सातै प्रदेशका प्रदेश सांसदद्वारा शपथ   

काठमाडौं, ७ माघ । सात वटै प्रदेशका प्रदेशसभा सदस्यले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभा सदस्यले प्रदेशसभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि शपथ लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार शपथ लिएका हुन् । उनीहरुले सरकारले तोकेको प्रदेशको अस्थायी मुकाममा शपथ ग्रहण गरेका हुन् । प्रदेश सांसदको शपथ ग्रहणसँगै अब प्रदेश सरकार गठनको समेत बाटो खुलेको छ ।

प्रदेश एकदेखि सात सम्मका प्रदेश प्रमुखहरु क्रमशः प्राडा गोविन्दबहादुर तुम्बाहाङ, रत्नेश्वरलाल कायस्थ, अनुराधा कोइराला, बाबुराम कुँवर, उमाकान्त झा, दुर्गाकेशर खनाल र मोहनराज मल्लले पदबहालीपछि आइतबार प्रदेशसभाका ज्येष्ठ सदस्यलाई शपथ गराएका थिए । त्यसपछि ज्येष्ठ सदस्यहरुले आ-आफ्नो प्रदेशमा सबै प्रदेश सांसदहरुलाई शपथ खुवाएका हुन् । अन्तरिम व्यवस्थापनका लागि राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारीको नेतृत्वमा प्रदेश प्रमुखको सचिवालयका लागि श्रेणीविहीनबाहेक १८ कर्मचारी खटाइएको छ ।

सरकारले प्रदेशको तत्काल कार्यसञ्चालनका लागि प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, प्रदेश ३ को हेटौंडा, प्रदेश ४ को पोखरा, प्रदेश ५ को बुटवल, प्रदेश ६ को सुर्खेत र प्रदेश ७ को धनगढीलाई अस्थायी सदरमुकाम तोकेको छ । स्थायी राजधानी भने प्रदेशसभामा तत्काल कायम रहेको सदस्य संख्याको दुर्इतिहाइ बहुमतबाट आफैले तोक्न सक्ने संवैधानिक व्यवस्था छ । सरकारले तोकेको अस्थायी मुकामप्रति असन्तुष्ट रहेका प्रदेश १, ३ ५ र ७ मा आन्दोलन चलिरहेकै बेला प्रदेश सांसदहरुले शपथ लिएका हुन् ।

प्रदेश सभाका लागि प्रत्यक्षबाट ३ सय ३० र समानुपातिक प्रणालीतर्फबाट २ सय २० गरी ५ सय ५० प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । प्रदेशसभाका ६० प्रतिशत सदस्य पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम र ४० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबमोजिम निर्वाचित हुने व्यवस्था छ । प्रदेशसभाको कार्यकाल ५ वर्षको हुनेछ । प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आहृवान र ३० दिनभित्र मुख्यमन्त्री नियुक्ति गर्नेछन् । निर्वाचन आयोगले यही माघ ३ गते प्रदेशसभा सदस्यको अन्तिम नतिजा प्रकाशन गरेको थियो । संविधानअनुसार प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यले आफूमध्येबाट प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्नुपर्ने छ । प्रदेश सभामुख वा उपसभामुखमध्ये एक महिला तथा फरक फरक दलको प्रतिनिधि हुनुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त अवस्थामा प्रदेशसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये ज्येष्ठ सदस्यले गर्नेछ ।

आइतबार भएको शपथ ग्रहणका क्रममा प्रदेश नम्बर २ मा सांसदहरुले शपथ लिने भाषाको लिपीलाई लिएर विवाद भएको थियो । शपथग्रहणपछि हस्ताक्षर गर्ने क्रममा उनीहरुले विवाद झिकेका हुन् । मातृभाषामा शपथ गर्न पाउने व्यवस्था भए पनि शपथ गरेको हस्ताक्षर बुझाउने लिपी नेपाली भाषामा हुनुपर्ने भनेपछि विवाद शुरु भएको थियो । मातृभाषामा पनि शपथको हस्ताक्षर बुझाउन सकिने बताएपछि शपथ ग्रहण सुचारु भएको थियो । उता, प्रदेश ६ प्रमुख दुर्गाकेशर खनाल तथा २७ जना प्रदेशसभा सदस्य शपथ ग्रहणका लागि हेलिकप्टर चार्टर गरेर सुर्खेत पुगे । प्रदेशको अस्थायी राजधानी वीरेन्द्रनगर पुग्नका लागि उनीहरुले नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेका हुन् । सो प्रदेशका ४० मध्ये समानुपातिकतर्फका सांसद प्रमाणपत्र बुझनका लागि काठमाडौं आएका थिए । प्रत्यक्षतर्फ निर्वाचित केही पनि काठमाडौंमै थिए । शनिबार विमानको टिकट लिएकोमा काठमाडौं-नेपालगञ्ज उडान अवरुद्ध हुँदा उनीहरु काठमाडौंमै रोकिएका थिए ।

प्रदेश ५ को राजधानी दाङ बनाउनु पर्ने माग गर्दै आन्दोलनमा उत्रिएका दाङका प्रदेश सांसदहरु शपथका लागि आन्दोलन रोकेर बुटवल पुगेका थिए । सरकारले बुटवललाई अस्थायी राजधानी तोकेपछि दाङमा आमहड्ताल भएको थियो । ५ नम्बर प्रदेशको मुख्यमन्त्रीका दावेदार एमाले सांसद शंकर पोखरेलसहितका सांसदहरु शपथका लागि बुटबल आएका हुन् ।

- अादर्श समाज सम्वाददाता