गहनामा पोखरेली आकर्षण

सुनमै सकिन्छ दिनहुँ २ करोड

पोखरा, १२ भदौ। पर्वतका खरिलाल विश्वकर्मा २०१५ सालदेखि पोखराका सुन व्यापारी हुन्। पोखरामा रहेको भारतीय पेन्सन क्याम्पभित्रको सुन पसलमा काम थाल्दा रामबजारमा ८-१० वटा खरको झुप्रे घरहरु थिए, गाउँघरतिरबाट भट्टी पसल चलाउन झरेकाहरु बस्थे। २०१६ सालदेखि भारतीय पेन्सन क्याम्प स्थापना भए पनि त्योभन्दा पहिले नै अस्थायी रुपमा पेन्सन बाँडिन्थ्यो। पेन्सन क्याम्पमा लाहुरेको परिवारलाई लक्षित गरी ११ वटा सुन दोकान खुलेका थिए। जतिबेला सय रुपैयाँ तोलामा सुन किनबेच हुन्थ्यो। ‘काँचो सुन कहिलेकाहीँ देख्थ्यौं नत्र पुराना सुन खारेर बेच्थ्यौं। ग्राहक पूरै लाहुरे परिवारमात्रै हुन्। पेन्सन बुझ्न आउँदा अलिअलि सुन किनेर फर्किन्थे,’ खरिलाल भन्छन्, ‘कोही लाहुरे चाहीँ काँचो सुन बोकेर पनि आउँथे। हामी त्यो किन्थ्यौं।’

२०१५ सालतिर पोखरामा मुस्किलले १५-२० वटा सुन पसल थिए। क्याम्प बाहिर मोहोरियाटोलमा सुनचाँदी पसल खुलेका थिए। मोहोरिया टोल पोखराको सबैभन्दा पुरानो बजार हो। त्यहाँ अहिले पनि धेरै सुनचाँदी पसलहरु चालु अवस्थामा छन्। क्याम्पभित्र सुनका पसल अहिले छैनन्। तर क्याम्प र मोहोरियाटोलबाट पोखरा भरी नै सुनचाँदीका पसल विस्तार भएका छन्। अरु शहरहरुमा पुर्खाको पेसा धान्ने काम मात्रै हुन्थ्यो, जतिबेला पोखरामा राम्रो व्यवसाय बनिसकेको थियो। पोखरा सहित नेपालका ४ शहर निर्माणमा लाहुरेको योगदान सबैभन्दा अगाडि छ। बुटवल, धरान र नारायणगढलाई पनि लाहुरेले बनाएको शहर भनेर चिनिन्छ। त्यसबाहेक पनि पोखरा पर्यटकीय शहर हो। तुलनात्मक रुपमा पोखरामा बसोबास गर्नेहरु बढी सम्पन्नशाली रहेको तथ्यांक नेपाल सरकारसँग छ। सुनलाई सम्पन्नतासँग जोडिन्छ। त्यसैले पहिलेदेखि नै सुन र पोखराको चाँजोपाँजो पनि राम्रैसँग जमेको छ। खरिलालको ६० वर्षे व्यावसायिक यात्रामा ४ सय हाराहारीमा सुनचाँदी पसलहरु खुलिसकेका छन्। पोखरामा पछिल्लो समय निकै चल्ने व्यवसाय हो सुनचाँदी कारोबार। पछिल्लो दुर्इ वर्षमा मात्रै कास्कीभित्र डेड सय हाराहारीमा नयाँ पसलहरु खुलेका नेपाल सुनचाँदी व्यवसायी संघ कास्कीले जनाएको छ। कारोबार गरिरहे पनि सबै पसलहरु नवीकरण भने भएका छैनन्। ‘सुन व्यापारमा पनि सिजन र अफसिजन चल्छ। चाडबाडको बेला सामान्य दिनभन्दा दोब्बर माग हुन्छ,’ नेपाल सुनचाँदी व्यवसायी संघका कार्यवाहक अध्यक्ष भविन्द्र विश्वकर्मा भन्छन्, ‘अहिले दैनिक ६ किलोसम्म सुन बेच्न सक्छौं। सामान्य दिन ३ किलो सुन बिक्री हुन्छ।’ खासगरी जनैपूणिर्मापछि पोखरा सहित नेपालभरी नै सुनचाँदीको व्यापार राम्रो हुन्छ। ‘तिज, दशैं र तिहार सबैभन्दा बढी सिजनको समय हो। त्यसबाहेक विवाहको लगन भएका महिनामा पनि राम्रो व्यापार हुन्छ,’ विश्कर्माले थपे, ‘तर बजारको माग अनुसार सुन आपूर्र्ति हुन सकेको छैन। कहिलेकाहीँ ग्राहकलाई रित्तै फर्काउनुपरेको छ।’ राष्ट्रबैंकले सुन खरिद गरेर सुनचाँदी व्यवसायी महासंघलाई बिक्री गर्छ। महासंघले देशभरका आफ्ना शाखा मार्फत सुन भाग लगाउँछ। पोखरामा पनि सुनचाँदी व्यवसायी संघले आफ्नो संस्थामा दर्ता भएका पसलहरुलाई व्यापार हेरेर सुन बिक्री गर्छ। विश्वकर्माका अनुसार पोखरामा हाल साताभरीमा ३ किलो मात्रै सुन आउने गरेको छ। नेपालभरी ३० किलो सुन आपूर्र्ति दैनिक हुन्छ। अहिले राष्ट्रबैंकले १० किलो बढाएको भन्ने सुनिएको छ,’ उनी भन्छन्, ‘पोखरामा त साताको ३ किलो सुन आउँछ। व्यवसायीलाई भाग पुर्‍याउनै कठिन छ।’

