कृषिलाई सम्मानित पेशा बनाउँछु : मन्त्री थापा

पोखरा, २२ फागुन । प्रदेश ४ का कृषि मन्त्री लेखबहादुर थापाले कृषिलाई सम्मानित पेशाको रुपमा स्थापित गर्ने दावी गरेका छन् ।

प्रेस क्लब पोखराले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले कृषिप्रति कृषकको विकर्षण बढेको भन्दै यसमा आकर्षण बढाएर सम्मानित पेशाको रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाए । उनले त्यसकै लागि कृषकसँग मन्त्री कार्यक्रम समेत थालेको बताए । मन्त्री थापाले कृषकका गाउँ बस्तीमा उनीहरूले भोगेका समस्या पहिचान गर्दै समाधानको पहल गरिने धारणा राखे ।

‘कृषिको व्यावसायिकीकरण गरेर सर्वसाधारणलाई पनि यो पेशामा आकषिर्त गर्ने योजना छ । यसले जमिन बाँझो हुँदैन’, उनी भन्छन् ‘कृषिको विकासलाई लक्षित गरी सञ्चालनमा आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्छ । मेरो पहल त्यसमा बढी हुन्छ ।’ उनले प्रदेशको समृद्धि र विकासका लागि सबैको एकताबद्ध प्रयास आवश्यक रहेको धारणा राखे । प्रदेशसभा सदस्य राजीव पहारीले प्रकृतिले प्रदेश ४ सुन्दरमात्रै नभएर प्रचूर सम्भावना पनि भएको बताए । उनले यहाँका सम्भावनाको अधिकतम उपयोग गर्ने बताएका छन् । अर्का सांसद कुमार खड्काले पर्यटन, ऊर्जा र कृषिको माध्यमबाट प्रदेशको विकास गर्ने बताए । प्रेस क्लब पोखराका अध्यक्ष श्रीकृष्ण पौडेलको अध्यक्षतामा कार्यक्रम भएको हो ।

- अादर्श समाज सम्वाददाता