युवा बौद्ध संघको आँखा शिविर

पोखरा, ९ फागुन। युवा बौद्ध संघ नदीपुरले आयोजना गरेको निःशुल्क आँखा शिविरमा २ सय ५२ जनाले आँखा परीक्षण गराएका छन्।

पर्वत रामजा ठाँटीमा भएको उक्त शिविरमा बिरामीको आँखा परीक्षण र निःशुल्क औषधी वितरण गरिएको संघका अध्यक्ष सकेन्द्र ताम्राकारले बताए।

हिमालय आँखा अस्पतालको प्रविधिक सहयोगमा भएको शिविरमा परीक्षण गर्न आएका बिमारीमध्ये ५ जनामा मोतियाविन्दु देखा परेको छ ।

उनीहरुको उपचारार्थ पोखरा ल्याइएको र उपचारमा लाग्ने खर्च संघले नै व्यहोर्ने कार्यक्रम संयोजक प्रवीण बुद्धाचार्यले जानकारी दिए।

कार्यक्रमका प्रमुख अतिथि लामा मीन गुरुङले दुर्गम ठाउँका जनताका लागि युवा बौद्ध संघले गरेका कार्यको प्रंशसा गर्दै यस्तो कार्यको सिको अन्य संस्थाले पनि गर्नुपर्ने बताए ।

कार्यक्रममा राम्जा ठाँटीका अध्यक्ष वसन्त गुरुङ, धम्मरत्न शाक्य, कमला थापा, सुमन शाक्य, गीता नेपाली जितेन्द्र नापित, विनोद शाक्य, अनन्त आचार्य, सुदीप प्रधानाङ्ग लगायतले मन्तव्य राखेका थिए।

- अादर्श समाज सम्वाददाता