भलिबलमा देउराली क्लबलाई उपाधि

पोखरा, १५ पुस। अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवको दोस्रो चरणअन्तर्गत छोम्रोङमा आयोजित ल्होसार मेला शनिबार सकिएको छ।

समापन समारोहमा प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिका प्रमुख युवराज कुँवरले बाह्रैमहिना स्वदेशी तथा विदेशी पर्यटक भित्रयाउन उचित कदम चाल्ने बताए। उनले सेञ्चुरी पदयात्रा मार्गको मर्मतसम्भार र स्तरोन्नती गर्ने कार्य गाउँपालिकाले गरिरहेको पनि उक्त अवसरमा जानकारी गराए।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का घान्द्रुक इलाका कार्यालय प्रमुख विदुरविक्रम कुइँकेलले गाउँपालिकासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए।

महोत्सव संयोजक ललित गुरुङले पहिलो र दोस्रो चरणको महोत्सवले अत्यधिक सफलता पाएको बताए। उनले जुन ३ अर्थात अन्नपूर्ण आरोहण दिवसका दिन कास्कीकै पर्यटकीय गाउँ घान्द्रुकमा महोत्सव समापन गरिने बताए। उक्त अवसरमा अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म म्याराथुन दौड प्रतियोगिता आयोजना गरिने जानकारी उनले दिए। महोत्सव अवसरमा भएको खुला पुरुष तथा महिला भलिबल र पुरुष बास्केटबल प्रतियोगिता सम्पन्न भएका छन्। खुला पुरुष भलिबल प्रतियोगितातर्फ देउराली युवा क्लब हंसपुर विजयी भएको छ। महिलातर्फ भने कास्कीकै ताङतिङ युवा क्लब पहिलो भएको छ।

फाइनलमा देउरालीले सेञ्चुरी युवा क्लब छोम्रोङलाई ३-२ को प्रतिस्पर्धात्मक सेटमा हराएको हो। देउरालीले २५-२२, १७-२५, २५-२१, २०-२५ र ६-१५ को सेटमा छोम्रोङलाई पाखा लगायो।

पुरुष भलिबलमा छोम्रोङका दिलबहादुर राना उत्कृष्ट खेलाडी घोषित भए। विजेताले १ लाख र उपविजेताले ६० हजार रुपैया“ प्राप्त गरेका छन्।

महिला भलिबलतर्फ ताङतिङले न्यू डायमन्ड एकेडेमी काठमाडौंलाई २५-१६, २५-१७ र २५-२२ को सोझो सेटले हरायो। न्यू डायमन्डकी करिना सुनुवार उत्कृष्ट खेलाडी भइन्। विजेताले ४० हजार र उपविजेताले २५ हजार रुपैया“ प्राप्त गरे। पुरुष भलिबलतर्फ अनुशासित टिमको उपाधि झिंनु समूह र महिलातर्फ न्यू डायमन्डले पाए।

खुला बास्केटबलमा काठमाडौंको विशाल मिलन केन्द्र (बिएमके) विजयी भएको छ। बिएमकेले ताङतिङ युवा क्लबलाई शनिबार भएको फाइनलमा पराजित गरेको हो। निर्धारित समयमा बिएमकेले ६१ स्कोर जोड्दा ताङतिङले ३६ मात्रै बनाउन सक्यो। प्रतियोगितामा बिएमकेका विवेक श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए।

पर्वतको हिमशिखर युवा क्लबले अनुशासित टिमको उपाधि पायो। विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैया“ प्राप्त गरे। प्रतियोगितामा कास्कीका सहित विभिन्न जिल्लाका ७ टिम सहभागी थिए।

- अादर्श समाज सम्वाददाता