संविधान संशोधनमा एमाले सहमत

काठमाडौं, १५ फागुन । संविधान संशोधनको बारेमा अनुदार रहँदैआएको नेकपा एमाले आफ्नै नेतृत्वमा संविधान संशोधन गर्न तयार भएको छ । तर संविधानका कुन-कुन धारामा कस्तो संशोधन गर्ने भन्नेबारे भने औचित्यका आधारमा छलफल हुने एमालेले जनाएको छ ।

दुर्इ तिहाई बहुमत सहितको सरकारको नेतृत्व गर्न अग्रसर भएका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन गर्ने सहमतिमा हस्ताक्षर गर्ने भएका छन् । त्यसका लागि एमाले र संघीय समाजवादी फोरमका नेताबीच मंगलवार विभिन्न चरणमा वार्ता भएका छन् । फोरमसँग वार्तामा रहेका एमाले नेता सुवास नेम्वाङका अनुसार बुधबारसम्म सहमतिका बुँदामा हस्ताक्षर हुनेछ । नेम्वाङले भने ‘हामी सकारात्मक ढंगले छलफलमा बसेका छौं । बुधवारसम्म सहमति हुन्छ । त्यसपछि कुन कुन विषयमा संविधान संशोधन गर्ने भन्ने टुंगो लाग्छ ।’

स्रोतका अनुसार दुवै पक्षले आ-आफ्नो पक्षबाट सहमतिको मस्यौदा गरिरहेका छन् । कुन कुन बुँदामा संविधान संशोधन गर्ने भनेर दुवै पक्षले खुलाएका छैनन् । फोरमलाई फेस सेभका लागि केही औपचारिक बुँदामा सहमति हुने सम्भावना छ । बुधबार शीर्षतहबाट सहमति जुटाएपछि सहमतिमा हस्ताक्षर हुने र फोरम सरकारमा सहभागी हुनेछ ।

केन्द्र सरकारमा संघीय समाजवादी फोरम सहभागी भएसँगै प्रदेश २ को सरकारमा पनि वाम गठबन्धन सहभागी हुने सम्भावना छ । प्रदेश २ मा फोरम नेतृत्वको सरकारलाई वाम गठबन्धनले विश्वासको मत दिइसकेको छ ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र फोरम अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएर सहमतिमा हस्ताक्षर गर्ने निर्ण्र्ाा गरेको थियो । तर मंगलबार भएको वार्तामा सहभागी भएका फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले वार्ता सहमतिबाट अझै टाढा रहेको बताए । सहअध्यक्ष श्रेष्ठका अनुसार पहिले छलफल र सहमतिका विषय पनि टुंगिन सकेन । नेकपा एमाले र संघीय समाजवादी फोरमबीच सहमतिको प्रारम्भिक खाका पनि तयार भएको छैन । मंगलबारको वार्तामा सामान्य मौखिक छलफल मात्र भएको हो’ सहअध्यक्ष श्रेष्ठले भने, ‘छलफल भइरहेको छ । फलफलको टुंगो लाग्ला भन्ने हामीले आशा गरेका छौं ।तर, कुरा कुनै खाकासम्म पुगेको छैन’

फोरमलाई सरकारमा ल्याउने प्रयास स्वरुप एमालेले संविधान संशोधनमा अग्रसरता देखाइरहेको छ । फोरम सरकारमा सहभागी भएसँगै वर्तमान सत्ता गठबन्धन दुर्इ तिहाइको बन्नेछ । तर, संशोधनका विभिन्न बुँदामा सत्तारुढ दल अडिग रहेको फोरम सहअध्यक्ष श्रेष्ठ बताउछन् । प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालय लिएर सरकारमा आउन फोरमलाई प्रस्ताव गरेको छ भने फोरमले परराष्ट्रसहित दुर्इ मन्त्रालय र एक राज्यमन्त्रीको माग गरेको छ।  फोरमलाई सरकारमा ल्याउने कसरतकै कारण सोमबार मन्त्रिपरिषदले पूर्णता पाउन सकेको थिएन ।

- अादर्श समाज सम्वाददाता