गण्डकी प्रदेशमा प्रधानमन्त्रीको सम्बोधन

रेलमा भरेर पानी पठाउँछौं

पोखरा, ३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकबाट आउने रेलमा नेपालको मिनिरल वाटर भरेर पठाउने बताएका छन् । नेपालमा जस्तो मिनिरल वाटर अरु देशमा नपाइने भन्दै उनले नेपालमा आउने रेलमा पानी भरेर पठाउने योजना अघि सारेका हुन् ।

‘हिउँबाट पग्लिदै आएको पानी पहरोमा पसेपछि मिनिरल र खनिजसँग मिलेर मिनिरल वाटर बन्छ । हाम्रोमा बाहेक दुनियाँमा मिनिरल वाटर झुठ्ठो कुरा हो,’ उनले भने, ‘रेल बनाएपछि ल्याउन त सामान आउला । पठाउने के भने पानी पठाउने, पानी । मिनिरल वाटर । पानीमात्रै उठाएर बोत्तलमा भरेर बेच्ने भने देश धनी बन्छ ।’ समुद्रको आडमा भएका देशसँग पिउनेपानी नभएको भन्दै उनले नेपालले आफूसँग भएको श्रोत उपयोग गर्नुपर्नेमा जोड दिए । समुद्र छन् मान्छेसँग । पानी देखेर समुद्र पिउन हुन्छ र ? हाम्रा खोला झरनामात्रै हो पिउन मिल्ने,’ उनले थपे, ‘पानी नभएको मुलुकको कुन आपत छ, कतारलाई हेर्र्नुस्। इजराइल समुद्रको पानी पिउने बनाउँछन् । सिंगापुर यस्तै हो ।’

उनले नेपालमा रेल र पानी जहाज ल्याएरै छाड्ने दोहोर्‍याएका छन् । ‘मैले रेलको कुरा गर्दा धेरैले मजाक बनाए । अरु देशले रेल चलाउन हुने नेपालले नहुने -,’ उनको प्रश्न छ, ‘नेपालमा रेल चल्छ । पूर्व पश्चिम रेल चलाइन्छ ।’ रक्सौल-काठमाडौं रेलको अध्ययन भइरहेको र पूर्व-पश्चिम रेलमा पनि छिट्टै काम हुने उनको भनाइ छ ।

गण्डकी प्रदेशसभालाई विहीवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालबाट तुइन हटाइछाड्ने दृढता देखाएका छन् । ‘पोहोर परारको तुइनको फोटो हालेर मलाई जिस्क्याउँछन् । तर त्यसको मतलव मलाई छैन,’ उनी भन्छन्, ‘म तुइनको शत्रु हो । नेपालबाट तुइन हट्छ-हट्छ ।’ ४७ वटा तुइन विस्तापित हुने क्रममा रहेको जानकारी दिँदै उनले १ सय जति तुइनलाई हटाएर अरु संरचना बनाउन नमिल्ने अवस्थामा रहेको बताए । पुल बनाउन नमिल्ने ठाउँमा केवुल राखेर भए पनि तुइन हटाइने उनको दाबी छ ।

प्रधानमन्त्री ओलीले गण्डकी प्रदेशमा फिल्म सिटीको अवधारणा पनि सरकारले सञ्चालन गर्न लागेको जानकारी दिए । ‘यत्तिकै अमिताभ बच्चन नेपाल आएका छैनन् । मैले भारतीय कलाकारहरुलाई गण्डकी प्रदेशभित्र मस्र्याङ्दी आसपास ठाउँ हेर्न भनेको छु,’ उनले भने, ‘यो प्रदेशमा फिल्म सिटी बन्दा आधा मुर्म्बई यता सर्छ । मुर्म्बईमा समथर बाहेक केही देख्न पाइँदैन, यता हिमालदेखि तालसम्म सबै देख्न पाइन्छ ।’ ओलीले नेपालमा स्तरीय चिकित्सा शिक्षा नहुँदा वर्षेनी ४ सय विद्यार्थी नेपालमा नाम निकालेर बाहिरी देशमा पढ्न जाने गरेको सुनाए । सन् २०२१ जुलाइभित्रै पोखराको अन्तर्राष्ट्रिय विमानस्थल बनिसक्ने उनको विश्वास छ । सानातिना कुरामा अल्झेर समृद्धिको बाटो पूरा नहुने भन्दै देशको पक्षमा काम गर्न उनको आग्रह छ । प्रधानमन्त्री ओलीले विकासका लागि सुशासन अनिवार्य रहेकोले भ्रष्टाचारको अन्त्य हुनु आवश्यक रहेको समेत औल्याए ।

