अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव

पोखरा, १० पुस। अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव २०७४ को दोस्रो चरण कास्कीको छोम्रोङमा शुरु भएको छ।

अन्नपूर्ण गाउँपालिका कास्की र पर्यटन ब्यवस्थापन उपसमिति छोम्रोङको व्यवस्थापनमा सोमबार शुरु महोत्सव १५ गतेसम्म चल्नेछ।

‘पर्यटनका लागि सबै मौसम’ भन्ने मूल नाराका साथ अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिद्वारा ल्होसार पर्व सर्न्दर्भ पारेर महोत्सवको दोसो चरण ल्होसार विशेष कार्यक्रमरुपमा मनाइएको महोत्सव मूल व्यवस्थापन समितिका संयोजक ललित गुरुङले बताए। कार्यक्रम शुभारम्भ गर्दै कास्की क्षेत्र ३ का प्रतिनिधिसभाका सदस्य जगत विश्वकर्माले अन्नपूर्ण आधार शिविरको पदयात्रा मार्गलाई थप व्यवस्थित गरी तत् क्षेत्रको पूर्वाधार निर्माणमा विशेष पहल गर्ने आश्वासन दिए।

कास्की क्षेत्र ३ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य राजीव पहारीले विश्वकै पर्यटकीय गन्तव्य बोकेको पोखरा र यस आसपासका क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले पोखरालाई खेलकुदको राजधानी बनाउने योजना अघि बढिरहेको सर्न्दर्भमा यसका आसपासका पर्यटकीय क्षेत्रमा साहसिक खेल विकास गर्न सके पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

मंगलबारदेखि खुला महिला भलिबल प्रतियोगिता, खुला पुरुष भलिबल प्रतियोगिता, खुला बास्केटबल प्रतियोगिता, विशेषज्ञ डाक्टरद्वारा बृहत् निःशुल्क स्वास्थ्य शिविर, पर्यटनसम्बन्धी डकुमेन्ट्री प्रदर्शन, सिर्जनशील कलाकार समूह पोखराको सहभागितामा कला कार्यशाला र बनाइएका चित्र प्रदर्शनी हुनेछ ।

महोत्सवको प्रथम चरणअन्तर्गत अन्नपूर्ण आधार शिविरमा गत असोज २५ गते सम्पन्न भएको थियो।

- एजेन्सी