भलिबलमा आर्मी र एपीएफलाई उपाधि

पोखरा, १५ पुस । राष्ट्रिय खेलकुद परिषद् (राखेप) च्याम्पियनसीपअन्तर्गत २१ औं महिला तथा ३१ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मी र महिलामा सशस्त्र प्रहरी बल (एपीएफ) ले उपाधि जितेका छन्।

पोखरा रंगशालाको भलिबल ट्रेनिङ सेन्टरमा शनिबार भएको प्रतियोगितामा पुरुषतर्फ आर्मीले एपीएफलाई २५-१२, २५-२३ र २५-१५ को सोझो सेटमा पराजित गर्दै उपाधिसहित नगद ५० हजार रुपैयाँ पायो। उपविजेता एपीएफले ३० हजार रुपैयाँमा चित्त बुझायो।

तेस्रो बनेको पश्चिमाञ्चलले २० हजार रुपैयाँ पुरस्कार पायो। घरेलु टिम पश्चिमाञ्चलले पुलिसलाई ३-२ को सेटमा हराएको हो । जसमा २५-२२, २०-२५, २१-२५, २५-१६ र १८-१६ को स्कोर निस्किएको थियो ।

उता, महिलातर्फ एपिएफले मध्यमाञ्चललाई २५-१८, २५-१४ र २५-१० को सोझो पराजित गर्दै उपाधिमाथि आफ्नो नाम अंकीत गर्न सफल भयो। तेस्रो हुन सफल नेपाल पुलिसले पश्चिमाञ्चललाई २५-१५, २५-२१ र २५-२१ को स्कोरमा हराएको हो। विजेता, उपविजेता र तेस्रोलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ पुरस्कार प्रदान गरियो।

खचाखचक दर्शकमाझ भएको उक्त प्रतियोगितामा पुरुषतर्फ मानबहादुर श्रेष्ठ र महिलामा एपीएफकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी ठहरिइन्। उनीहरुले जनही १५ हजार पाएको टेक्निकल कमिटिका संयोजक एशियन रेफ्रि क्यानिडेड टहलसिंह थापामगरले बताए।

प्रमुख अतिथि युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरी, प्रदेश ४ का सांसद इन्द्रधारा बिष्ट, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष खगराज पौडेल, नेपाल वलीम्पक कमिटी सदस्य तेज गुरुङ लगायतले विजयीलाई पुरस्कृत गरेका थिए।

- अादर्श समाज सम्वाददाता