प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गर्छ : मुख्यमन्त्री

पोखरा, १२ फागुन । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको विकास र समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ र नयाँ पत्रिका दैनिकले पोखरामा आइतबार आयोजना गरेको आर्थिक बहस कार्यक्रमलाई सम्बोधन गर्दै उनले विकासका मामिलामा निजी क्षेत्रसँगै अगाडि बढ्न तयार रहेको उल्लेख गरे ।

‘प्रदेश संरचना सबै जिरो ग्राउण्डमा छ । कसैले पनि बिगारेको छैन’, उनले भने-‘यसलाई हामीले चाहेजस्तो बनाउन सक्छौं । कस्तो बनाउने तपाईंहरुले सुझाव दिनुस् ।’

उनले प्रदेश ४ को समृद्धिको निर्विकल्प आधार कृषि, पर्यटन र जलश्रोत भएको भन्दै खनिज उद्योगलाई पनि जोड्न सकिने बताए । सरकारले सबै हिसाबको सहयोग गर्ने गुरुङको प्रतिबद्धता छ । ‘तपार्इंलाई आइपरेका सबै जटिलता फुकाउन सरकार तयार छ । तपाईंहरुको लगानीको सुरक्षा अब सरकारले गर्छ, उनले थपे-‘तपाईंहरु नयाँ सम्भावनामा लगानी बढाउनुस् । समृद्धिका लागि सरकारलाई सघाउनुस् ।’ उनले व्यवसायमा हुने कुनै पनि गुण्डागर्दी क्षम्य नहुने भन्दै यसको अन्त्य तत्कालै हुने बताए ।

मुख्यमन्त्री गुरुङले उत्तर दक्षिण कोरिडोर बनाएर दुर्इ देशको आर्थिक ट्रान्जिटको रुपमा प्रदेश ४ लाई प्रयोग गरिने बताएका छन् ।

कार्यक्रममा डा गोविन्दबहादुर थापाले प्रदेश ४ को आर्थिक तथा व्यावसायिक सम्भाव्यता र विकासका प्राथमिकताबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रदेश ४ हरेक हिसाबले औसत रहेको भन्दै उनले यसको विकासका लागि नयाँ संरचनाको प्रदेश सरकारलाई अवसर बढिरहेको बताए । यस प्रदेशलाई पर्यटन मार्फत समृद्ध बनाउन सकिने भन्दै उनले पर्यटन विकासका केही आधार पनि प्रस्तुत गरे ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ अध्यक्ष भवानी राणाले निजी क्षेत्र सरकारलाई सघाउन तयार रहेको उल्लेख गरिन् । अहिलेसम्म अँध्यारोमा लगानी गरेर जबर्जस्त यो अवस्थामा ल्याएको भन्दै उनले अब सही ठाउँको पहिचान गरेर लगानी बढाउनेमा निजी क्षेत्र क्रियाशील रहने बताइन्।

- अादर्श समाज सम्वाददाता