विद्यार्थी राजनीतिका बादशाह दोस्रो पटक सांसद

पोखरा, २४ मंसिर। खगराज अधिकारी विद्यार्थी राजनीतिका बादशाह हुन्। उनी एमालेका पुराना नेता तर उनको राजनीतिक सक्रियता सधैँ नयाँ। ५६ वर्षीय अधिकारी २०१८ सालमा कास्कीको बेगनासमा जन्मिए। सानै उमेरदेखि उनको चाख राजनीतिमा थियो। १४ वर्षको कलिलै उमेरमा उनले पार्टीसदस्यता लिए। त्यसपछि २०३७ सालमा उनी पूर्णकालीन कार्यकर्ता भएर लागे। त्यसअघि नै अधिकारी ०३६ सालमा अखिलको कास्की जिल्ला अध्यक्ष बने। पूर्णकालीन कार्यकर्ता बनेपछि उनी पृथ्वीनारायण क्याम्पसको स्ववियु सदस्य निर्वाचित भए भने ०४० र ०४१ मा लगातार दुर्इ कार्यकाल पीएन क्याम्पसको स्ववियुमा निर्वाचित भएर विद्यार्थी राजनीति हाँके। उनै अधिकारी सातौं राष्ट्रिय सम्मेलनबाट अखिलको केन्द्रीय उपाध्यक्ष भए भने ०४६ मा कास्की जिल्ला सचिव हुँदै चार कार्यकालसम्म पार्टीको जिल्ला प्रमुख भएर काम गरे।

नेपाली जनताको पक्षमा आवाज उठाएकै आधारमा अधिकारी २०४२ सालमा प्रहरीबाट पक्राउ परे। ४ वर्षपछि गौर जेलबाट उनी फरार भए। फरार भएपछि २०४६ मा वाममोर्चा र काँग्रेसको संयुक्त आन्दोलन संयोजन समितिको संयोजक बन्न भ्याए। अधिकारी ०४६ सालमा एमालेबाट कास्की क्षेत्र नम्बर १ मा उम्मेदवार बने तर विजयी हुन सकेनन्। त्यसपछि ०५१ मा एमालेका सचेतक हुँदै उतिबेलै कास्की १ बाट विजयी भए। तर त्यसपछिको राजनीति अधिकारीका लागि फापेन। लगातारको संसदीय चुनावमा -०५६ र ०६४) पराजित भएका उनी राष्ट्रिय ताल संरक्षण समितिको अध्यक्ष बन्न पुगे। आठौं महाधिवेशनपछि पार्टीको पोलिट्व्यूरो सदस्य तथा गण्डकी अञ्चल इन्चार्जमा निर्वाचित उनी ०७० मा सांसद नभए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी सम्हालेे। अधिकारी यसपालिको चुनावमा दोश्रो पटक कास्की १ बाटै सांसद चुनिए। अधिकारीले काँग्रेसका उम्मेदवार हालका कानुन मन्त्री यज्ञबहादुर थापालाई फराकिलो मतान्तरले हराउँदै विजयी भएका हुन् ।विजयी अधिकारीले निर्वाचनमा ३९ हजार २ सय ४२ र थापाले २५ हजार ८ सय २६ मत प्राप्त गरे । दुर्इ उम्मेदवारबीच १३ हजार ४ सय १६ को मतान्तर छ ।

- अादर्श समाज सम्वाददाता