निरन्तर मन्त्री, विकासको खडेरी

कास्की क्षेत्र नम्बर १ सँग एउटा गज्जबको इतिहास छ। पञ्चायतपछिका चुनावमा यो क्षेत्रबाट जितेका सबै सांसद मन्त्री बनेर निस्किएका छन्। जनताको मत लिएर काठमाडौं हानिएका नेता कहिलै पनि खाली हात फर्किएनन्।

२०४८ सालमा चुनाव जितेका काँग्रेस नेता तारानाथ रानाभाट पञ्चायत ढलेपछि पहिलो पटक कास्कीबाट मन्त्री बने। २०५१ सालमा खगराज अधिकारीले चुनाव जिते, उतिबेला मन्त्री बन्न पाएनन्। तर उनै खगराज २०७० मा सांसद नहुँदा पनि मन्त्री बनेर पुरानो हिसाब चुक्ता गरे। २०५६ मा तारानाथ रानाभाट दोहोरिए। कास्कीले पहिलो पटक सभामुख पायो।

देशमा राज्यव्यवस्था परिवर्तन भयो। २०६२/०६३ पछि राजनीतिक माहोल फेरियो। २०६४ मा चुनाव भयो। माओवादीका नेता देवप्रसाद गुरुङ कास्की १ बाट विजयी भए। उनै गुरुङ देशको कानुनमन्त्री बने। यद्यपि २ निर्वाचन क्षेत्रबाट चुनाव जितेका गुरुङ कास्कीलाई राजीनामा थमाएर मनाङका प्रतिनिधि बने। तर अझै पनि उनलाई कस्केलीले आफ्नै प्रतिनिधि मान्छन्। संविधानसभाबाट संविधान जारी नभएपछि दोश्रो पटक संविधानसभाको चुनाव भयो। कास्की १ मा काँग्रेसले चुनाव जित्यो, यज्ञबहादुर थापा माननीय बने। ०७० का विजेता थापा पनि कानुन मन्त्री बन्न भ्याए।

समग्रमा कास्की १ निकै भाग्यमानी क्षेत्र हो। तर १ पटक चुनाव जितेर प्रतिनिधि बनेका नेता दोश्रो पटक जनताको मत र मन जित्न सकेनन्। यो धेरै लामो अवधिको प्रमाण हो। यो क्षेत्रले २ पटकसम्म तारानाथ रानाभाटलाई सत्तामा पुर्‍यायो। तर, लगातार होइन। २०५१ मा चुनाव जितेका खगराज अधिकारी दुर्इ दशकपछि पुनः कास्की १ का जनताको प्रतिनिधि बनेका छन्। त्यसो त खगराजको संसदीय राजनीति खासै सफल होइन। पाँचौ पटक संसदीय उम्मेदवार बनेका अधिकारी ३ पटकसम्म पराजित भए। २०४८, २०५६ र २०६४ मा पराजित उनी यसअघि २०५१ -मध्यावधि चुनाव) का विजेता हुन्। बहुदलपछि लगातार राष्ट्रिय राजनीतिमा सक्रिय अधिकारी जनताको मनमा भने बस्न सकेनन्। यद्यपि उनलाई राष्ट्रिय राजनीतिले पत्याइरह्यो। जनताले मत दिएनन्, पार्टीले उनलाई थमथमाइरह्यो। त्यसो त कास्कीमा एमाले स्थापित गर्ने आन्दोलनका सक्रिय योद्धा हुन्-अधिकारी। त्यसमाथि केपी ओलीका विश्वासपात्र उनी, जब ओली देशमा उदाए त्यसपछि खगराजको भाग्योदय भयो। सांसद नै नभएका उनी २०७० मा स्वास्थ्यमन्त्री बने। संसदीय अभ्यासमा सधैँजसो असफल भैरहेका खगराजको लामो समयपछि संसद् छिर्ने ढोका खुल्यो।

लगातार मन्त्री पाइरहेको कास्की १ विकासका हिसाबले भने ठगिएको छ। यो क्षेत्रमा अहिलेसम्म देखिने गरी र जनताले महसुस गर्ने गरी विकास निर्माणको थालनी भएको छैन। यसमा एउटा पार्टी र एउटा नेताको नातामात्रै जोडिँदैन। अहिलेसम्मका सबै मन्त्री र उनीहरुले प्रतिनिधित्व गर्ने पार्टीको एजेण्डा कास्की १ मा पुग्नै सकेन। हुन त विकास निर्माण गर्ने मन्त्रालय नपाएकै कारण पनि समस्या देखिएको हो। यहाँबाट प्रतिनिधित्व गरेका ३ जना मन्त्रीहरुले कानुन मन्त्रालयमात्रै सम्हाले। उनीहरुको काम कानुन निर्माणमा केन्द्रित हुन्थ्यो।

पहिलो पटक खगराज अधिकारीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका हुन्।

- प्रकाश ढकाल