त्रिवेणी कप विजेतालाई तीन लाख

लमजुङ, ५ पुस। लमजुङमा हुने २६ औं त्रिवेणी कप-२०७४ को पुरस्कार राशिमा वृद्धि गरिएको छ।  पुस १२ देखि शुरु हुने राष्ट्रव्यापी उक्त खुला फुटबल प्रतियोगिता विजेताले अबदेखि तीन लाख रुपैयाँ पाउने बुधबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको हो।

क्लब अध्यक्ष छविन्द्र गुरुङका अनुसार उपविजेतालाई १ लाख ५०  हजार र सेमिफाइनलिष्ट दुर्इ समूहलाई ५०/५० हजार प्रदान गरिने छ।

त्यस्तै, सर्वाधिक गोलकर्ता र सवोर्कृष्ट खेलाडीलाई १५/१५ हजार, अनुशासित टिमलाई १० हजार प्रदान गरिनेछ।

वेशीशहरस्थित सहजी खेल मैदानमा सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न १९ लाख ५ हजार रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ।

खेललाई थप सहज र स्तरीय बनाउन रंगशालालाई इलाभेन ए साइडमा फुटबल खेल्न मिल्ने गरी लम्बाइ १ सय मिटर र चौडाइ ६० मिटरको बनाइएको छ।

सो अवसरमा क्लबले सांस्कृतिक कार्यक्रम समेत आयोजना गर्नेछ। क्लबले खेल मैदान मर्मतका लागि २ लाख रुपैयाँ खर्च लाग्ने जनाएको छ।

जिल्लामा फुटबल खेलको विकास र प्रवर्द्धन गर्ने, ओझेलमा परेका प्रतिभाशाली खेलाडीको प्रतिभा उजागर गर्ने र युवामा अनुशासन तथा स्वच्छ प्रतिष्पर्धाको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको क्लब अध्यक्ष गुरुङले बताए। प्रतियोगिताका लागि पुस ११ सम्म टीम दर्ता दर्न सकिनेछ।

- अादर्श समाज सम्वाददाता