हुने र आगामी दिनमा पाठेघरको मुखको क्यान्सरबाट महिलालाई बचाउन मद्दत मिल्ने अपेक्षा गरे ।

एचपिभी खोपबारे जानकारी दिँदै निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्का

चिकित्सकका अनुसार पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्यूमन प्यापिलोमा भाइरसबाट संक्रमण हुनु हो । यो भाइरसलाई एचपिभी भाइरस भनिन्छ । यो भाइरसबाट संक्रमित व्यक्तिसँग यौनसम्पर्कबाट यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ । यो भाइरसबाट पटक–पटक संक्रमण भएर २० वर्षसम्म यो संक्रमण रह्यो भने पाठेघरको मुखको क्यान्सर हुन सक्छ । एचपिभी संक्रमण भएको सुरुको अवस्थामा कुनै लक्षण, चिन्हहरू देखिँदैनन् । पाठेघरको मुखको क्यान्सर भएमा यौनसम्पर्कपछि योनीबाट रगत आउने, तल्लो पेट दुख्ने, योनीबाट गन्हाउने पानी बग्ने, योनीबाट अनियमित रूपमा रगत बग्ने, धेरै रगत बग्ने, रक्तअल्पता हुने, कमजोर महसुस हुने लक्षण देखा पर्छन् ।

यो खोपको एक मात्रा ०.५ मिली हो । यो खोप सुइँको माध्यमबाट बायाँ पाखुराको माथिल्लो बीच बाहिरी भागमा मासुभित्र दिनुपर्दछ । एचपिभी खोपबारे भएको पछिल्लो अध्ययन अनुसार यो खोप एक मात्रा लगाएपछि यसको पूर्णमात्रा हुन्छ । राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसबमोजिम गत कात्तिकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयानुसार यो खोप एक मात्रा लगाउने खोप तालिका निश्चित गरिएको छ । विगतमा एक मात्रा एचपिभी खोप लगाएका किशोरीहरूले अर्को मात्रा लगाउनु पर्दैन । यो खोप महिनाबारी भएको बेलामा पनि लगाउन मिल्छ ।

कास्की र चितवनमा ९ वर्षअघि पाइलट प्रोजेक्टरुपमा यो खोप सेवा सञ्चालन गरिएको थियो । त्यसबेला कक्षा ६ का छात्राहरू र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीहरूलाई हरेक विद्यालयमा खोप केन्द्र सञ्चालन गरेर एचपिभी खोप ६ महिनाको फरकमा दुई मात्रा एचपिभी खोप दिइएको थियो । ती किशोरीहरूमध्ये प्रायः सबैले एचपिभी खोपको दुबै मात्रा लगाएका थिए । खोप प्रभावकारी भएपछि देशभरी विस्तार गर्ने योजना रहेकामा कोभिड–१९ महामारीले गर्दा विस्तार हुन सकेको थिएन ।

गत वर्ष सातै प्रदेशका १/१ वटा अस्पतालबाट १४ वर्ष उमेरका करिब १० हजार किशोरीहरूलाई ६–६ महिनाको फरकमा दुई मात्रा एचपिभी खोप दिइएको थियो ।

यसपालि, खोप प्रभावकारी बनाउन एचपिभी खोप अभियान–२०८१ संचालन कार्यनीति नै लागु भएको छ । खोपका लागि गण्डकीका ११ जिल्लामा २५०४ खोपकेन्द्र तोकिएको छ । तीमध्ये कास्कीमा ४०१ छन् । खोपकेन्द्रहरु विद्यालयमा आधारित छन् । खोप अभियानमा गण्डकीका १ लाख ५ हजार ४७९ जना छात्रा तथा किशोरीलाई यो खोप दिइने लक्ष्य छ । तीमध्ये कास्कीमा मात्र २६ हजार २ सय ९६ जना छन् ।

कक्षा ६ देखि १० सम्मका सबै छात्राहरुलाई हरेक विद्यालयमा खोप केन्द्र संचालन गरी खोप दिइनेछ भने विद्यालय नजाने १०–१४ वर्षसम्मका किशोरी र छुट भएका छात्राहरुलाई अभियानको अन्तिम दिन स्वास्थ्य संस्थाबाटै उपलब्ध गराइने भएको छ । विद्यालय नभएका, गाउँ, टोल र पिछडिएका वर्ग समुदायको लागि थप खोप केन्द्रबाट खोप अभियान संचालन व्यवस्था गरिने भएको छ ।

यो क्यान्सर रोकथामका लागि ३ तह वर्गीकरण गरी थालिएको अभियानमा एचपिभी खोप प्राथमिक तहको रोकथाम हो । द्वितीय तहको रोकथाममा हरेक महिलाको पाठेघरको मुखको परीक्षण (स्क्रिनिङ) गर्ने र तृतीय तहमा क्यान्सर निदान भएका महिलाको उपचार गर्ने अभियान छ ।

विश्व स्वास्थ्य संगठनले पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याको रुपमा नरहेको अवस्थामा पु¥याएर निवारण गर्ने लक्ष्य लिएको छ । सोहीबमोजिम प्रतिलाख महिलामा प्रतिवर्ष ४ भन्दा कम संख्यामा सीमित राख्ने लक्ष्य छ ।

Related News

सम्बन्धित समाचार

hero news full width