लुम्लेमा कृषि अनुसन्धानको समीक्षा

हेमजा, १७ मङ्सिर ।क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेमा साविकको पश्चिमाञ्चल विकास क्षेत्रमा नेपाल कृषि अनुसन्धान परिषदअन्तरगत रहेका विभिन्न विषयगत कार्यालयहरुको प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठी आइतवार सम्पन्न भएको छ ।

सो अवसरमा राष्ट्रिय गहुँवाली अनुसन्धान कार्यक्रम भैरहवाका नारायण खत्री, बागवानी अनुसन्धान केन्द्र मालेपाटनका लोकनाथ अर्याल, कफी अनुसन्धान कार्यक्रम बलेटक्सार गुल्मीका कृष्णबहादुर थापा, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेका अमृतप्रसाद पौडेल, बाख्रा अनुसन्धान केन्द्र बन्दीपुरका सगुन मल्ल, कालीगण्डकी मत्स्य हयाचरी स्याङजाका गोपालप्रसाद लम्साल र मत्स्य अनुसन्धान केन्द्र वेगनासका इकबाल हुसेनले आ-आफ्नो केन्द्रका कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाल कृषि अनुसन्धान परिषद् आर्थिक प्रशासन शाखा निर्देशक रामबहादुर केसीले केन्द्रका प्रगतिहरु सन्तोषजनक रहेको जनाउँदै कतिपय पक्षहरुमा भने सुधार आवश्यक रहेको बताए । निर्देशक केसीले कतिपय केन्द्रले केन्द्र वरिपरी रहेका जंगली बालीहरुको संरक्षणमा भुमिका खेल्न सक्नेमा जोड दिए । केसीले नार्कको हालको परिवर्तित नेतृत्वले त्यसमा साथ दिने प्रतिबद्घतासमेत जनाए।

राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमका संयोजक शेषरमण उपाध्यायले नार्कले विदेशबाट बीऊ निर्यात गर्दा विशेष चनाखो बन्नुपर्ने औँल्याए । सो अवसरमा अनुगमन तथा मूल्याङ्कन शाखाका वैज्ञानिक समय गैरे, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेका निर्देशक डा.तुलबहादुर पुन लगायतले पनि भनाई राखेका थिए ।

क्षेत्रीय निर्देशक डा.पुनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वैज्ञानिक अमृतप्रसाद पौडेलले स्वागत तथा प्राविधिक अधिकृत निला पौडेलले कार्यक्रम संचालन गरेकी थिइन ।

- अादर्श समाज सम्वाददाता