वडाध्यक्ष-कर्मचारी विवाद टुंगियो

पोखरा, ६ पुस । एकअर्काले झापड हानेको भन्दै विवादित बनेको पोखरा १३ का वडाध्यक्ष र कर्मचारीको विवाद टुंगिएको छ।

महानगरपालिकाका प्रमुख मानबहादुर जिसीसहित पीडित र पीडकबीच भएको छलफलमा जिसीले आगामी दिनमा घटना नदोहोर्‍याउने प्रतिबद्धता जनाए। ‘मेरो घरभित्र भएको घटना हो, म आफै मिलाउँछु-उनले भने-‘दुवै पक्षको मनोबल उच्च बनाउने दायित्व मेरो छ। आगामी दिनमा यस्तो घटना दोहोरिँदैन।’ समस्या समाधानका लागि महानगरमा त्रिपक्षीय बैठक भएको थियो।

कर्मचारी र जनप्रतिनिधिबीच हार्दिकता र सुमधुर सम्बन्ध स्थापित गर्ने विषयमा दुवै पक्षले सहमति गरेपछि विवाद टुंगिएको आधिकारिक ट्रेड युनियन कास्कीका अध्यक्ष तथा वार्ताका सदस्य भरत भुषालले बताए। ‘माफी माग्ने काम कसैले पनि गरेको होइन। सामाञ्जस्य हिसाबले आगामी दिनमा गल्ती नदोहोर्‍याउने समझदारी भएको छ’-उनले भने।

महानगरस्थित पशुसेवा शाखाका प्रमुख ठगेन्द्रप्रसाद अर्यालले आर्वा सेवा केन्द्रमा किसानसँग छलफल गर्ने कार्यक्रममा वडाध्यक्ष लेखबहादुर तामाङ -दर्शन लामा) ले गालीगलौज सहित हातपात गरेको भन्दै लामाविरुद्ध महानगरका निवेदन दिएका थिए। तर लामाले पनि उल्टै अर्यालले आफूलाई हातपात गरेको बताएपछि सरोकारवालाको बैठक बिहीबार महानगरमा बसेर समस्या टुंगिएको हो। घटनापछि कर्मचारीका संघसंगठनले वडाध्यक्षको कदम गलत भएको भन्दै विरोध गरे।

पशु सेवा कार्यालयअन्तर्गतका फिल्डमा कार्यरत कर्मचारीले काम छोडेर विरोध जनाए।

आधिकारिक ट्रेड युनियन, कर्मचारीका संघसंगठन लगायतले पनि बैठकमै सहभागी भएर जनप्रतिनिधिको यस्तो कदमले कर्मचारीको असुरक्षा बढ्ने भन्दै सुरक्षित वातावरण मिलाइन दिन आग्रह गरे।

- अादर्श समाज सम्वाददाता