गाउँमा घुमाइघुमाइ बाटो

तालभरी ढुंगा र माटो

पोखरा, ७ भदौ । आजभन्दा २५ वर्षअघि फेवातालको क्षेत्र १२ हजार रोपनी हाराहारीमा थियो । २०३३ सालमा २२ हजार रोपनीमा रहेको फेवाताल ३० वर्षपछि २०६४ मा केन्द्रिय नापी टोलीका नापजाँचमा १० हजार रोपनीमात्रै भेटियो । त्यसयता आधिकारिक कुनै तथ्यांक छैन । पचासको दशकसम्म फेवाको पश्चिमी किनारबाट स्थानीयहरु डुंगा चढेर पोखरा झर्थे । ‘सम्पत्ति भएकाहरु डुंगा चढ्थे । पैसा नभएकाहरु चाहीँ डोकामा सामान बोकेर ताल किनारबाट हिड्नुपथ्यो,’ ठूलाखेतका गंगाधर तिमिल्सिना भन्छन्, ‘जुत्ता लौरोमा उनेर काँधमा हाल्यो । शुरुवाल फर्काएर कम्मरमा पुर्‍यायो । बर्खा त कुरै छोड्नुस्, हिउँदमा ताल तर्दा पनि कम्ता सकस हुन्थेन ।’ समथर भागजति पानी भरिने भएकोले कहिलेकाहीँ कान्लो उक्लेर हिडडुल गरेको सुनले सुनाए । ठूलाखेत, चापाकोट, भदौरे लगायत ठाउँबाट नूनतेल किन्न पोखरा झर्नेहरु डुंगा नचढी सुखै थिएन ।

……………………………………………

२०४९ सालमा पहिलो पटक फेवातालको पामे क्षेत्रबाट सडकको ट्रयाक खुल्यो । सधैँ डुंगाबाट आउजाउ गर्ने गाउँलेले मोटर चढ्न पाए । जनताकै श्रमदानबाट खुलेको ट्रयाक अहिले फेवाको आसपास डाँडैभरी फैलिएको छ । ‘घर कुरिया गरेर कुटो कोदालोले बाटो खोल्यौं । डोजर चलाउँदा माटोले ताल पुर्ने हामीलाई चिन्ता थियो,’ तत्कालीन जिल्ला विकास समिति सभापति महादेव गुरुङले भने, ‘त्यति गर्दा पनि महादेवले ताल पुर्‍यो भनेर सारा प्रशासन र नेताजति मेरो खिलापमा लागे । अहिले कान्लैपिच्छे डोजरले भत्काएका छन् । पहिरिएर डाँडै खुइलिसक्यो । सरकार टुलुटुलु हेरेर बसेको छ ।’ विकासबाट जनतालाई टाढा राख्न नसकिने भए पनि जथाभावी डोजर चलाएर डाँडा भत्काउने काम रोक्नुपर्ने उनले सुझाए ।

‘विकासलाई कसैले रोक्न सक्दैन । जनतालाई एक्सेस दिनैपर्छ । फेरि विकासको कुरा गर्ने वित्तिकै प्रकृतिलाई असर गरेकै हुन्छ,’ उनले थपे, ‘तर फेवाताल सेन्सेटिभ क्षेत्र हो । इको-सिस्टम र वातावरणीय सन्तुलन बिगार्ने छुट कसैलाई छैन । वातावरणमैत्री विकास मोडल प्रयोग गरिनुपर्छ ।’ ताल संरक्षणको नाममा आएका बजेट संरक्षणकै क्षेत्रमा लगानी गर्नुपर्ने उनले बताए । सडक विस्तारले निम्त्याएका विपत्तिले पछिल्लो समय स्थानीय पनि चिन्तित छन् । ‘फेवाताल यति सानो होला र घरमै गाडी आउला भन्ने सोचेका पनि थिएनौं,’ भदौरेका स्थानीय भक्तबहादुर गुरुङ भन्छन्, ‘विकास आउँदा खुशी त लागेको छ । तर फेवाताल गुम्छ कि भन्ने डर पनि उत्तिकै छ ।’ उनले संरक्षण सहितको विकासे अवधारणालाई अगाडि सार्नुपर्ने सुझाव दिए ।

