फागुनभित्रै पार्टीएकीकरण : ज्ञवाली

पोखरा, २२ पुस । एमाले नेता प्रदीप ज्ञवालीले फागुनभित्रै पार्टीएकीकरण हुने बताएका छन् । एमाले र माओवादी दुवैले आफ्ना प्रपोजल तयार गर्ने काम गरिरहेको भन्दै फागुनभित्रैमा सोलिड फर्मेसन तयार गर्ने उनले बताए ।

‘शीर्षनेताका बीचमा नियमित संवाद भैरहेको छ । दुवै पार्टीप्रपोजल बनाउने काममा ब्यस्त छन्’-उनले भने-‘ढिलोमा फागुनभित्रै सोलिड फर्मेसन बनाएर सार्वजनिक गर्छौ ।’ उनले पार्टीएकीकरणबारे बाहिर आएका हल्लामा कुनै सत्यता नभएको भन्दै भ्रममा नपर्न आग्रह गरे । पार्टीएकता नेताको व्यवस्थापन नभई भद्रगोल देशको व्यवस्थापनमा केन्द्रित हुने उनको दावी छ । उनले गठबन्धन कुनै पनि शक्तिले तोड्न नसक्ने विश्वास ब्यक्त गरे ।

नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालालाई लक्षित गर्दै उनले जिम्मेवार पार्टीको जिम्मेवार ब्यक्तिले सार्वजनिक रुपमा पार्टीफुटाउने कुरा गर्नु गैर राजनीतिक भएको उल्लेख गरे ।

प्रेस चौतारी र प्रेस सेन्टर कास्कीको संयुक्त आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले सरकार गठनमा भएको ढिलाईप्रति कटाक्ष गरे ।

‘लोकतन्त्रको सामान्य मान्यता ताजा जनादेश आएपछि नयाँ सरकार गठनको बाटो खुल्छ । जनता स्थिर सरकारको ब्यग्र प्रतीक्षामा छन्’-उनी भन्छन्-‘जनादेशको भावनाविपरीत वर्तमान सरकारले सत्ता लम्ब्याउने बहानाबाजी गरिरहेको छ । यो लोकतन्त्रविरुद्धको कदम हो ।’

सत्तामा जाने ब्यग्रताले आफूहरुले हतार नगरेको भन्दै उनले जतिसक्दो छिटो समानुपातिक मतपरिणाम सार्वजनिक गरेर सरकार गठनको ढोका खोलिदिन निर्वाचन आयोगसँग आग्रह गरे । उनले सरकारको काम क्षणिक स्वार्थपूर्र्तिका लागि भएको टिप्पणी गरेका छन् ।

- अादर्श समाज सम्वाददाता