विन्दुको विजयी र्‍याली

पोखरा, २४ मंसिर।कास्कीमा नेपाली काँग्रेसबाट एकमात्र सिट जितेर पार्टीको साख जोगाएका विन्दुकुमार थापाले जितपछि मतदातालाई धन्यवाद दिएका छन् ।

जितको खुशीयालीमा आइतबार पोखराको चिप्लेढुंगाबाट विजयी र्‍याली निकालियो । उक्त क्रममा उनले मतदातालाई प्रति आभार व्यक्त गर्दै राजनीतिलाई आफूले पेसा नभै सेवाको रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रदेशसभा तर्फ कास्की क्षेत्र २ -ख) बाट निर्वाचित काँग्रेसका विन्दुकुमार थापाले आगामी दिनमा समृद्धि र विकासको बाटोमा मुलुकलाई डोर्‍याउन आफ्नो महत्वपूर्ण जिम्मेवारी हुने बताए ।  थापालाई शुभेच्छुकले हार्दिक बधाई दिँदै अविर लगाउँदै माला पहिर्‍याएका थिए ।

वागी उम्मेदवारबीच पनि वाम गठबन्धनको गठजोड भत्काउँदै उनले ८ सय २ मतअन्तरले प्रमुख प्रतिद्वन्द्वीलाई हराउँदै चुनाव जितेका हुन् ।

थापाले १० हजार ७ सय २६ मत ल्याएका छन् भने वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार राजकाजी गुरुङले ९ हजार ९ सय २४ मत पाए।

- अादर्श समाज सम्वाददाता