पोखरामा १८ हजार भेंडाच्याङ्ग्रा र खसीबोका भित्रिँदै

पोखरा, २३ असोज । यसपालिको दशैँलाई पोखरामा १० हजार हाराहारीमा भेंडाच्याङ्ग्रा र आठ हजार जति खसीबोका ल्याउने तयारी छ। व्यापारीले चीन, मुस्ताङ, मुगु र डोल्पादेखि च्याङ्ग्रा पोखरा ल्याउँदैछन् ।

च्याङ्ग्रा व्यापारी रमेश खड्कीका अनुसार पोखरा झरेका अधिकांश च्याङ्ग्रा काठमाडौं लैजाने तयारी छ। ‘खासातिरबाट यसपालि च्याङ्ग्रा आएका छैनन्। काठमाडौंका अधिकांश व्यापारी पनि यतै छन्,’ उनले भने, ‘मुस्ताङको च्याङ्ग्राको माग अहिले निकै बढेको छ। धेरैजसो च्याङ्ग्रा काठमाडौं लगिन्छन्।’

दश हजार जति च्याङ्ग्रा काठमाडौं लैजाने उनको भनाइ छ। यसबाहेक नारायणगढ, बुटवल लगायत शहरमा पनि निर्यात हुन्छन्। दशैँमा अत्यधिक खोजी हुने हिमाली क्षेत्रका च्याङ्ग्रा पोखरा र आसपासका क्षेत्रका उपभोक्ताले निकै रुचाउँछन्। ‘अचेल दशैँमा च्याङ्ग्रा किन्ने संस्कार बढी छ। वर्षभरिमा एकपटक मात्रै आउने भएकोले पनि मान्छेहरु हुरुक्कै हुन्छन्,’ खड्कीले भने, ‘हिमाली जडिबुटी खाएर हुर्केका भेंडाच्याङ्ग्रा स्वादिलो र स्वास्थ्यलाई पनि फाइदाजनक हुन्छ। एकपटक दुखै गरेर भए पनि च्याङ्ग्रा किनौं भन्ने मान्छेहरु छन्।’

पोखरामा दशैभरि मात्रै २७ करोड रुपैयाँ’ हाराहारीमा च्याङग्राको मासु बिक्री हुन्छ भने १६ करोड जति खसीबोकाको मासु बिक्री हुन्छ। यसबाहेक कुखुरा पनि झण्डै साढे सात करोड रुपैयाँको कारोबार हुन्छ। दशैँभरीमा ५० करोड रुपैयाँ’को खसीबोका, च्याङग्रा र कुखुराको मासु खपत हुने अनुमान गरिएको छ। खसीको तयारी मासु प्रतिकिलो ९ सय ८० रुपैयाँ’ पर्छ भने कुखुराको ३ सय रुपैयाँ’ प्रतिकिलो पर्छ। दशैँमा खसी च्याङ्ग्रा बढी बिक्री भए पनि कुखुरा खानेहरु नघट्ने पोल्ट्री व्यवसायी मञ्च कास्कीका अध्यक्ष निर्मल खत्रीले बताए। ‘पहिले ब्रोइलर भनेपछि नाक थुन्ने चलन थियो। अहिले नभै नहुने भैसक्यो। केटाकेटीको रोजाइमा बढी पर्छ,’ उनले भने, ‘दशैँमा खसी बोका किनेका घरमा पनि दिनहुँ ब्रोइलरको मासु खपत हुन्छ। तर अरु समयभन्दा बिक्री चाहीँ केही कम हुन्छ।’ उनका अनुसार दशैँमा १ लाख ८० कुखुरा बिक्री हुने अनुमान छ। यसबाहेक राँगा भैसी, बँगुर लगायत अन्य जीवजन्तुका मासु पनि बिक्री हुन्छन्। यसको ठ्याक्कै तथ्यांक पाउन मुश्किल छ।