‘पहिले स्थानीय निकाय प्रयोगमा थियो । केन्द्रमा नेपाल सरकार अहिलेकै अवस्थामा थियो,’ उनले भने, ‘नयाँ भनेको प्रदेश सरकार हो । यसमा केही अन्यौलता स्वभाविक छ । तर सानातिना कुरामा अल्झिने हैन । अधिकार पाएका ठाउँमा काम गर्नुपर्छ ।’

गण्डकी प्रदेशको वयान गर्दै उनले मानव सभ्यतासँग जोड्न आग्रह गरे । ‘नामै गण्डकी प्रदेश, सप्तगण्डकी हाम्रो सभ्यता र जीवनको शुरुवात हो, संस्कृतिको शुरुवात हो,’ उनले भने, ‘सप्तगण्डकीको शुरुवात हिमालबाट हुन्छ, गण्डकीको ऐतिहासिक, पौराणिक र धार्मिक महत्व छ ।’ उनले गण्डकी प्रदेश शिक्षा, स्वास्थ र पर्यटनको हवको रुपमा रहेको भन्दै प्रदेश विकासमा संघीय सरकारको पूर्ण साथ रहने प्रतिबद्धता जनाए । प्रधानमन्त्री ओलीले यसअघि निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरेका थिए भने पोखरा विश्वविद्यालयको १९ औं साधारण सभा बैठकमा सहभागी भएका थिए । यसैबीच, प्रधानमन्त्री ओलीलाई पोखराका विभिन्न ठाउँमा कालोझण्डा देखाउने करिब २५ जनालाई प्रहरीले नियन्त्रणमा लिई साँझ छाडेको छ ।

सदनमा काँग्रेसको अवरोध

अनसनरत प्राडा गोविन्द केसीको जीवनरक्षाको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गण्डकी प्रदेशसभा अबरुद्ध गरेको छ । प्रधानमन्त्रीको सम्बोधनलगत्तै बसेको दोश्रो बैठक काँग्रेसले अवरुद्ध गरेको हो ।

प्रदेशसभामा विहीवार ३ वटा बैठक सञ्चालन हुने कार्यसूची कार्यव्यवस्था परामर्श समितिले तय गरे पनि काँग्रेसको अवरोधले एउटामात्रै बैठक पूरा भयो । पहिलो कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेशलाई सम्बोधन गर्ने एजेण्डा रहेको थियो । तोकिएको समयभन्दा झन्डै साढे २ घण्टा ढिलो आएका ओलीले सवा घण्टासम्म समय लिए । त्यसपछि साढे ५ बजेसम्मलाई सदन स्थगित गरियो । दोश्रो बैठकमा प्रदेशसभा व्यवस्थापनसम्बन्धीको विधेयक टेबुल गर्ने कार्यसूची थियो । सभामुख नेत्रनाथ अधिकारीले दोश्रो बैठक सञ्चालन गर्न लाग्दा प्रमुख प्रतिपक्षी दल नेपाली काँंग्रेसका सांसदहरु उठेर विरोध गरे ।

सभामुख अधिकारीले बोल्ने पालो दिएपछि प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले प्राडा केसीको जीवनरक्षाको माग गरे । ‘प्रधानमन्त्रीजीले प्रदेशसभामा सम्बोधन गर्दै गर्दा केसीमाथि दमन भैरहेको थियो । अपहरण शैलीमा काठमाडौं लगेर मानवीय संवेदनाको धज्जी उडाएको छ,’ उनले भने, ‘डा गोविन्द केसीले उठाएको माग आमजनताको हो । स्वास्थ्य शिक्षामा सबैको समान पहुँच हुनुपर्छ भन्नेहरुको हो । तत्काल सुनुवाइहोस् ।’ उनले वार्ता टोली बनाएर माग सुनुवाइ गर्न आग्रह गरेका छन् ।

यस्तै, काँग्रेसले सभामुख र उपसभामुख एउटै दलको हुन नपाउने संवैधानिक व्यवस्थाप्रति पनि ध्यानाकर्षण गराएको छ ।

गण्डकी प्रदेशमा नेकपातर्फबाट तत्कालीन माओवादी सांसद नेत्रनाथ अधिकारी सभामुख र तत्कालीन एमालेकी सांसद सिर्जना शर्मा उपसभामुख छन् । काँग्रेसले सदन अवरुद्ध गरेसँगै बैठक शुक्रबारसम्म स्थगित गरिएको छ ।

- प्रकाश ढकाल