सांसदलाई गलाभरी माला

पोखरा, १५ पुस ।  गण्डकी मिनी मार्केटले प्रदेश सांसद रामजी बराल र दीपक कोइरालालाई बधाई ज्ञापन गरेको छ।

मार्केटका अध्यक्ष बमबहादुर कार्की, उपाध्यक्ष सन्तोष सोनामले सांसद बराल र कोइरालालाई अविर र माला लगाएर शुरु गरेको सम्मानमा लगातार व्यवसायीले माला पहिर्‍याउँदै जाँदा सांसदको गलाभरिको मालाले मुख छोपिन पुगेको थियो ।

कार्यक्रममा सांसद बरालले फुटपाथमा व्यवसाय गरेर गुजारा चलाउँदैआएका साना व्यवसायीलाई सरकारले नै उचित व्यवस्थापन गर्न माग गर्दै आन्दोलन गर्नुपरेको स्मरण गरे ।

५ वर्षअघि देखि व्यवसाय गर्दैआएका व्यवसायीको ठूलो लगानी भएको अन्य कुनै ठाउँमा व्यवस्थापन नगरी हटाउन नहुनेमा आफ्नो जोड रहेको बताए ।

अर्का सांसद कोइरालाले आफूहरुलाई काम गर्नको लागि जनताले जिताएको बताउँदै काम गरेरे  देखाउने बताए ।

उनले व्यवसायीलाई प्रदेश सांसदको तर्फबाट सहयोगको लागि पहल गर्न तयार रहेको बताए।

कार्यक्रममा मार्केट अध्यक्ष कार्की, उपाध्यक्ष सोनाम, सचिव दिनेश दाहालले सांसदलाई शुभकामना दिँदै उदाहरणीय कार्य गरेर देखाउन सुझाव दिए ।

- एजेन्सी