पोखरा म्याराथन तयारी पूरा

पोखरा, ५ फागुन । १२ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आवश्यक तयारी पूरा भएको छ । आयोजक भूपू खेलाडी मञ्च नेपालले पत्रकार सम्मेलन गरी प्रतियोगिता आवश्यक तयारी पूरा भएको जनाएको हो । मञ्चका अनुसार फागुन ७ गते ३ हजारभन्दा बढी पोखरेली ‘रन फर फनका’ लागि दौडने भएका छन् ।

मञ्च अध्यक्ष तेजबहादुर गुरुङले पोखरा म्याराथनमा २५ जना, १० किमी महिलामा २५ जना, १० किमी पुरुषमा ७५ जना, ५ किमि छात्रमा १ सय ८० जना, ५ किमी छात्रामा १ सय जनाले शुक्रबारसम्म नाम दर्ता गराइसकेको जानकारी दिए । प्रतियोगिताका लागि ४ सय मि. हृवीलचेयर पुरुष, १ सय मि. हि्वल चेयर महिला र १ सय मि. दृष्टिविहीन दौडको दर्ता कार्य अझै जारी छ ।

विश्व परिवेशमा चर्चित शहरको नाममा आयोजना गरिने सिटी म्याराथनको अवधारणा अनुरुप नै पोखरालाई पनि खेलकुदका विश्व मानचित्रमा स्थापित गराउनु रहेको बताउँदै अध्यक्ष गुरुङले पोखरालाई खेलकुद मार्फत पर्यटन प्रवर्द्धन गर्न र वर्षको एक दिन यस प्रतियोगितालाई शहरकै उत्सवको रुपमा मनाउन म्याराथन प्रतियोगिताको आयोजना गरिएको स्पष्ट पारे ।

पोखरा लेखनाथ महानगर पालिकाका मेयर मानबहादुर जिसीले प्रतियोगितालाई थप ब्यवस्तित बनाउन योजनाबद्ध तवरले काम थाल्ने बताए । मेयर जिसीले भने-‘महानगरले महत्वका साथ यसका लागि सहयोग गर्नेछ र यसलाई वाषिर्क क्यालेण्डरमा पार्नेछौ ।’

पोखराको प्रतिष्ठित खेलको रुपमा स्थापित पोखरा म्याराथनलाई सुजल डेरी उद्योगको उत्पादन सफल दुधले २ वर्षदेखि मुख्य प्रायोजन गर्दै आएको छ । पोखरा म्याराथनको विशेष सहयोगीमा पोखरा लेखनाथ महानगरपालिका रहेको छ भने सहप्रायोजक एड्भेन्चर स्पोर्ट्स नेपाल प्रालि, गण्डकी विकास बैंक हो । उपप्रायोजकमा लुम्बिनी विकास बैंक र सहारा युके छन् ।

प्रतियोगिताको प्राविधिक सहयोगीमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, कास्की जिल्ला खेलकुद विकास समिति र साइकल सिटी पोखरा र सहयोगी संस्थामा राष्ट्रिय खेलकुद परिषद, ट्रेनर नेपाल, पोखरा टेलिभिजन लगायत संस्थाहरु रहेको आयोजकले जनाएको छ ।

बिहान ठिक ६ बजे शुरु हुने पोखरा म्याराथनमा प्रथम हुनेले ७० हजार, दोश्रोले ४५ हजार र तेश्रोले ३० हजार र चौथोले सान्त्वना स्वरुप ५ हजार प्राप्त गर्ने छन् ।

१० किमी पुरुष-महिला दौडमा प्रथमले १५ दोश्रोले १० हजार र तेश्रो हुनेले ५ हजार नगद प्राप्त गर्ने छन् ।

५ किमी छात्र-छात्रा प्रथमले १० हजार, दोश्रोले ७ र तेश्रो ४ हजार प्राप्त गर्ने मञ्चले जनाएको छ । प्रतियोगितामा ४ सय मि. हृवीलचेयर पुरुष-महिला र १ सय मिटर दृष्टिविहीन दौडमा विजेता प्रथम, दोश्रो र तेश्रोले क्रमशः ५, ३ र २ हजार रुपैयाँ पाउने छन् ।

- अादर्श समाज सम्वाददाता