व्यावसायिक कृषिका लागि माटो परीक्षण

गल्याङ, ६ पुस । क्षेत्रीय माटो परीक्षण प्रयोगशाला, पोखराको प्राविधिक सहयोग र गल्याङ नगरपालिकाको व्यवस्थापनमा निःशुल्क माटो परीक्षण कार्यक्रम भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै गल्याङ नगरपालिकाका प्रमुख भूपराज अधिकारीले गल्याङ नगरपालिकालाई कृषिको क्षेत्रमा अघि बढाउने उद्देश्यका साथ माटो परीक्षण गरेर व्यावसायिक कृषि उत्पादनमा जोड दिने बताए।

माटो परीक्षणले कुन बाटोमा के फलाउन सकिन्छ र कस्तो माटो कुन बाली लगाउन उपयुक्त हुन्छ भन्ने कुराको पत्ता लगाउने कुरा बताए।

कार्यक्रममा क्षेत्रीय माटो परीक्षण प्रयोगशालाका निमित्त वरिष्ठ शाखा प्रमुख मिसार अहमद खानले गल्याङ नगरपालिकाभित्रका करिब ३ सय स्थानको माटो परीक्षण गरिएको र त्यसमा तीन किसिमको माटो फेला परेको जनाए ।

उनका अनुसार केही माटोमा अम्लियपन, तटस्थ, क्षारीयपन भएको देखिएकाले मौसमी तथा बेमौसमी तरकारी तथा कृषि उत्पादनका लागि तटस्थ माटो उपयुक्त भएको बताए ।  माटोमा प्राङगारिक मलको प्रयोग बढी गर्नुपर्ने र कृषि बाली लगाउनु पर्ने देखिएको उनले जनाए ।

क्षेत्रीय माटो परिक्षण प्रयोगशाखा पोखराका प्रमुख मिसार अहमद खानको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत गल्याङ नगरपालिका कृषि शाखा प्रमुख अविन्द्रमणि त्रिपाठी र सञ्चालन क्षेत्रीय माटो परीक्षण प्रयोगशाला पोखराका माटोविज्ञ टुकबहादुर थापाले गरेका थिए।

- अादर्श समाज सम्वाददाता