फोहरमा अडेको दैनिकी

पोखरा, २ बैशाख । बिहान उठ्यो। घरधन्दा सक्यो। खाना खाईवरी ल्याण्डफिल साइट। पोखरा १८ की सम्झना परियारको डेढ वर्षदेखिको दैनिकी यस्तै छ।

‘मान्छेहरु फोहर सुन्दा पनि घिनाउँछन्। हामी दिनरात यसैमा खेल्छौं,’ उनले भनिन्, ‘ज्यान पाल्नैपर्‍यो। मन नलागे पनि काम नगरी सुखै छैन।’ शुरुमा अर्काले खोजेको प्लाष्टिक केलाउने सम्झना अहिले आफै सिलो खोजेर बेच्छिन्। ‘पैले त बंगुरलाई दाना खोज्न आ’को हो। साथीहरुले पैसा कमाइन्छ भनेपछि फोहर पनि बटुल्न थालें,’ उनी भन्छिन्, ‘दिनमा ५/७ सय कमाइ हुन्छ। बंगुरलाई दाना पनि बटुल्छु।’ सामान्य परिवारको घरर्खर्च सजिलै चल्ने उनले सुनाइन्।

रोल्पाका १८ वर्षीय उज्ज्वल बूढामगर २ वर्षदेखि पोखरामा छन्। भिनाजुले फोहर बोक्ने गाडी चलाउन थालेपछि उनी पनि सहयोगी भएर काममा लागे। साला-भेनाले बजारबाट बटुलेको फोहर ल्याण्डफिल पुर्‍याएपछि उज्ज्वलकी दिदीले केलाउँछिन्। पानीको बोत्तल, काटुन, प्लाष्टिकका झोला, गुडियाजस्ता फालिएका फोहर बटुलेर नजिकैको गोदामवालालाई बेच्छन्। ‘यतैको दानाले बंगुर पालेर पैसा कमाइन्छ। फोहर बटुल्न सके यता पनि पैसो छ,’ उज्ज्वलले भने, ‘एक गाडी भएपछि २५ सय ३ हजार पाइन्छ। ३/४ दिनमा टि्रप पनि पुगिहाल्छ।’ फोहर बटुल्दा कहिलेकाहीँ बिरामी पर्ने उनी बताउँछन्। कवाडी बटुल्नेहरु गम्बुट, मास्क, पञ्जा लगाउँछन्। तर धेरैजसोले सामान्य सुरक्षाका पहिरन पनि लगाउँदैनन्। जसले स्वास्थ्यमा गम्भीर असर पर्ने सम्भावना हुन्छ।

पोखरा महानगरले बनाएको ल्याण्डफिल साइटमा दैनिक १ सय भन्दा बढी मजदूर काम गर्छन्। जसले कवाडी बटुलेर छाक टार्दै आएका छन्। फोहरकै कमाइले परिवार धानिन्छन्। बगर, पृथ्वीचोक, छोरेपाटनदेखिका मजदूर खाली बोत्तल र फालिएका कार्टुन खोज्न ल्याण्डफिल पुग्छन्। ‘बिहान सबेरै उठेर आउने हो। भात पोको पारेर ल्याउँछु अनि दिउँसोतिर यतै खान्छु,’ बगरका एक वृद्धले भने, ‘अरु काम गरौं भने कसैले दिँदैन। फोहर बटुल्न गाह्रो छ। घामपानी पनि भन्न पाइँदैन।’ उनी ५ वर्षदेखि ल्याण्डफिलमै फोहर बटुल्दै आएका छन्। फोहर बटुलेर कमाएको पैसाले छोराछोरी पढाउने र बिहान बेलुकीको खर्च टार्ने उनले बताए। ल्याण्डफिलमा फोहर खोज्ने पनि दुर्इथरी छन्। एकाथरी गाडीसँग सर्म्पर्क गरेर त्यही फोहर केलाउँछन् भने अकोर्थरी आफूखुशी सिलो खोज्छन्। सिलो खोज्नेले गाडीको फोहर केलाउन पाउँदैनन्।

मजदूरले जम्मा गरेका कवाडी सामान ठेकेदार नारायण कार्कीले खरिद गरिदिन्छन्। त्यसकै लागि ल्याण्डफिल नजिकै उनले गोदामघर पनि बनाएका छन्। कार्कीले मजदूरसँग गुडिया किन्दा प्रतिकिलो १२ रुपैयाँ तिर्छन्। पानीको बोत्तल १८, कार्टुन ७ र प्लाष्टिकको झोलालाई १० रुपैयाँ पर्ने उनले बताए। कार्कीले २ वर्षदेखि ल्याण्डफिलको कवाडी उठाउने जिम्मा लिएका हुन्। कवाडी उठाएवापत महानगरपालिकालाई मात्रै वाषिर्क ८ लाख रुपैयाँ राजश्व बुझाउनुपर्ने उनी बताउँछन्। ‘४५ लाख लगानी गैसक्यो। महानगरलाई वर्षमा ८ लाख बुझाउनुपर्छ,’ उनले भने, ‘संकलन भएको कवाडी पनि किन्ने ग्राहक आएका छैनन्। गोदाममा जम्मा भएको सबै सामान बेच्न पाए लगानी चाहीँ उठ्छ होला।’ सरदरमा वाषिर्क ४ करोड हाराहारीको कारोबार ल्याण्डफिल साइटबाट मात्रै हुन्छ।

- प्रकाश ढकाल