जनप्रियमा सप्ताहव्यापी कार्यक्रम

पोखरा, ९ पुस। पोखरा ८ अवस्थित जनप्रिय बहुमुखी क्याम्पसमा सोमवारदेखि सप्ताहव्यापी कार्यक्रम शुरु हुँदैछ।

क्याम्पसको २६ औं वाषिर्कोत्सवका अवसरमा स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा विभिन्न खेलकुदका साथै रचनात्मक कार्यक्रम हुने भएको हो।

स्ववियूले आइतवार पत्रकार सम्मेलन आयोजना गरी एक हप्तासम्म आयोजना हुने कार्यक्रमबारे जानकारी दियो। स्ववियू सभापति आशिक गुरुङका अनुसार यसअघि क्याम्पसले नै सञ्चालन गर्दै आएको कार्यक्रम अहिले निर्वाचित स्ववियूको अग्रसरतामा हुन लागेको हो। क्याम्पसमा अध्ययनरत चार हजार बढी विद्यार्थीमध्ये सप्ताहव्यापी कार्यक्रममा झण्डै एक हजार सहभागी हुने गुरुङको दाबी छ।

मुलुककै उत्कृष्ट सामुदायिक क्याम्पसमा विद्यार्थीको अध्ययन अध्यापनको अतिरिक्त विभिन्न रचनात्मक तथा सिर्जनात्मक साथै अतिरिक्त क्रियाकलपामा आधारित रहेर विभिन्न खेलकुद कार्यक्रम हुने क्याम्पस प्रमुख विरञ्जी गौतमले जानकारी दिए।

स्ववियु सचिव ध्रुबराज अधिकारीका अनुसार गजल कविता प्रतियोगिता, पर्यावरण र जीवन शीर्षकमा नेपाली अंग्रेजी निबन्ध प्रतियोगिता, दशक पछिको मेरो देश र नेपालीमा स्वास्थ्य चेतना विषयमा वक्तृत्वकला प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता, सेभ द इन्भाइरनमेन्ट र शान्ति शीर्षकमा चित्रकला, कविता तथा गजल प्रतियोगिता हुनेछ।

यस्तै, फुटसल, ब्याडमिन्टन, भलिबल, टफ अफ वार, टेबलटेनिस, बास्केटबल, चेस, दौड प्रतियोगिता हुनेछन्।

पुस २१ गते नवआगन्तुक विद्यार्थीका लागि स्वागत तथा पढाइ पुरा गरेका विद्यार्थीको बिदाइ कार्यक्रम आयोजना गरिएको सचिव अधिकारीले जनाए।

- अादर्श समाज सम्वाददाता