उचाइका सुन्तला गुणस्तरीय

लमजुङ, १५ पुस। लमजुङमा उचाइका सुन्तला मीठा भएको पाइएको छ । जिल्लाको १ हजारदेखि १ हजार ३ सय मिटर उचाइमा उत्पादन भएका सुन्तला गुणस्तरीय पाइएको हो।

चितवनको रामपुरस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालयले जिल्लाका विभिन्न स्थानमा गरेको शोध र अनुसन्धानबाट त्यस्तो पत्ता लागेको विश्वविद्यालयले जनाएको छ। सो अध्ययन उक्त विश्वविद्यालयका पहिलो पीएचडी विद्यार्थी प्रदीपराज रोकायाले गरेका हुन्।

लमजुङका सुन्तला बढी मात्रामा उत्पादन हुने क्षेत्र वेशीशहर नगरपाकिलाको चिप्लेटी, गैरी, नरुवाल, काफलस्वाँरामा सो अध्ययन गरिएको रोकायाले बताए। उनका अनुसार अध्ययनका क्रममा सुन्तला उत्पादनको अवस्था, क्षेत्र, सुन्तलामा हुने गुलियोपना र अमिलोपना एवम् सुरक्षित भण्डारण जस्ता विविध विषयमा शुक्ष्म अनुसन्धान गरिएको थियो।

सो क्रममा आफूले ७ सयदेखि १ हजार ४ सय मिटरको उचाइलाई ३ सय मिटरको फरकका विभाजन गरी अनुसन्धान गरेको रोकायले भने। उनका अनुसार १ हजारदेखि १ हजार ३ सय मिटरसम्मको उचाइमा सुन्तलामा गुणस्तर, बढी तौल, स्वस्थ रहेको पाइयो।

१ हजार मिटरभन्दा तल गतिलो सुन्तला उत्पादन नहुने र १ हजार ३ सय मिटरभन्दा बढीको उचाइको सुन्तलामा अमिलोपन बढी पाइनुका साथै पाक्ने समय पनि धेरै लाग्ने अनुसन्धानमा पाइएको उनको भनाइ छ।

कात्तिक २४ देखि मंसिर ४ गते वा सो वरपरीको समयमा सुन्तला खानका लागि योग्य हुने र सोही समयमा टिप्दा गुणस्तर पनि बढी कायम हुने अनुसन्धानबाट पत्ता लागेको रोकायाले बताए।

भौगोलिक उचाइको रेञ्ज र टिप्ने समय मिलेको नेपालको सुन्तला अन्तर्राष्ट्रिय गुणस्तरको भन्दा राम्रो पाइएको छ । १० वर्षदेखि नेपालमा सुन्तलाको उत्पादन घट्दो क्रममा रहेको र गुणस्तरसमेत कम हुँदै गएको सर्न्दर्भमा गरिएको अनुसन्धानले सुन्तलाका बोटहरूको व्यवस्थापन पक्षको खाँचो देखिएको रोकायाले बताए। उनका अनुसार फूल फुल्ने समय, टिप्ने समय, टिप्ने तरिका नमिल्दा र माटोमा न्यूटि्रसन र हमोर्नको कमी हुँदा उत्पादन घट्न गएको हो।

‘बैशाख सुन्तलाको फूल फुल्ने समय हो, सेप्टेम्बर फलको वृद्धि हुने समय हो, यो समयमा बढी न्यूटि्रसन सुन्तलालाई आवश्यक पर्दछ, हामी हरेक वर्ष फल मात्रै हेर्दछौं माटोको अवस्था हेर्दैनौं’-उनले भने- ‘गाईभैंसीलाई समयमा घाँस, कुँडो, पानी नखुवाए दूध दिन्छ र ?’

‘त्यसैले सुन्तला खेती गर्नु हुनेहरूले यसका विरुवाका लागि आवश्यक न्यूटि्रसनको व्यवस्थापन पक्षमा ध्यान दिनुपर्छ’-उनले भने ।

- अादर्श समाज सम्वाददाता