सत्ता हस्तान्तरण गर्न देउवा आतुर

चितवन, ११ पुस। प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताएका छन्।

सौराहामा मंगलबार आयोजित हात्ती महोत्सव उद्घाटन गर्दै उनले सम्पूर्ण प्रक्रिया पूरा गरेर सत्ता हस्तान्तरण गर्न आफू तयार रहेको बताएका हुन्।

उनले संविधान कार्यान्वयनका लागि महत्वपूर्ण मानिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको बताउँदै निर्वाचनले नेपाली काँग्रेसलाई घाटा हुन्छ भन्ने जान्दाजान्दै पनि देशलाई निकास दिन निर्वाचन सम्पन्न गरी संविधानको पूर्णरुपमा कार्यान्वयन गर्न सफल भएको बताए।

लिखित भाषण पढ्दै देउवाले नेपालको राजनीतिक इतिहासमा महत्वपूर्ण र ऐतिहासिक काम नेपाली काँग्रेसको नेतृत्वमा भएको बताए। उनले त्यही उपलब्धिमध्ये अहिलेको संक्रमण काँग्रेसकै नेतृत्वमा अन्त्य भएको बताए।

निर्वाचन निष्पक्ष र धाँधलीरहीत ढंगबाट सम्पन्न भएकोले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा सकारात्मक सन्देश प्रवाह भएको भन्दै देउवाले नेपाली काँग्रेस सरकारमा रहे पनि नरहे पनि विकासका लागि प्रतिबद्ध भएर लाग्ने बताए।

लोकतन्त्रबाटै विकास हुन्छ भन्ने कुरामा आफूहरु विश्वस्त रहेको भन्दै उनले संविधानलाई संस्थागत गरी अघि बढ्नुपर्ने बताए। पर्यटन क्षेत्रको विकासमा सरकार प्रतिबद्ध भएर लागेकै कारण नेपालमा पर्यटकको आगमन बढ्दै गएको देउवाको भनाइ थियो।

हात्तीलाई दक्ष बनाएर उनीहरुकै सहाराले गरिने यस किसिमका गतिविधिले पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने बताउँदै देउवाले यस्ता गतिविधिले स्वरोजगारी सिर्जना गर्ने बताए।

नेपाल प्राकृतिक, सांस्कृतिक, धार्मिक र ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण देश भएकाले पर्यटकीय क्षेत्रको विविधिकरण गर्दै नयाँ पर्यटकीय स्थलको पहिचान गरी पर्यटन उद्योगलाई अघि बढाउनु पर्ने उनको भनाइ थियो।

कार्यक्रम अवसरमा संरक्षणमा उत्कृष्ट कार्य गरी वन र वन्यजन्तु संरक्षणमा विशेष योगदान दिने चितवन राष्ट्रिय निकुञ्ज लगायत विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो।

सौराहामा हरेक वर्ष हुँदै आएको हात्ती महोत्सवको पुस १५ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवमा हात्ती वनभोज कार्यक्रम, हात्ती फाष्ट वाक प्रतियोगिता, हात्तीको छावाको रोचक फुटबल प्रतियोगिता, हात्ती श्रृंगार प्रतियोगिता, हात्ती बार्थिङ्ग प्रतियोगिता, हात्ती पेन्टिग प्रतियोगिता लगायत हुनेछ।

- अादर्श समाज सम्वाददाता