अभियान पुरुष भलिबल प्रतियोगिता हुने

पोखरा, २८ फागुन। अभियान युवा क्लबको आयोजनामा पोखरामा चैत १ देखि ३ गतेसम्म दोस्रो अभियान पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता तयारी पूरा भएको संयोजक जयप्रकाश थापा ‘पप्पुले बताए।

मालेपाटन खेल मैदानमा हुने क्लबस्तरीय भलिबल प्रतियोगितामा कास्की लगायत स्याङ्जा, तनहुँ पर्वत र म्याग्दीका गरी १४ टिमको सहभागिता रहने उनले बताए ।

विजेताले ५० हजार, उपविजेताले ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। अनुशासित टिमलाई प्रशंसापत्रको सम्मानसहित वेष्ट प्लेयर, वेष्ट स्पाइकर, वेष्ट ब्लकर, वेष्ट सेटर, वेष्ट डिफेन्स र वेष्ट सर्भरलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ । गत वर्ष म्याग्दीको पुनहिल क्लब विजेता बनेको थियो।

वेष्ट अफ फाइभ एवम् नकआउट आधारमा खेलाइने प्रतियोगितामा क्लब, विद्यालय र जिल्लास्तरीय टिमले खेल्न पाउने प्रावधान छ। राष्ट्रिय विभागीय टिम तथा राष्ट्रिय र क्षेत्रीय खेलाडीले प्रतियोगितामा कुनै पनि टिमबाट खेल्न नपाउने पश्चिमाञ्चल भलिबल संघका सदस्य रमेश श्रेष्ठले जानकारी दिए। मेट्रो सिटी हस्पिटलले मुख्य प्रायोजन गरेको उक्त प्रतियोगितामा २ लाख ६० हजार आम्दानी र २ लाख ४७ हजार ५ सय रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ।

- अादर्श समाज सम्वाददाता