कालिका क्याम्पसको २६ औं वाषिर्कोत्सव

पोखरा, १२ पुस। पोखरा १४, काजीपोखरीस्थित कालिका बहुमुखी क्याम्पसको २६औं वाषिर्कोत्सव विविध कार्यक्रमका साथ बुधबार सम्पन्न भएको छ ।

वाषिर्कोत्सव समारोह उद्घाटन गर्दै महानगरका मेयर मानबहादुर जिसीले क्याम्पसको गुणस्तरीय शिक्षाको लागि महानगरबाट आवश्यक सहयोग पुर्‍याउने प्रतिवद्धता ब्यक्त गरे।

परम्परागत शिक्षा पद्दतीको सट्टा महानगरको लागि चाहिने जनशक्ति तयार गर्न आग्रह गर्दै मेयर जिसीले रोजगारी खोज्ने नभई आफै रोजगारी सृजना गर्न सक्ने शिक्षा विद्यार्थीलाई दिन आग्रह गरे।

वडा १४ का वडाध्यक्ष प्रेमबहादुर कार्कीले क्याम्पसको विकासको लागि वडाको तर्फबाट १० लाख उपलब्ध गराएको बताउँदै आगामी वर्ष ३०/४० लाख सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे।

क्याम्पसका संस्थापक क्याम्पस प्रमुख बलवीरसिंंह नेगीले क्याम्पसको शैक्षिक सुधारको लागि सबै पक्ष लाग्नुपर्ने बताए।

कार्यक्रममा सञ्चालक समितिका सदस्य प्राडा कृष्ण केसी, नेपाल पब्लिक क्याम्पस संघका प्रदेश संयोजक एवं जनप्रिय क्याम्पसका क्याम्पस प्रमुख विरन्जी गौतम, सञ्चालक समितिका सदस्य बोधबहादुर कार्की, संस्थापक सदस्य महेश गुरुङ, प्राडा ज्ञानबहादुर कार्की, नेत्रहीन संघ कास्कीका अध्यक्ष लक्ष्मण सुवेदी लगायतले क्याम्पसको शैक्षिक विकासको लागि शुभकामना ब्यक्त गरेका थिए। क्याम्पस प्रमुख बालकृष्ण शर्माले क्याम्पसको वाषिर्क प्रतिवेदन प्रस्तुत गरेका थिए।

क्याम्पसले वाषिर्कोत्सव अवसरमा महानगरपालिकाका मेयर मानबहादुर जिसी र सो क्याम्पस पेरीफेरीका वडा  १०, १४ र १५ का जननिर्वाचित प्रतिनिधिलाई सम्मान गरेको छ। क्याम्पसका सञ्चालक समितिका उपाध्यक्ष सन्तबहादुर गुरुङले जनप्रतिनिधिलाई नेपाली ढाकाटोपी लगाई सम्मान गरेका थिए।

यस्तै, क्याम्पसमा स्थापित विभिन्न छात्रवृत्ति उत्कृष्ट विद्यार्थीलाई वितरण तथा विभिन्न खेलकुद एवं अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार तथा सम्मान गरियो । उत्कृष्ट नृत्य प्रदर्शन गर्ने विद्यार्थीलाई सञ्चालक समितिका सदस्य बोधबहादुर कार्कीले ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरे ।

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका सदस्य चन्द्रशेखर गौतमले हरेक वर्ष दुर्इ जना दलित जेहेन्दार विद्यार्थीको लागि छात्रवृत्ति प्रदान गर्न ५ हजार रकम प्रदान गर्ने घोषणा गरे।

२०४९ सालमा सेती पूर्वको पहिलो क्याम्पसको रुपमा स्थापित सो क्याम्पसमा दश जोड दुर्इदेखि स्नाकोत्तर तहसम्म अध्ययन अध्यापन भइरहेको छ।

मानविकी, विज्ञान, शिक्षा र व्यवस्थापन संकायका विभिन्न विषयमा पठनपाठन भइरहेको क्याम्पसमा हाल  १ हजार २ सय विद्यार्थी अध्ययनरत रहेको क्याम्पस प्रमुख बालकृष्ण शर्माले जानकारी दिए।

क्याम्पस व्यवस्थापन समिति उपाध्यक्ष सन्तबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्राध्यापक संघका अध्यक्ष रवीन्द्रनाथ बास्तोला गरेका थिए भने सञ्चालन प्राध्यापक माधव बराल र विद्यार्थी नवराज दाहालले संयुक्त गरेका थिए।

- एजेन्सी