सडक महोत्सव तयारी पूरा

पोखरा, ११ पुस। अंग्रेजी नयाँ वर्ष २०१८ अवसरमा रेवानले पोखरा गर्न लागेको १९ आंै पोखरा सडक महोत्सवको तयारी पूरा भएको छ।

महोत्सवस्थल कोमागाने पार्कमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समिति र विभिन्न उपसमितिले तयारी पूरा गरेको जनाइएको छ।

‘महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ’-रेवानका अध्यक्ष चौबहादुर गुरुङले भने-‘यो महोत्सव पोखराको प्रवर्द्वनका लागि हो।’

विश्वबजारमा पोखराको पहिचान बनाउने उद्देश्यले आयोजना गरिएको महोत्सव पुस १३ देखि १७ गतेसम्म हुँदैछ। महोत्सव शहीदचोक, फेवाताल किनार, खहरेहुँदै डिहिकोपाटनसम्मको साढे ३ किलोमिटर क्षेत्रमा हुनेछ। महोत्सवमा करिब ५ लाख दर्शकले सहभागिता जनाउने आयोजकको अपेक्षा छ।

महोत्सव उद्घाटन पूर्व खहरेबाट बाजागाजा र झाँकी सहितको र्‍याली निकालिने छ। र्‍याली कोमागाने पार्क पुगेर उद्घाटन समारोहमा परिणत हुनेछ।

महोत्सवबाट करिब ९० लाख आम्दानी र ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। महोत्सवको आम्दानी सामाजिक उत्तरदायित्वका काममा प्रयोग गरिने आयोजकले जनाएको छ। महोत्सवमा खाना, विभिन्न उत्पादन र व्यवसायिक प्रयोजनका एक सय भन्दा बढी स्टल रहने छन्। सुन्तलाको मात्र १५ स्टल रहनेछ।

महोत्सवको आकर्षणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खाना, हस्तकला, बाल उद्यान, सांस्कृतिक कार्यक्रम, लाइभ पप कन्सट, कृषक सम्मान लगायत रहने छन्।

सात वटै प्रदेशबाट लोपोन्मुख सांस्कृतिक प्रस्तुति र जापान, कोरिया र भारतका समेत सांस्कृतिक प्रस्तुति रहने छ। नयाँ वर्ष शुरुवातमा मध्यरातमा आतिसबाजी गरिनेछ।

पत्रकार सम्मेलनमा क्षेत्रीय कृषि निर्देशनालयका प्राविधिक उपसचिव माधव लम्साल, पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्मा, रेवानका पूर्व अध्यक्ष बलराम पहारी, निवर्तमान अध्यक्ष गोपीबहादुर भट्टराई, रेवानका उपाध्यक्ष लक्ष्मण बराल, पत्रकार महासंघ कास्कीका सहसचिव दीननाथ बरालले बोलेका थिए।

- अादर्श समाज सम्वाददाता