दोस्रो चरणको मन्त्रिमण्डल विस्तार

काठमाडौं, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मन्त्रिपरिषद विस्तार गर्दै वाम गठबन्धनका माओवादी केन्द्रलाई पनि सरकारमा सहभागी गराएका छन् । मधेशकेन्द्रित संघीय फोरमलाई समेत सरकारमा सहभागी गराएर मन्त्रिपरिषद विस्तार गर्ने प्रयासमा रहेका प्रधानमन्त्री ओलीले फोरमसँग सहमति कायम गर्न केही समय लाग्ने देखिएपछि एमाले र माओवादीका २/२ जनालाई लिएर मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

प्रधानमन्त्रीको शपथ लिएको ११ दिनपछि ओलीले मन्त्रिपरिषदमा ४ जना सदस्य थप गरेका हुन् । सोमबार मन्त्री नियुक्ति हुनेमा एमाले महासचिव इश्वर पोखरेलले रक्षामन्त्री, एमालेबाटै डा युवराज खतिवडाले अर्थमन्त्रीको रुपमा जिम्मेवारी पाएका छन् । यस्तै, माओवादी केन्द्रबाट वरिष्ठ नेता रामबहादुर थापाले गृहमन्त्री र मातृका यादवले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको जिम्मेवारी पाएका छन् । नवनियुक्त मन्त्रीहरुलाई सोमबार नै राष्ट्रपति विद्या भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिए।

प्रधानमन्त्री ओलीले सोमबार मन्त्रिपरिषद्ले पूर्णतासहित विस्तार हुने बताएपछि दुवै पार्टीबाट २/२ जनामा मन्त्री बनेका छन् । दुवै पार्टीका मन्त्रीका आकांक्षीहरु धेरै देखिएपछि दोस्रो चरणको विस्तारमा पूर्णता पाउन सकेन । मन्त्रीमा नियुक्तमध्ये खतिवडा सरकारबाट मनोनीत तीन सांसदमध्येका एक हुन् । सरकारले मनोनीत गरेका सांसदलाई राष्ट्रिय सभाका सदस्यको शपथ नगराउन सवोर्च्च अदालतले अन्तरिम आदेश जारी गरिसकेको छ । एमाले महासचिव इश्वर पोखरेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्ने तयारीमा थिए । तर, उपप्रधानमन्त्रीबिनाको रक्षामन्त्रीमा चित्त बुझाउन बाध्य भए । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच उपप्रधानमन्त्री नराख्ने सहमति भएका कारण पोखरेल उपप्रधानमन्त्री भएनन् । तर, प्रधानमन्त्रीपछिको वरियतामा राख्न दुवै नेता सहमत भए । यसैगरी, सवोर्च्च अदालतले ‘राष्ट्रिय सभा सदस्यका रुपमा शपथ नखुवाउनू’ भनेर आदेश दिएको २४ घण्टा नबित्दै डा खतिवडाले शीतलनिवासमा अर्थमन्त्रीको शपथ खाएका छन् । अब कम्तीमा ६ महिनासम्म सवोर्च्च अदालतले पनि डा खतिवडालाई अर्थमन्त्रीबाट हटाउन सक्दैन ।

डा खतिवडा अर्थमन्त्री बन्नासाथ उनको प्रशंसा हुनुको प्रमुख कारणमध्ये एउटा हो, राष्ट्र बैंकको गभर्नर भएका बेला उनले गरेको बैंकिङ क्षेत्रको सुधार । अनि दोस्रो कारण हो, अर्थतन्त्र बुझेको विज्ञ व्यक्तिलाई अर्थमन्त्री बनाइनु । अर्थविद् एवं पूर्वर्अर्थमन्त्री डा देवेन्द्रराज पाण्डेले डा खतिवडा अर्थमन्त्री बनेकोमा खुशी हुँदै यस्तो ट्वीट गरे-‘जे होस् डा युवराज खतिवडा अर्थमन्त्री भएभन्दा अलिकति भए नि ढुक्क लाग्ने । अर्थतन्त्र ध्वस्त बनाउन लागे भन्ने चिन्ता निकै नै रहेछ मनमा ।’

नेपाल राष्ट्र बैंकमा २०६६ चैतमा १५ औं गभर्नरका रुपमा पदभार सम्हालिसकेका अर्थमन्त्री खतिवडा दुर्इपटक राष्ट्रिय योजनाका उपाध्यक्षसमेत भइसकेका छन् । २०४१ सालमा राष्ट्र बैंकबाटै जागीरे जीवन शुरु गरेका खतिवडा अर्थतन्त्रको मामिलामा सम्झौता नगर्ने व्यक्तिका रुपमा चिनिन्छन् । डा खतिवडा घरजग्गाको कारोबारमा गरेको कडाइ, बैंकरहरुको सुविधामा सीमा, बैंक तथा वित्तीय संस्थाहरुबीच मर्जरको शुरुवात, नयाँ संस्था खोल्नमा कडाइ, बैंकहरुको कर्जा र निक्षेपमा सीमा, वित्तीय पहुँच विस्तारमा लिएको नीतिलाई सकारात्मक रुपमा हेरिने गरिएको छ ।

फोरम सरकारमा जान सहमत

एमाले र माओवादी केन्द्रले संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएसँगै संघीय समाजवादी फोरम पनि केपी ओली सरकारमा सहभागी हुने भएको छ । सम्भवतः मंगलबार सरकारमा सहभागी हुने श्रोतले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले फोरमलाई आइतबार नै सरकारमा सहभागी गराउन चाहेका थिए । फोरम अध्यक्ष उपेन्द्र यादवलाई बालुवाटारमा बोलाएर ‘आपसी सहमतिका आधारमा संविधान संशोधन गर्ने’ प्रतिबद्धता जनाएका छन् । तर, यादवले पार्टीँग छलफल गर्नुपर्ने बताए । लगत्तै पार्टीकार्यालय तिनकुने पुगेका यादवले नेताहरुसँग बालुवाटार वार्ताबारे ब्रिफिङ गरेका छन् । बैठकमा एक नेताका अनुसार संविधान संशोधनमा सहमति गरेर सरकारमा जाने सहमति जुटेको छ । फोरमका एक नेताले भने, ‘आपसी सहमतिका आधारमा संविधान संशोधन गर्ने प्रतिबद्धता आएको छ । लिखित सम्झौता भएपछि हामी पनि सरकारमा सहभागी हुन्छौं ।’

दलहरुबीच मन्त्रालय भागबन्डा पनि मिलाउन बाँकी छ । प्रधानमन्त्री ओली यादवलाई परराष्ट्रमन्त्री बनाउन सहमत छन् । साथै एक राज्यमन्त्री पनि दिने बताएका छन् । तर, फोरमले भने दुर्इ मन्त्रालय दाबी गरेको छ ।

- अादर्श समाज सम्वाददाता