स्रष्टा शाह र शर्माको निधन

काठमाडौं, ६ पुस ।साहित्यकार प्रेमा शाह र संगीतकार चन्द्रराज शर्माको निधन भएको छ ।

शाहको उपचारका क्रममा अमेरिकाको साल्ट लेक सिटीस्थित इन्टर माउन्टेन अस्पतालमा ७२ वर्षा उमेरमा बिहीबार निधन भएको साहित्यकार तथा चलचित्रकर्मी प्रकाश सायमीले जानकारी दिए ।

श्रीमती शाह केही समयदेखि अस्वस्थ थिइन् । शाहको ‘पहेंलो गुलाफ’, ‘विषयान्तर’ ‘आऊ मलाई सम्भोग गर’, ‘मन्टु बज्यैको कथाको पेटारो’, ‘मम्मी’ र संयुक्त लेखनमा  ‘आकाश विभाजित छ’ लगायत कृति प्रकाशित छन् । उनी विशेषगरी यौन साहित्यमा कलम चलाउँथिन् । उनी छोरी चलचित्र नायिका जल शाहसँग एक दशकदेखि अमेरिकामा बस्दै आएकी थिइन् ।

यसैगरी, सङ्गीतकार शर्माको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको कलाकार सायमीले बताए । ७९ वर्षीय शर्माको हृदयाघातका कारण उपचारका क्रममा निधन भएको हो । आफ्नो घर स्थानीय वसुन्धरामा बिहान अस्वस्थ भएपछि उपचारका लागि उहाँलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।  शर्माले पहिलो नेपाली रंगीन चलचित्र ‘कुमारी’ तथा ‘मुनामदन’, ‘शकुन्तला’, ‘सावित्री सत्यवान्’, ‘कुञ्जिनी’ लगायत गीति नाटकमा संगीत दिएका थिए। शर्माको बिहीबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । शर्मालाई छोरा गायक सुदेशले दागबत्ती दिए। शर्माका पिता यज्ञराज पनि सङ्गीतकार थिए ।

- रासस