स्वर्णमहोत्सवमा माविस्तरीय नृत्य प्रतियोगिता

लमजुङ, १० पुस। लमजुङको रागिनास नगरपालिका-८ तार्कुघाट स्थित वीरभक्ति माविले आफ्नो स्वर्णहोत्सवका अवसरमा अन्तरमावि नृत्य प्रतियोगिता गरेको छ।

प्रतियोगितामा सुन्दरबजार नगरपालिका-९ को सिँउडीबारस्थित फ्युचरस्टार आमाविले प्रथम स्थान प्राप्त गर्न सफल भएको छ।

यसैगरी, सुन्दरबजार- ६ बरेटार स्थित आदर्शबाल माविको समूह द्वितीय  र नगरपालिका-९ को पैरेमा रहेको भविष्य निर्माण तृतीय भएको विद्यालयका प्रधानाध्यापक श्यामचरण कुर्मीले जानकारी दिए।

प्रतियोगितामा १३ टिमले भाग लिएका थिए। उनका अनुसार प्रतियोगितामा सुन्दरबजारकै भक्ति नमूना मावि र रागिनास नगरपालिकाको धमिलिकुवास्थित शैलपुत्री माविको टोलीले सान्त्वना स्थान हासिल गरेका छन्।

प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान हासिल गर्ने टोलीलाई क्रमशः पाँच, तीन, दुर्इ र एक-एक हजार रूपैयाँ र प्रमाणपत्र प्रदान गरिएको पूर्व विद्यार्थी समाजका अध्यक्ष विष्णुलाल श्रेष्ठले बताए।

प्रतियोगितामा भाग लिने सबैटोलीलाई प्रति समूह पाँच सय रूपैयाँका दरले दिइएको थियो।

विजेता कलाकार टोलीलाई विद्यालय व्यवस्थापक समितिका अध्यक्ष सफी मियाँ, प्रधानाध्यापक श्यामचरण कुर्मी र पूर्व विद्यार्थी समाजका अध्यक्ष विष्णुलाल श्रेष्ठले संयुक्त रूपमा पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए।

स्कूलले स्वर्णमहोत्सवका अवसरमा अन्तरमावि छात्रा भलिबल प्रतियोगिताकोसमेत आयोजना गरेको छ।प्रतियोगितामा सुन्दरबजार नगरपालिका-९ को सिँउडीबार स्थित फ्युचरस्टार आवासीय मावि प्रथम आयोजक माविको टोली द्वितीय भएको विद्यालयका सहायक प्रधानाध्यापक नुरमोहमद मियाँले बताए। प्रतियोगिता वेष्ट अफ थ्रिका आधारमा खेलाइएको थियो।

प्रतियोगितामा प्रथम हुने समूहलाई ६ हजार रूपैयाँ, द्वितीय हुने टिमलाई ३ हजार ६ सय रूपैयाँ र प्रमाणपत्र प्रदान गरिएको थियो।

- अादर्श समाज सम्वाददाता