९४ करोड बराबरको हकप्रद सेयर स्वीकृति

काठमाडौँ, २४ पुस। नेपाल धितोपत्र बोर्डले ९४ करोड तीन लाख बराबरको हकप्रद सेयर निष्कासन गर्न विभिन्न्ा तीन कम्पनीलाई स्वीकृति दिएको छ ।

बोर्डका अनुसार एसियन लाइफ इन्स्योरेन्स, फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र कामना सेवा विकास बैंकलाई हकप्रद सेयर निष्कासनका लागि सोमबार स्वीकृति दिइएको छ ।

एसियन लाइफ इन्स्योरेन्सले १० कित्ता बराबर एक पाउने गरी रु ४० करोड २७ लाख ९६ हजार ६ सय २० बराबरको रु ४० लाख २७ हजार ९ सय ६६ कित्ता हकप्रद सेयर निष्कासनका लागि स्वीकृति दिइएको छ । हकप्रद सेयर निष्कासनका लागि एनआइबिएल क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।

यस्तै फस्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्थाले रु २२ करोड ८१ लाख ३१ हजार ३ सय मूल्यबराबरको २२ लाख ८१ हजार ३ सय १३ कित्ता हकप्रद सेयर निष्कासनको स्वीकृति दिएको बोर्डले जनाएको छ । फस्ट माइक्रोफाइनान्स लघु वित्तको हकप्रद सेयर निष्कासनका लागि ग्लोबल आइर्एमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । सो कम्पनीले दुर्इ कित्ताबराबर एक पाउने गरी हकप्रद निष्कासन गर्न लागेको छ ।

यस्तै, कामना सेवा विकास बैंकले रु ३० करोड ९४ लाख १५ हजार ४ सय ७७ मूल्यबराबरको ३० लाख ९४ हजार १ सय ५४ कित्ता हकप्रद सेयर निष्कासनका लागि स्वीकृति दिइएको हो । कामना सेवाको हकप्रदका लागि एनएमबी क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ । कामनाले दश कित्ता बराबर १ दशमलब ५ कित्ता हकप्रद सेयर दिनेछ ।

यता, नेपाल स्टक एक्सचेन्जले वित्त समूहअन्तर्गत रहेको नागरिक लगानी कोषलाई अन्य समूहमा सारेको छ ।

कोष र वित्त समूहमा रहेका सूचीकृत कम्पनीको व्यावसायिक प्रकृतिलाई हेरेर समूह परिवर्तन गरिएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए । नेप्सेले सूचीकृत कम्पनीलाई विभिन्न समूहमा वर्गीकरण गर्दै आएको छ । नेप्सेमा विभिन्न्ा १४ समूह रहेका छन् ।

नेप्सेले वर्गीकरण गरिएका कम्पनीलाइ उपसूचकमार्फत कारोबार मापन गर्दै आएको छ । कोष थपिएपछि अन्य समूहमा कम्पनीको संख्या चार पुगेको छ । कोष थपिनुअघि सो समूहमा जलविद्युत् लगानी तथा विकास कम्पनी, नेपाल दूरसञ्चार कम्पनी र नेपाल फिल्म डेभलपमेन्ट कम्पनी रहेका थिए ।

- रासस