सेरावेशीमा क्यान्सरबारे सचेतना

पोखरा, २६ फागुन । नेपाल अर्वुदरोग निवारण संस्थाको आयोजना तथा शिवशक्ति महिला समूह सेरावेशी तनहुको संयोजनमा मुटु, श्वासप्रश्वास, क्यान्सर रोगका कारण, अवस्था र निवारण विषयक सचेतना कार्यक्रम तनहुँको शुक्लागण्डकी, सेरावेशीमा सम्पन्न भएको छ।

१०८ औँ महिला दिवस अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा १ सय २५ जनाभन्दा बढीको सहभागिता थियो।

शिवशक्ति महिला समूह सेरावेशीका अध्यक्ष उमा पन्थीको अध्यक्षता र नेपाल अर्वुदरोग निवारण संस्था कास्की शाखाका सभापति रामचन्द्र थापाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका सचिव नारायण पराजुली, प्रथम उपाध्यक्ष प्रेम भुजेल र कार्यसमिति सदस्य सरास्वती अधिकारीले मुटु, श्वासप्रश्वास, क्यान्सर रोगको अवस्था र निवारण विषयमा प्रशिक्षण दिएका थिए।

प्रशिक्षकले विशेषगरी वातावरण प्रदूषण, प्लाष्टिक र यसले वातावरणमा पार्ने नकारात्मक प्रभाव, सूर्तिजन्य पदार्थ, विषादी प्रयोग गरेका खाद्य पदार्थ र यसले पार्ने प्रभावबारे जानकारी गराएका थिए।

यसैगरी, चिनी, मैदा, नून र मसलायुक्त खानेकुराको बढी प्रयोगको कारणले क्यान्सर रोग समेत लाग्न सक्ने भएको हुँदा सोको प्रयोगमा सहभागीलाई सचेत गराउनुका साथै नियमित स्वास्थ्य परीक्षण र दैनिक व्यायाम गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा स्थानीय समाजसेवी नरेश भण्डारी, चन्द्रकला अधिकारी लगायतले क्यान्सर रोग र यसका विषयमा भनाइ राखेका थिए।

नेपाल अर्वूद रोग निवारण संस्थाका निवर्तमान सभापति रामप्रसाद बस्ताकोटीले कार्यक्रमको औचित्यतामाथि प्रकाश पारेका थिए भने सञ्चालन संस्थाका सचिव नारायण पराजुलीले गरेका थिए।

- अादर्श समाज सम्वाददाता