……………………………………………

फेवा किनारमा ट्रयाक खुलेपछि सराङ्कोटबाट कास्कीकोट हुँदै नाउडाँडा निस्किने बाटो खुल्यो । त्यतिखेरै ढिकुरपोखरीको काँडेबाट भदौरे हुँदै सल्यान निकाल्ने अको ट्रयाक खुल्यो । फेवा जलाधारमा पर्ने कुनै पनि गाउँ छैन, सडक नपुगेको । एउटै गाउँमा दुर्इतीन तिरबाट पनि सडक खनिएको छ । १ सय १० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको फेवा जलाधारमा ३ सय ३० किलोमिटर कच्ची सडक बनिसकेको प्रतिवेदन आईयुसिएनले निकालेको छ । नयाँ ट्रयाक खोल्ने क्रम अझै रोकिएको छैन । २ वर्षअघि भदौरेको सिरानमा डाँडै पहिरियो । ढिकुरपोखरी, चापाकोट र कास्कीकोटका ठाउँठाउँमा पहिरो गयो । पहिरिएका माटो सबै तालमै बगेर आउँछ । प्राविधिकले सही निरीक्षण नगर्दा र मनपरी बाटो खनेकै कारण जमिन पहिरिने क्रम बढेको विज्ञहरु बताउँछन् । जानकारहरुका अनुसार फेवातालमा वर्षेनी १ लाख ४० हजार मेटि्रक टन ढुंगा, गिटी र लेदो थुप्रिन्छ ।

……………………………………………

हरियो वन कार्यक्रमले फेवातालको आयु १ सय ९० वर्ष अनुमान गरेको छ । यद्यपि स्थानीयहरु यसलाई मान्न तयार छैनन् । उनीहरुलाई लाग्छ-यही हिसाबले अतिक्रमण हुँदै गए ६० वर्ष पनि फेवाताललाई जोगाउन सकिँदैन । ‘फेवाताल वर्षेनी धानखेत बनिरहेको छ । डाँडाबाट झर्ने बाढीले ताल पुरेको हामीले देखिरहेका छौं,’ पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष विश्वप्रकाश लामछिानेले भने, ‘मान्छेलाई घरघरै बाटो चाहिएको छ । ताल अतिक्रमण गरेर घर बनिरहेका छन् ।’ उनकै संयोजकत्वमा बनेको टोलीले तालको १ हजार ६ सय ९२ रोपनीभन्दा बढी जग्गा विभिन्न व्यक्तिले आफ्नो नाममा दर्ता गरेको प्रमाण निकालेको थियो । ९ सय ५० भन्दा बढी व्यक्तिले बाँध फुटेका बेला तालको जग्गा आफ्नो नाममा पास गरेको र पछि बाँध उठाउँदा सोही जग्गा तालमुनि देखिएको लामिछानेले बताए ।

……………………………………………

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा १, कुवँरथरलाई चार वटा बाटोले छुन्छ । बागलुङ राजमार्गको नाउडाँडाबाट एउटा बाटो गएको छ भने सराङ्कोटबाट छुट्टै अको बाटो पुगेको छ । बागलुङ बसपार्क-सराङ्कोट हुँदै नाउँडाँडा र पामे-कार्किको तहरा, अधिकारी डाँडाहुँदै नाउँडाँडा निस्किने बाटो पनि यही गाउँ छिराएर लगिएको छ । भदौरे गाउँमा अहिले नयाँ बाटो खन्ने काम शुरु भएको छ । भञ्ज्याङबाट हर्पनवादी हुँदै भदौरै पुर्‍याउने सडकको ट्रयाक खन्न लागिएको स्थानीयले बताए । यो गाउँमा यसअघि नै काँडे र पाउँदुरबाट छुट्टाछुट्टै मोटरबाटो पुगेको छ । बैदाम-पामे ठूलाखेत हुँदै तामागीबाट पनि भदौरेसम्म अको सडक पुर्‍याइएको छ । खासै आवश्यक नभए पनि जथाभावी बाटो खन्दा जमिन कमजोर हुने र सामान्य वर्षा हुँदा पहिरो जाने भूगोलका विद्यार्थी तथा स्थानीय भानु पराजुलीले बताए । युएनले गरेको एउटा सर्भेले भदौरेतामागी क्षेत्रलाई पहिरोको उच्च जोखिमयुक्त सूचीमा राखेको छ । ‘फेवाको जलाधारमा कमेरे माटोबाट बनेका जमिन छन् । अलिअलि पानी पर्ने वित्तिकै माटो बगाउन थाल्छ,’ उनले भने, ‘त्यसमाथि डोजरले थर्कायो भने जमिन कमजोर हुन्छ । छिटो पहिरो जान्छ ।’ कास्कीको १५ औं जिल्ला परिषद्ले भदौरे क्षेत्रमा डोजर चलाउन नदिने नियम बनाएको थियो । तर अहिलेसम्म पनि डोजर चल्ने क्रम रोकिएको छैन ।

पोखरा महानगरका मेयर मानबहादुर जिसी पनि जलाधार क्षेत्रमा डोजर चल्न नदिने बताउँछन् । ‘लुकीछिपी फेवातालमाथि आक्रमण भैरहेको छ । मनपरी डोजर चलाउनु नै फेवाताल सिध्याउने बाटो हो,’ उनले भने, ‘देखेसम्म कारबाही गरेका छौं । प्राविधिकको स्टिमेटले पनि यो क्षेत्रमा डोजर चलाउन पाइँदैन ।’ कुनै पनि बहनामा फेवा आसपासमा अब डोजर चलाउन नदिने उनको भनाइ छ ।

- प्रकाश ढकाल