उपकुलपति डा थापाको पहलमा ९ लाखको अक्षयकोष

पोखरा, २५ असार। तनहुँको शुक्लागण्डकी-३, वनकेवास्थित निर्मल आधारभूत प्राविको सहयोग र आफ्ना गुरुको सम्मानमा निर्मल अक्षयकोष स्थापना गरिएको छ। विद्यालयका पूर्व विद्यार्थी समेत रहेका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा बुद्धिबहादुर थापाको सक्रियतामा करिब ९ लाख रुपैयाँको अक्षयकोष बनाइएको हो।

अक्षय कोषका लागि विद्यालयका पूर्व विद्यार्थी, समाजसेवी, शुभचिन्तक तथा शिक्षासेवीले रकम प्रदान गरेका हुन्। सो रकमको ब्याजबाट निजी स्रोतका शिक्षकलाई तलब खुवाइने अक्षय कोषका संयोजक एवम् पूर्व विद्यार्थी मोहनबहादुर थापाले जानकारी दिए।

‘हालसम्म ८ लाख ७१ हजार ६ सय रुपैयाँ संकलन भइसकेको छ, थपिने क्रम चलिरहेको छ,’ उनले भने, ‘यो कोषमा नगरपालिका र वडा कार्यालय पनि सहभागि भई विद्यालयको गुणस्तरमा सहयोगी बन्नुपर्ने अवस्था आएको छ।’

२०१३ सालमा स्थापित सो विद्यालयमा वाषिर्करुपमा विद्यार्थी संख्या घट्दै गएका छन्। आफूले अध्ययन गरेको विद्यालय र जन्मस्थानमा केही गरौ भन्ने उदेश्यले अभियान शुरु गरेको हुँ,’ डा थापाले भने, ‘यसमा सबैको सहयोग हुने विश्वास लिएको छु।’

उनले थपे, ‘विद्यालयमा आउँदा मलाई बच्चापनमा स्याउलाले बारेर पढेको याद आउँछ, साथै गुरु गणेशबहादुर रावतले गणित पढाएको सम्झने गर्छु अक्षयकोषले गुरुको पनि सम्मान गरेको महसुस गरेको छु।’

डा थापा सो विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययन गरेका थिए। उनले आफ्ना गुरु ९८ वर्षीय रावतलाई स्वास्थ्य जाँच गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरेका थिए।  सो कोषमा पूर्व विद्यार्थी प्राडा चन्द्रबहादुर थापा, शिक्षासेवी शिवबहादुर कार्की, भक्तबहादुर रिमाल, मोहनबहादुर थापा, सूर्य बानियाँ’, मुक्ति तिम्ला, हर्कबहादुर कार्की, प्रदीप थापा लगायतले सहयोग गरेका छन्।

- अादर्श समाज सम्वाददाता