भत्काइयो रंगशाला

पोखरा, १२ पुस। १३ औं दक्षिण एशियाली खेलकुद (साग) का आधा दर्जन खेल यहाँ हुने भएपछि पोखरा रंगशालाको स्तरोन्नतिको काम अघि बढेको छ।

बुधबारबाट रंगशालाको पुरानो फुटबल प्यारापिट भत्काउन शुरु गरिएको छ। १ वर्षभित्रै अन्तर्राष्ट्रियस्तरको फुटबल स्टेडियम बनाउन ग्लोबल टेण्डर आहृवान भइसकेको अवस्थामा ठेक्काप्राप्त कम्पनीले काम शुरु गर्नु अगावै पुरानो संरचना भत्काउन शुरु गरेको हो।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष खगराज पौडेलका अनुसार भीम शर्माको अध्यक्षतामा गठित उपभोक्ता समितिमार्फत प्यारापिट भत्काउन शुरु गरिएको हो।

काठमाडौको जेबिए निर्माण सेवाले १ महिनामै पुराना संरचना हटाइसक्नेछ। ३५ वर्षअघि बनेको प्यारापिट भत्काउन ४४ लाखमा ठेक्का दिइएको हो। मैदानमा हाल साधारण र भीआइपी गरी २ प्यारापिट छन्। २०७२ सालको विनासकारी भूकम्पपछि रंगशालाका संरचना जीर्ण बनेकाले पनि भत्काउनु अत्यवश्यक भइसकेको थियो।

सन् २०१९ मार्चमा नेपालमा आयोजना हुने साग मध्यनजर गर्दै रंगशालाको आवश्यक पूर्वाधार निर्माण कार्य अघि बढाइने पौडेलले बताए। सागअन्तर्गत पोखरामा महिला फुटबल, महिला तथा पुरुष भलिबल, ह्याण्डबल, आर्चरी, ट्रायथोलन र लनटेनिस यहाँ हुनेछन्।

‘एक महिना अवधिमा पुराना संरचना हटाउने काम पनि सकिन्छ। टेण्डर प्रक्रिया पनि टुंगोमा पुग्नेछ’- अध्यक्ष पौडेलले भने-‘अब १० महिनामा पोखरामा अत्यधुनिक रंगशाला निर्माण हुनेछ।’ करिब १ अर्ब ३३ करोडको लागतमा १० महिनामा निर्माण सम्पन्न हुने उनको ठोकुवा छ। ग्लोबल टेण्डरमा राष्ट्रिय खेलकुद परिषद्‍ले प्रारम्भिक चरणमा ६ वटा कम्पनी छनोट गरेको छ। चीनको ४, भारतको १ र प|mान्सको १ कम्पनीले चासो दिएका छन्र्। इच्छुक ६ वटा कम्पनीको आशयपत्र आएपछि ठेक्का दिने कम्पनी छनोट हुने उनले जनाए। हालसम्म चिनियाँ कम्पनीले प्रस्तुत गरेको डिजाइन चित्तबुझ्दो रहेको पौडेलले बताए।

एनडी इञ्जिनियरिङ कन्सल्टेन्सीले अघिल्लो वर्ष नै नयाँ रंगशालाका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको हो।

डीपीआरलाई आधार मानेर सरकारले चालु आर्थिक वर्षमा पहिलो किस्तास्वरुप १७ करोड रुपैयाँ उपलब्ध गराइसकेको छ। ४ सय १७ रोपनी जग्गामा रहेको रंगशालामा २० करोड लागतमा बहुउद्देश्यीय कभर्ड हल निर्माणको अन्तिम चरणमा छ।

उभिएरै आहा रारा गोल्डकप

प्यारापिट हटेपछि आसन्न आहा रारा गोल्डकपमा प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ। साधारण प्यारापिटतर्फ ४ हजार र भिआइपीतर्फ १ हजार ६ सय जना अट्ने प्यारापिट हटेपछि अब अन्य स्थानमा झैं उभिएरै फुटबल हेर्र्नुको विकल्प छैन। आयोजक सहारा क्लब पोखराले यो वर्ष अफ्ठ्यारो भए पनि अर्को वर्षदेखि अन्तर्राष्ट्रियस्तरको रंगशालामा बसेर हेर्न पाइने भएकाले खासै चिन्ता मान्नुपर्ने विषय नभएको बताएको छ। क्लब अध्यक्ष केशव थापाले प्रतियोगिता अगावै भत्काइएका संरचना रंगशालाबाट हटाइसक्ने अपेक्षा गरे। आहा रारा गोल्डकपको १६ औं संस्करण यसपटक माघ ९ देखि २० गतेसम्म हुँदैछ।

‘पोखरा रंगशाला मुलुकमै गर्वलायकको अत्याधुनिक बन्दैछ। हामी खेलसँग सम्बन्धित संघसंस्था खुशीमात्र होइन, सहयोग गर्नुपर्छ’-थापाले भने-‘काम द्रूत गतिमा होस्, प्रतियोगिता गर्ने बेलासम्म प्यारापिट नभए पनि वरपरका भत्काइएको संरचना हटाइदिनुस् भन्ने मात्रै हाम्रो अनुरोध हो।’ उनले प्यारापिट नभएपछि कृत्रिमरुपमा अस्थायी बनाउने सोच समेत रहेको बताउँदै समयाभाव भए यसपटक दुःखकष्ट व्यहोरेर नै प्रतियोगितालाई माया गरिदिन पोखरेलीमा अनुरोधसमेत गरे।

- रञ्जन अधिकारी