फागुन ३ मा सभामुख छान्ने मौखिक सहमति

देशसभाको तयारी बैठक

पोखरा, २० माघ । प्रदेशसभाको पहिलो बैठक तयारीका लागि भएको सवदलीय छलफलमा दोश्रो र तेश्रो बैठकको मिति तय गरिएको छ । प्रदेश प्रमुख बाबुराम कुँवरले माघ २२ गतेका लागि पहिलो बैठक डाँकेपछि त्यसैको तयारी स्वरुप शनिबार प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिसँग छलफल भएको छ ।

छलफलले प्रदेशसभाका सभामुख र उपसभामुखको निर्वाचन मिति तय गरेको छ । फागुन ३ गते हुने बैठकले सभामुख र ६ गते उपसभामुखको निर्वाचन गर्ने अनौपचारिक सहमति भएको श्रोतले बतायो । संविधानमा पहिलो बैठक बसेको १५ दिनभित्रै सभामुख र उपसभामुख नियुक्त भैसक्नुपर्ने व्यवस्था छ । प्रदेश ४ मा पहिलो बैठक २२ गते भएपछि फागुनको ७ गतेअघि नै सभामुख र उपसभामुख निर्वाचित भैसक्नुपर्छ । ‘बढीमा १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने संवैधानिक बाध्यता छ । हामी त्यसको तयारीमा पनि लाग्नुपर्छ’-छलफलपछि बाहिरिँदै एक सदस्यले भने-‘३ गते सभामुख र ६ गते उपसभामुखको निर्वाचन गर्ने सामान्य सहमति जुटेको छ । तर यो नै अन्तिम निर्णय चाहीँ होइन ।’ सरकार गठन भने त्यसपछि मात्रै गर्ने दलहरुको तयारी बुझिएको छ ।

शनिबारको छलफलमा प्रदेशसभा बैठकका लागि आवश्यक प्रस्ताव समेत तयार गरिएको छ । पहिलो बैठकमा प्रदेशसभाको कार्य सञ्चालन कार्यविधि पारित गर्ने मुख्य एजेण्डा छ । प्रदेशसभाका सहसचिव जीवराज बुढाथोकीका अनुसार बैठक सवा घण्टामात्रै चल्नेछ । ‘बैठक टेन्टेटिभ्ली १ घण्टा १५ मिनेट चलाउने सल्लाह भएको छ’-उनले भने-‘सभाध्यक्षले सबैभन्दा पहिले प्रदेश प्रमुखले पठाउनुभएको पत्र पढेर सुनाउनुहुन्छ । त्यसपछि कार्यसञ्चालन कार्यविधि पारित गर्ने काम हुन्छ ।’ पहिलो बैठक प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले चलाउने छन् ।

शनिबार भएको छलफलमा कार्यसञ्चालन कार्यविधिबारे ब्यापक छलफल गरेर पारित गर्ने सहमति भैसकेको छ । ‘कानुनी व्यवस्थामात्रै कार्यविधिमा राखिएकाले खासै संशोधनको आवाज उठेन । यसलाई पछि पनि थपघट गर्न मिल्छ’-बुढाथोकीले भने-‘उपसभामुखको परिभाषा छुटेको देखियो । माननीयज्यूहरुकै सुझाव आधारमा थप्ने र सोमबारको पहिलो बैठकबाट पारित गर्ने सल्लाह भएको छ ।’

प्रदेशसभाको पहिलो बैठकबाट पारित गर्ने गरी प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्यविधि २०७४ काठमाडौंबाट प्रदेशसभा चलाउन खटिएका कर्मचारीले ल्याएका थिए । कार्यविधिमा प्रदेशसभा सञ्चालनदेखि सभामुख, उपसभामुखको निर्वाचन तथा शपथ, प्रदेश सदस्यको पोसाक, नीति तथा कार्यक्रम छलफल र पारित लगायत विषय समावेश छन् । तत्कालका लागि संक्रमणकालीन बाटो देखाउन कार्यविधि बनेको हो । छलफलमा प्रदेशसभामा सांसदहरुको बोल्ने समय पनि निर्धारण भएको छ । एमाले, काँग्रेस र माओवादीका ३/३ तथा जनमोर्चा र नयाँ शक्तिका १/१ गरी ११ जनाले सोमबारको बैठकमा आफ्ना विचार सहित शुभकामना साटासाट गर्नेछन् । बैठकमा बोल्ने सांसदहरुको नामावली भने पार्टीको निर्णयका आधारमा तय हुने प्रदेशसभा सचिवालयले जनाएको छ । साथै, प्रदेश बैठकमा सभामुखको अनुपस्थितिमा बैठक चलाउनका लागि प्रत्येक दलबाट एक जना सांसद रहने गरी ५ सदस्यीय कार्य व्यवस्थापन समिति गठन हुनेछ । समितिका सदस्य दलकै सिफारिसमा रहनेछन् ।

शनिबारको बैठकमा प्रदेशसभाका ज्येष्ठ सदस्य सहित ९ जना सांसद उपस्थित थिए । एमालेबाट पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ थिए भने काँग्रेसबाट कृष्णचन्द्र नेपाली र विन्दुकुमार थापा उपस्थित थिए । उता, माओवादीले हरि चुमान र नेत्रनाथ अधिकारी, जनमोर्चाले कृष्ण थापा र नयाँ शक्ति पार्टीनेपालबाट हरिशरण आचार्यलाई पठायो । दलहरुले राष्ट्रिय सभाको चुनाव लगत्तै संसदीय दलको नेता प्रदेशसभामा बुझाउने तयारी गरिरहेका छन् । एमालेले २८ गतेअघि नै बैठक बसेर दलको नेता टुंगाउने सांसद पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । काँग्रेस र माओवादीले पनि यही महिनाभित्र निर्णय गर्नेछ । साना २ दलले पनि सभामुखको चुनावअघि नै संसदीय नेता छानिसक्ने तयारी थालेका छन् ।

- प्रकाश ढकाल