वाषिर्क डेढ अर्बभन्दा बढीको खसीबोका र च्याङ्ग्रा बिक्री हुने पोखरामा ४ अर्ब जति कुखुराको मासु बिक्री हुन्छ। वर्षमा झण्डै १ लाख हाराहारी खसीबोका र २५ हजार जति भेंडा च्याङ्ग्रा बेचिन्छन् भने ६६ लाख कुखुरा बिक्री हुन्छ। पोखरामा खपत हुनेमध्ये १५ प्रतिशत जति खसीबोका भारतबाट आयात हुने पोखरा खसीबोका व्यवसायी समिति अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिए। यसअघि ३० प्रतिशत जति खसीबोका भारतबाट आयात हुन्थ्यो। भन्सार मूल्य र खसीबोकाकै मूल्य पनि बढ्न थालेपछि अहिले नेपाली उत्पादनमा बढी जोड दिएको उनले बताए। ‘भारतबाट आउने खसीबोकाको मूल्य नै बढी भैसक्यो। त्यसमाथि भन्सार ५ सय रुपैयाँ’ बढ्यो,’ उनले भने, ‘नेपाली उत्पादनलाई प्राथमिकता दिऔंं भनेर आयात घटाएका छौं। अहिले अधिकाशंले नेपालकै खसीबोका किन्न पाउँछन्।’ तर भारतीय खसीबोकाको आयात ठप्पै हुने अवस्था भने छैन। ‘पोखरा आसपासबाट खसीबोका खासै आउँदैनन्। कास्की, पर्वत, स्याङ्जातिरका किसानले खसीबोका पाल्न छोडिसके,’ व्यापारीहरु भन्छन्, ‘भारतको माल नझारे सुखै छैन। तर जतिसक्दो कम गर्ने प्रयास भैरहेको छ।’ दिनहुँको बसाइँसराइ र मासु खाने संस्कारका कारण खपत पनि बढ्दै गैरहेको उनीहरुको अनुभव छ। पोखरामा भारत सहित पश्चिम नेपालका दाङ, सुखेत, गुलरिया, बर्दिया, धनगडी, नेपालगञ्ज लगायत जिल्लाबाट खसीबोका आयात भैरहेको छ।

छनौटमा ध्यान दिनुस्

चाडबाडको मौका छोपेर व्यवसायीले रोगी पशुवस्तु पनि बिक्री गर्न सक्छन्। उपभोक्ताले खरिद गर्दा स्वास्थ्य जाँच गरिएका खसीबोका र भेंडाच्याङ्ग्रामात्रै छान्नुपर्छ। आँखा चम्किलो भएको र टाठो चौपायाँ मात्रै खरिद गर्न पशु चिकित्सकहरुको सुझाव छ। नाक र मुखबाट सिँगान र र्‍याल बगेको, पातलो दिसा गरी शरीरको पछाडिको भागमा यत्रतत्र टाँसिएको, चोटपटक लागेर वा संक्रमणबाट कानमा घाउ भएको वा रगत बगेको, शरीरको तापक्रम, गिँजा र खुट्टाको खुरमा घाउ, लरखराउने, झोक्राउने, सुस्त, दुब्लो, आँखामा च्रि्रा वा रातो आँखा, छिनछिनमै दिसा गर्ने, खुट्टाले भुइँ कोट्टयाउने, घरिघरि आकाशतर्फ फर्केर घुम्दै कराउने र लड्नेजस्ता लक्षण भएका खसीबोका तथा च्याङ्ग्रा खरिद गर्न नहुने पशु प्राविधिक सुरेशकुमार श्रेष्ठले बताए।

‘कसैले सस्तो पनि दिन खोज्छन्। त्यस्ता पशुहरुमा बढी ध्यान दिनुपर्छ। जोखेर लिँदा ठगिनबाट जोगिन सकिन्छ,’ उनले भने, ‘नाका-नाकामा चिकित्सकहरुले जाँचेर प्रमाणपत्र सहित पठाएका छन्। सबै कुरा हेरेर मात्रै खरिद गर्नुपर्छ।’ नयाँ संरचनाका कारण पोखरामा अनुगमनमा अलि समस्या देखिएको उनले बताए। यसअघि जिल्ला पशु सेवा कार्यालयले अनुगमन र आवश्यक उपचार गर्दै आएकोमा यसपालि कर्मचारी अभाव र कार्यालय समेत परिवर्तन भएकोले समस्या देखिएको छ।

- अादर्श समाज सम्वाददाता