छात्रा दुर्व्यहार आरोपमा प्रिन्सिपल पक्राउ

बुटवल, १३ भदौ। केही दिनयता देशका विभिन्न ठाउँमा बालिका बलात्कारका घटना सार्वजनिक भैरहँदा बुटवलको एक विद्यालयका प्रिन्सिपल छात्रामाथि दुर्व्यहार गरेको आरोपमा पक्राउ परेका छन्।

बुटवल ११ नहरपुरमा रहेको ज्ञानकुञ्ज सेकेन्डरी इङलिस बोर्र्डिङ स्कूलका प्रिन्सिपल तोयाराम पौडेललाई बुटवल प्रहरीले नियन्त्रणमा लिएको हो।

सो स्कूलमा पढ्ने छात्राहरूलाई अभद्र व्यवहार गर्ने, गोप्य अङ्गहरु छुने, छात्राबासमा रहेका छात्राहरूलाई राति एक्लै बोलाएर बलात्कार प्रयाससम्म गरेको आरोप अभिभावक तथा स्थानीयले लगाएका छन्।

सो घटनाले बुधबार बिहानैबाट विद्यालय परिसरमा तनाव समेत सृजना भएको छ। स्थानीय तथा अभिभावकले विद्यालयमा नाराबाजी तथा घेराउ गरेका छन्। उनीहरुले विद्यालयमा तोडफोडको समेत प्रयास गरेपछि ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ।

घटनाको अनुसन्धान गर्न बाँकी नै रहेको र विद्यालयका प्रिन्सिपललाई नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अम्मर थापाले बताए। विद्यालयमा १ हजारभन्दा बढी विद्यार्थी पढ्छन् ।

- अादर्श समाज सम्वाददाता