पोखरामा मोवाइल टावर

पोखरा, २८ जेठ । महेन्द्रपुलमा पोखरा मोवाइल टावर सञ्चालनमा आएको छ ।

पाँचतले आधुनिक भवनमा सबैजसो कम्पनीका मोवाइल होलसेल बिक्री गर्ने गरी मोवाइलको मात्र बजार शुरु भएको हो । यहाँ ८० वटा सटरमा मोवाइल पसल रहने छन् । अन्डरग्राउन्डमा टावरका ग्राहकका लागि पर्याप्त र निःशुल्क पार्किङ व्यवस्था छ । टावरमा कम्प्युटर, इलेक्ट्रोनिक्स, कर प्रशिक्षण केन्द्र, क्याफे, स्मार्ट सेलको आधिकारिक डिलर, मोवाइल पाट्सका समेत पसल छन् । ग्राहकलाई मध्यनजर गरी निःशुल्क वाइफाइ पनि सुविधा छ । टावरमै कार्यालय रहेको वर्ड लिंकले निशुल्क वाइफाइ उपलब्ध गराएको हो ।

करिब ८० प्रतिशत सटर बुकिङ भइसकेको पोखरा मोवाइल टावर सञ्चालक समिति अध्यक्ष उदय केसीले जानकारी दिए । ‘धेरैजसो सटरबाट कारोबार शुरु भइसकेको छ । बाँकी केही सटर पनि चाँडै बुकिङ हुने अपेक्षा गरेका छौं ।’

बिनाझन्झट एकै स्थानमा छानीछानी मोबाइल खरिद, सर्भिसिङ लगायत सेवा उपलब्ध रहेकाले टावर मोवाइल पारखीको रोजाइमा पर्ने उनले बताए ।

भिभो, ओप्पो लगायत ९ कम्पनीका सर्भिस सेन्टर रहेको टावरमा ४ वटा बैंकका एटिएम रहने समिति सचिव नारायण सुवेदीले बताए । अस्वस्थकर प्रतिष्पर्धा, महँंगो घरभाडा जस्ता कारणले छरिएर व्यवसाय गर्न असहज महसुस गरेका व्यवसायीलाई टावरमा आउन उनले अनुरोध गरे । व्यवसायको सुनिश्चितताका लागि १५ वर्षसम्मको सम्झौता गर्न सकिने पोखरा मोवाइल टावरले जनाएको छ । आगामी साउन १ गतेबाट टावर पूर्ण रुपमा सञ्चालनमा आउनेछ ।

- एजेन्सी