ओली-दाहाल भेट

पार्टीएकतामा शंका नगर्न आग्रह

काठमाडौं, १२ पुस । वाम गठबन्धनको एकता प्रक्रियालाई लिएर विभिन्न अड्कलबाजी चलिरहेको बेला नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ । भेटमा एकता र सरकार गठनका प्रक्रिया अघि बढाउने सहमति भएको जनाइएको छ ।

चार दिन चितवनमा बसेर मंगलबारमात्रै काठमाडौं फर्किएका दाहाल बुधबार ओलीलाई भेट्न बालकोट पुगेका थिए । झण्डै डेढ घण्टा भएको छलफलमा पार्टीएकता, वाम गठबन्धनको सरकार गठन र राष्ट्रिय सभा गठन अध्यादेशका सर्न्दर्भमा छलफल भएको भेटपछि अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए । पार्टीएकताको बारेमा उठाइएका आशंका निराधार रहेको दुवै अध्यक्षले बताएको अधिकारीले जानकारी दिए ।

पार्टीएकता प्रक्रिया अघि बढाउन तत्कालै एकता संयोजन समितिको बैठक बस्ने पनि भेटमा सहमति भएको छ । ‘पार्टीएकताबारे जेजस्ता हल्ला चलेका छन्, ती गलत हुन् । पार्टीएकतामा कुनै समस्या छैन र छिटोभन्दा छिटो निष्कर्षमा र्पुयाइन्छ भन्नुभएको छ’-ओलीका प्रेस संयोजक अधिकारीले भने । दाहाल र ओलीबीचको भेटवार्तामा प्रधानमान्त्री शेरबहादुर देउवाले चाँडो सरकार गठनको बाटो खोलिदिनुपर्ने, निर्वाचन आयोगले समानुपातिकको नतिजा चाँडो प्रकाशन गर्नुपर्ने र राष्ट्रिय सभासम्बन्धी अध्यादेश सरकारले अड्काएर राख्न नहुने लगायत विषयमा पनि कुराकानी भएको उनले बताए । साथै एक दुर्इ दिनभित्रै गृहकार्य गरेर एकता संयोजन समितिको बैठक बस्ने ओली र दाहालबीच सहमति भएको अधिकारीले बताएका छन् । बिहीबारसम्म समितिको बैठक बस्न सकिने उनको भनाइ थियो ।

ओली र दाहालबीच निर्वाचन आयोगले प्रतिनिधिसभाको सम्पूर्ण निर्वाचन परिणाम सार्वजनिक कहिले गर्छ भन्ने विषयमा छलफल भएको स्रोतको दाबी छ । आयोगले समानुपातिकको पनि सिट वितरण गरिसकेपछि नयाँ सरकार गठनको प्रक्रियाअघि बढाउन सहज हुने नेताहरुको बुझाइ छ । नयाँ सरकार गठनका लागि अहिलेको कामचलाउ सरकारले बाटो सहज बनाइदिनुपर्ने बारेमा दुवै नेताबीच कुराकानी भएको बताइएको छ । ओली निवासबाट बाहिरिँदै गर्दा दाहालले नयाँ सरकार गठनका लागि अहिलेको सरकारले बाटो खोलिदिनुपर्ने बताए । उनले निर्वाचन आयोगले सबै निर्वाचन परिणाम सार्वजनिक गरेपछि सरकार गठनको प्रक्रिया अघि बढ्ने बताए ।

पार्टीएकता हुन चलखेल हुन सक्ने भन्दै ओलीले कतैबाट पनि तरंगित नहुन दाहाललाई आग्रह गरेको बालकोट स्रोतले जनाएको छ । दुवै पार्टीभत्र एकता गरेर बलियो पार्टीबनाउने सर्न्दर्भमा आफ्नो भविष्य हेरेर एकताबारे भ्रम फैलाउने नेताहरु पनि रहेकाले सचेत ढंगले एकता प्रक्रिया टुंग्ााउन दुवै नेता तयार रहेको स्रोतको दावी छ । स्रोतले भन्यो-‘एकीकृत पार्टीका आफ्नो स्थान खोजेर चलखेल गर्ने नेता दुवैतिर छन्, तिनीहरुबाट जोगिँदै पार्टीएकता हुन्छ । केपी ओलीकै नेतृत्वमा वामपन्थी सरकार पनि चाँडै गठन हुन्छ । ओली र दाहाल दुवैले मधेशवादीलाई पनि सँगै लिएर जान सघन संवाद चलाउँछन् । बाह्य र आन्तरिक शक्तिहरुको चलखेलबारे दुवै नेता सचेत छन् ।’

भेटमा अध्यक्षद्वयबीच निकै सौहार्द वातावरणमा छलफल भएको, छलफलमा जनताले नयाँ जनादेश दिएको परिस्थितिमा वर्तमान सरकारले नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्नुपर्ने लगायतका विषयमा कुराकानी भएको माओवादी केन्द्रका अध्यक्ष दाहालको सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

दुर्इ अध्यक्ष बीच राजनीतिक वातावरण सहज बनाएर पार्टीएकतालाई अघि बढाउने समझदारी भएको  र १/२ दिनमै संयोजन समितिको बैठक बोलाएर पार्टीएकताको प्रक्रिया अघि बढाउने समझदारी भएको विज्ञप्तिमा उल्लेख छ । यसैवीच, एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार निर्माणमा अवरोध गरिरहेको आरोप लगाएका छन् । नेता नेपालले प्रधानमन्त्री देउवालाई तत्काल पदबाट राजीनामा दिएर नयाँ सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्न सुझाव समेत दिए । काठमाडौमा भएको एक कार्यक्रममा उनले निर्वाचनमा हार ब्यहोर्दासमेत प्रधानमन्त्री देउवाले राजीनामा नदिएकोमा आपत्ति जनाए । सरकार गठनमा वाम गठबन्धनभित्र कुनै विवाद नरहेको पनि नेता नेपालले दावी गरे । झण्डै दुर्इ तिहाई बहुमत ल्याएको वाम गठबन्धनले नै नयाँ सरकार बनाउने बताउँदै सरकार गठन र माओवादी केन्द्रसँग पार्टीएकता सँगसँगै अघि बढ्ने पनि नेपालको भनाइ थियो ।

- अादर्श समाज सम्वाददाता