मर्द खोज्दै पोखरामा

“बासै पर्‍यो आज राति पोख्रेलीको घरमा

किन आँखा लाइरहन्छौं मेरो डण्डीफोरमा

कोही मर्द छौं भने आऊ खेलौं जुहारी।”

पोखरा, १५ पुस । चर्चित गायिका कोमल वली यो गीत गाउँदै स्टेजबाट दर्शकमाझ ओर्लेपछि पोखरेली युवा पाखुरा सुर्काउँदै अघि सरे। कतिपयले ‘म छु भन्छै संकेत गर्दै थिए भने कोही वलीसँगै सेल्फी खिच्न पुगे।

अंग्रेजी नयाँ वर्ष २०१८ अवसरमा रेवान पोखराले आयोजना गरेको १९ औं पोखरा सडक महोत्सव अवसरमा शनिबार आयोजकले वलीलाई भीआइपी स्टेज दिएको थियो।

पाँचदिने उक्त महोत्सवमा दैनिक चर्चित कलाकारलाई निमन्त्रणा दिएर आयोजकले दर्शकलाई भरपूर मनोरञ्जन दिलाउने गरेका छन्।

‘पोइल जान पाम् शिव’ की गायिका वलीले यसपालि कोही मर्द छौं भने आऊ खेलौं जुहारीसहित आधा दर्जन गीत पस्किइन्।

“कालो टोपी, कालै छ टोप, नबोले नि हाँसिदेऊ के भो त

लरिलरि है यो जोवान तिम्लाई हो सधैँभरिलाई..।”

ढल्किदो उमेरसम्म पनि अविवाहित तर केटाकेटी, युवा र पाको उमेरका जो कोहीलाई पनि मन छुने गीत गाएर प्रशस्त मनोरञ्जन दिन सक्ने गायिका कोमलले गीत गाउने क्रममा युवतीलाई सुझाव समेत दिइन्।

उनले भनिन्-‘छोरी मानिस साहसी बन्नुपर्छ, आफूलाई कहिल्यै कमजोर सोच्नु हुन्न र सधैँ अघि बढ्नुपर्छ।’

उनले ‘महादेवलाई फकाई फकाई पोर्इ माग्ने हौ रे..’, ‘मलमल के रे जूनकीरी…’, ‘उसले भन्यो, हे नानी गाजले, म त मरें लाजले…’ गाउँदै अन्तिममा ‘मै मोरी नक्कलीलाई बालै भएन ..’ गाउँदै प्रस्तुति टुंगाइन्।

शनिबार वली सहित प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, सरला पाण्डे, सम्झना अधिकारी, कृष्ण काफ्ले, श्रीराम अधिकारी, टेक क्षेत्री, सरस्वती लामिछानेले गीत गाए। विभिन्न हास्य प्रस्तुति एवं पप कर्न्र्सटले पनि दर्शक तान्ने गरेेको छ। शुक्रबार गायक पशुपति शर्माले दर्शक नचाएका थिए।

पुस १३ देखि १७ गतेसम्म आयोजित महोत्सव नेपालमै सबैभन्दा ठूलो क्षेत्रफलमा हुने महोत्सव हो। यो फेवाताल किनार शहीदचोकदेखि हल्लनचोकसम्म ३ किमी क्षेत्रफल आयोजना गरिएको छ। नयाँ वर्ष इभमा भने लेकसाइड आन्तरिक एवं बाह्य पर्यटकले खचाखच हुने गरेको छ।

- विजय नेपाल