लेखनाथ साहित्य पुरस्कारबाट डा गुरुङ सम्मानित

लेखनाथ, १५ पुस : लेखनाथ साहित्य प्रतिष्ठानले सञ्चालन गरेको यस वर्षको लेखनाथ साहित्य पुरस्कारबाट संस्कृतिकर्मी एवं साहित्यकार डा जगमान गुरुङ सम्मानित भएका छन् ।

कविशिरोमणि लेखनाथ पौड्यालको १३४ औँ जन्मजयन्तीको त्रिदिवसीय कार्यक्रमअन्तर्गत शनिबार उनको जन्मस्थल अघांैर्ँअर्चलेमा भएको मूल समारोहमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले ५० हजार राशिको सो पुरस्कारबाट डा गुरुङलाई सम्मान गरेका हुन्।

नेपाली संस्कृति र साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएवापत डा गुरुङलाई सो पुरस्कारबाट सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालले बताए।

कविशिरोमणि लेखनाथ पौड्यालकी कान्छी छोरी कुन्तीदेवी भट्टराईको परिवारबाट सो पुरस्कार स्थापना गरिएको हो। मादी गाउँपालिकाको याङ्जाकोट जन्मेका गुरुङका ६ वटा सांस्कृतिक तथा अनुसन्धनात्मक कृति प्रकाशित छन्। उक्त पुरस्कारबाट यसअघि नेपाली शिक्षा परिषद्, प्रा डा वासुदेव त्रिपाठी, मदनमणि दीक्षित, धर्मराज थापा, डा मोदनाथ प्रश्रति, मुकुन्दशरण उपाध्याय र प्रा बालकृष्ण पोखरेल सम्मानित भइसकेका छन्।

सो समारोहमा विभिन्न शैक्षिक पुरस्कार र छात्रवृत्ति पनि वितरण गरिएको छ। कार्यक्रममा कवि शिरोमणिकी छोरी कुन्तीदेवीको नाममा स्थापना गरेको १० हजारको कुन्तीदेवी शिक्षा पुरस्कार र प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालले आफ्ना पिताको नाममा स्थापना गरेको ५ हजारको चन्द्रकान्त ढकाल शिक्षा पुरस्कार शीतलादेवी सामुदायिक माध्यमिक विद्यालयकी छात्रा ज्योत्सना जोशीलाई प्रदान गरिएको छ।

त्यस्तै, ५ हजारकै चन्द्रकान्त ढकाल पुरस्कार लिटिल स्टेप माध्यमिक विद्यालयका छात्रा टेकप्रसाद शर्मा काफ्लेलाई प्रदान गरिएको छ। यस्तै जनही ५/५ हजारका मधुमाया ढकाल छात्रवृत्ति जनज्योति माध्यमिक विद्यालयकी छात्रा मञ्जु गुरुङ र फणीन्द्रकुमारी ढकाल छात्रवृत्ति लक्ष्मी आदर्श माध्यमिक विद्यालयका छात्र सन्तोष ढकाललाई दिइएको छ। कविशिरोमणि आधारभूत विद्यालयका ५ विद्यार्थीलाई १० हजारको छात्रवृत्ति प्रदान गरिएको छ।

कार्यक्रममा प्रदेशसभाका सदस्य दीपक कोइराला, पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, प्राज्ञ हरिदेवी कोइराला, कविशिरोमणि लेखनाथ पौडेलका नाति तथा पूर्व गभर्नर विजयनाथ भट्टराई, पूर्व लेखनाथ नगर प्रमुख शालिकग्राम पौडेल, पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, साहित्यकार माधव वियोगी, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारी, संघका प्रथम उपाध्यक्ष छत्रधर आत्रेय, लेखनाथ पत्रकार अध्यक्ष भीमपाणि बराल, साहित्यकार डा शुक्रराज अधिकारी, पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ, लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकाल लगायत वक्ताले अर्घौ अर्चलेलाई साहित्यिक पर्यटकीयस्थलका रुपमा विकास गराउनु पर्नेमा जोड दिएका थिए।

कविशिरोमणि लेखनाथ जन्मस्थल विकास समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालले स्वागत सचिव कृष्णप्रसाद पौडेलले गरेका थिए।       लेखनाथ साहित्य पुरस्कार, कुन्तीदेवी छात्रवृत्ति तथा शिक्षा पुरस्कारका लागि कविशिरोमणि पौडेलको परिवारजनले १२ लाख १ हजार र पदमराज ढकालले १ लाख ७ सय ७७ गरी कुल १३ लाख १ हजार ७ सय ७७ अक्षयकोष खडा गरेका हुन्।

मूल समारोहको कार्यक्रमअन्तर्गत शनिबार बिहान कविको प्रतिमा रहेको अघौर्चोकमा माल्यार्पण, अर्चलेको ठूलीपोखरीस्थित तरुण तपसी पार्कमा तरुण तपसी सामुदायिक भवनको उद्घाटन समेत गरिएको थियो।   कविशिरोमणिको १३४ औं जन्मजयन्तीको त्रिदिवसीय कार्यक्रम गरी मनाइएको हो ।

पत्रकार तिमिल्सेना पुरस्कृत

यस वर्षको लेखनाथ पत्रकारिता पुरस्कारबाट रामप्रसाद तिमिल्सेना पुरस्कृत भएका छन्। लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित सो पुरस्कार नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले कविशिरोमणिको जन्मजयन्ती अवसरमा पत्रकार तिमिल्सेनालाई सम्मान गरे । पुरस्कार राशि ११ हजार १ सय ११ सहित सम्मानपत्र रहेको छ। एक दशक लामो समयसम्म पत्रकारिता गर्दैआएका तिमिल्सेना हाल पत्रकार महासंघ कास्की शाखाका सचिव छन् ।

- अादर्श समाज सम्वाददाता