भट्टराईको ‘धर्मको धोक्रो’ र उपाध्यायको ‘श्रीकृष्ण शतक’ लोकार्पण

पोखरा, १० पुस। पोखरेली साहित्यका लागि सोमबार सुनौलो दिन बन्यो। एकैदिन फरक विधाका दुर्इ कृति सार्वजनिक भए।

शेषराज भट्टराईको हास्यव्यङ्ग्य निबन्धसंग्रह ‘धर्मको धोक्रो’ र कृष्णशरण उपाध्यायको कवितासंग्रह ‘श्रीकृष्ण शतक’ लोकार्पण गरिएको हो। लेखनाथ साहित्य प्रतिष्ठानले यो अवसर सिर्जना गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि प्राडा रविलाल अधिकारीसहित ‘छन्द बचाऔं’ अभियानका अभियन्ता माधव वियोगी र सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले संयुक्त रुपमा कृतिको लोकार्पण गरे।

प्रमुख अतिथि प्राडा अधिकारीले साहित्यले चेतनाको विकास गर्ने बताए। साथै सबैले कृति पढ्ने बानी बसाल्नुपर्नेमा जोड दिँदै अध्ययनशील व्यक्तिले नै उत्कृष्ट रचना गर्नसक्ने बताए।

साहित्यकार वियोगीले कवि उपाध्यायले छन्दमा उत्कृष्ट रचना गरेर काव्य संस्कृतिको संरक्षणमा ठूलो योगदान पुर्‍याएको चर्चा गरे।

हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेले पोखरा मोफसल नभै साहित्यको राजधानी भएको उल्लेख गरे। गाम्नागेले साहित्यकार भट्टराईले कठिन परिस्थितिको सामना गर्दै हास्यव्यङ्ग्य कृति प्रदान गरेको बताए।

डा नारायण अधिकारीले ‘श्रीकृष्ण शतक’ समीक्षा गर्दै कवि उपाध्यायले एउटै विषयमा धेरै कविता लेखेर विशेषता हासिल गरेको बताए। उनले भागवत् चिन्तनबाट धेरै साहित्यकार शिखरमा पुगेको बताए।

हास्यव्यङ्ग्यकार चूडामणि खनालले ‘धर्मको धोक्रो’ कृति समीक्षा गर्दै भट्टराईको निबन्धमा हास्यभन्दा व्यङ्ग्य बढी रहेको उल्लेख गरे।

स्रष्टा कृष्णशरण उपाध्यायले धार्मिक कविता लेखेर कवि भइँदैन भन्ने भनाइ चुनौती दिँदै आफूले ठूलो कवि बन्न नभइ कृष्णभक्तिका कविता लेखेको बताए।

साहित्यकार शेषराज भट्टराईले आफूले निरन्तर कलम चलाइराख्ने बताए।

कार्यक्रममा प्राडा नरहरि गौतम, सिर्जनशील लोकतान्त्रिक वाङ्मय प्रतिष्ठानका अध्यक्ष डा जगन्नाथ रेग्मी, अलिमियाँ लोकवाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ, मुक्तक मञ्च पोखराका अध्यक्ष प्राञ्जल, राष्ट्रिय समाचार समिति पोखराका बासुदेव पौडेलले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा कवि छन्दिका त्रिपाठी र शिव त्रिपाठीले ‘श्रीकृष्ण शतक’ का कविता वाचन गरेका थिए। लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार कृष्णप्रसाद बास्तोलाले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रम सञ्चालन सचिव कृष्णप्रसाद पौडेलले गरेका थिए।

- अादर्श समाज सम्वाददाता