लाहुरे र केही घरानीयाँ परिवारबाट शुरु भएको पोखराको सुनचाँदी व्यवसाय अहिले निकै फेरिएको छ। उच्च घरानासहित सामान्य परिवारले पनि सुनचाँदी किन्ने र दुःख पर्दा बेच्ने गरेका छन्। त्यसैले सुनको किनबेच पोखरामा अधिक हुन्छ। तथ्यांकले सिजनका बेला पोखरामा दैनिक साढे दुर्इ करोड भन्दा बढीको सुन कारोबार हुने देखाउँछ। औषत दिनमा २ करोड हाराहारीमा सुनको कारोबार भैरहेको छ। अफसिजनकै बेलामा पनि डेढ करोडभन्दा बढी सुन पोखरालाई चाहिन्छ। वर्षेनी ७ अर्वभन्दा बढीको काँचो सुन पोखरालाई आवश्यक पर्ने सुनचाँदी व्यवसायी संघले जनाएको छ। काँचो सुनलाई ग्राहकको माग अनुसार बनाएर बिक्री गर्छन् व्यापारीहरुले। महासंघले दिने बाहेक विदेश गएका नेपालीहरुले पनि ५० ग्रामका दरले सुन ल्याउँछन् र व्यापारीलाई बेच्छन्। तर अहिले भन्सार बढी लाग्ने भएकोले नेपालीले सुन ल्याउन छोडेको संघका अध्यक्ष विश्वकर्माले बताए। ‘अघिल्लो वर्षसम्म ५० ग्राम सुन ल्याउन पाउने व्यवस्था थियो। अहिले भन्सार लिन थालेपछि झन्झटिलो भएको छ,’ उनले भने, ‘१०० ग्राम सुन ल्याउँदा भन्सार ५७ हजार तिर्नुपर्छ। नेपालीले छुट्टै सुन बोकेर आउने सम्भावना अब छैन।’ पोखराका सुन व्यापारीहरुले सुनको आपूर्र्ति कम भएको भन्दै २ दिन व्यवसाय बन्द गरे। सरकारले ग्राहकको माग अनुसार व्यापारीलाई सुन दिनुपर्ने उनीहरुको माग छ। माग सुनुवाइ नभए देशभरका व्यवसायीहरु भेला भएर संघर्षका कार्यक्रम गर्ने चेतावनी दिएका छन्।

- प्रकाश ढकाल