गठबन्धन तोड्ने प्रयास असफल

काठमाडौं, १५ पुस । वाम गठबन्धन तोड्ने प्रयास भए पनि त्यो असफल भएको वाम गठबन्धनका शीर्ष नेताले जनाएका छन् । गठबन्धन तोड्न कतिपयले भ्रम सिर्जना गरेको र कतिपयले लालच देखाएको जनाउँदै उनीहरुले उक्त कार्य असफल भएको र गठबन्धन आफ्नो उद्देश्यमा अडिग रहेको समेत जिकिर गरे।

काठमाडौंमा शनिबार भएको एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले कां’ग्रेस सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै लोकतान्त्रिक भनिने दलबाट नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालदाई ५ वर्षका लागि प्रधानमन्त्री बन्न गरेको प्रस्ताव राखेर राजनीतिक स्थायित्वको विरोध गरेको बताए ।

त्यो प्रस्ताव कुनै माया गरेर अघि सारेको नभइ वाम गठबन्धन तोड्ने प्रयास भएको उनको भनाइ थियो । एमाले अध्यक्ष ओलीले दाहाललाई प्रधानमन्त्रीको प्रस्ताव माया गरेको नभइ गठबन्धन विथोल्ने प्रयास र स्थायित्व र समृद्धिको विरोधमा भएको आरोप लगाए । ओलीले अब वाम गठबन्धन तोड्ने प्रयास काम नलाग्ने दावी गरे । वाम गठबन्धनले कम्तिमा ६ वटा प्रदेशमा सहज रुपमा सरकार बनाउने भन्दै ओलीले सही आर्थिक नीति तयार पारेर देश विकास गरिने बताए ।

ओलीले अहिले जनमतको कदर गर्नुभन्दा पनि संविधानको आ आफ्नो ढंगले व्यख्या भइरहेको भन्दै प्रक्रियालाई अल्झाउने काम माग गरिरहेको बताए । संविधान कार्यान्वयनसँगै समृद्धि र स्थायित्व आजको आवश्यकता रहेकोले त्यो पूरा गर्ने अवसर वाम गठबन्धनको काँधमा आएको बताए । वाम गठबन्धन लोकतन्त्रको रक्षा गर्नकै लागि बनेको भन्दै निर्वाचनको बेलामा कम्युनिष्टले जिते अधिनायकवाद आउनेछ भन्ने आरोपको खण्डन गरे । माओवादी केन्द्रका अध्यक्ष दाहालले केही समय तय वाम गठबन्धनको विषयलाई लिएर विभिन्न भ्रम सिर्जना गरिरहेको भन्दै अब गठबन्धन अघि बढेरै छाड्ने बताए । उनले अवसर र चुनौतीबीच गठबन्धन सरकार बन्न लागेको बताउँदै भने-‘अबको सरकार अवसर र चुनौतीबीच बन्दै छ, शान्ति, स्थायित्व र समृद्धि दिनुपर्छ । त्यसका लागि भ्रष्टाचार निर्मूल पार्न सक्नुपर्छ, यो अग्निपरीक्षा पनि हो ।’ आगामी १० वर्षमा समृद्धि दिन नसके पुनःराजनीतिक अप्ठ्यारो आउने उनको भनाइ थियो । वाम गठबन्धनलाई जिम्मेवारी आएको छ, यो अवसरमा पनि जनअपेक्षा पूरा गर्न नसके ठूलो राजनीतिक दुर्घटना हुन सक्छ’-उनको टिप्पणी थियो । वाम गठबन्धनलाई जनताले अत्यधिक मतले जिताएको भन्दै अध्यक्ष दाहालले यस्तो अवस्था आफूहरूका लागि अवसर मात्र नभई चुनौतीसमेत रहेको उल्लेख गरे।

सरकारमा बस्ने चाहना छैन : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले जतिसक्दो चाँडो सरकारको नेतृत्व हस्तान्तरण गर्न आफू आतुर रहेको बताएका छन् ।

तमू ल्होसारको अवसरमा काठमाडौंमा भएको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अन्य राजनीतिक दलहरूले भनेजस्तो आफूलाई सरकारमा बसिरहने चाहना नभएको प्रस्ट पारे । प्रधानमन्त्री देउवाले लोकतान्त्रिक इतिहास बोकेको काँग्रेसले लोकतन्त्र स्थापनासँगै संघीय संविधान जारी गरी ऐतिहासिक निर्वाचन सम्पन्न गरेको सर्न्दर्भमा काँग्रेसलाई शंका नगर्न आग्रह गरे । उनले अध्यादेश जारी गरेर राष्ट्रपतिले नयाँ सरकार गठनको प्रक्रियालाई सहज पारेकोप्रति धन्यवाद प्रकट गर्दै उनले आफू छिटोभन्दा छिटो नेतृत्व हस्तान्तरण गर्न आतुर रहेको बताए ।

चार दलबीच एकीकरण

काठमाडौँ, १५ पुस।चार राजनीतिक दलबीच शनिबार पार्टीएकता भएको छ । सामाजिक लोकतान्त्रिक पार्टी संघीय खुम्बुवान लोकतान्त्रिक पार्टीनेपाल, किरात खम्बुवान लोकतान्त्रिक पार्टीनेपाल र नव जनवादी मोर्चाबीच एकीकरण भएको छ । सामाजिक लोकतान्त्रिक पार्टीको छैटौँ वाषिर्कोत्सवको अवसरमा आयोजित कार्यक्रममा सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष कुमार राई, संघीय खम्बुवान लोकतान्त्रिक पार्टीनेपालका अध्यक्ष ज्ञानेश्वर राई, किरात खम्बुवान लोकतान्त्रिक पार्टीनेपालका अध्यक्ष किरण राईलगायतले पार्टीएकीकरण भएको घोषणा गरेका हुन् । (रासस)

- अादर्श समाज सम्वाददाता