किसानका छोरा सांसद बने

पोखरा, २४ मंसिर। कमजोर आर्थिक अवस्था, खाने लाउने चिन्ताले परिवारलाई सताउँथ्यो। भोकै स्कूल पुग्थे कहिले त रामजी। उनलाई चिनेकाहरु उनका दुःख केलाउन पनि मान्दैनन्। त्यति दयनीय जीवन बिताए उनले। १० कक्षासम्म पढ्दा खाली खुट्टा हिडेका उनी जनताका खुट्टामा जुत्ता चप्पल दिलाउन राजनीतिमा लागे।

साविक पुम्दीभुम्दी गाविसस्थित डाँडाथोकमा २०२३ सालमा जन्मिएका रामजीप्रसाद बराल निम्नवर्गीय किसान परिवारका छोरा हुन्। गाउँकै महेश्वरी प्राविबाट प्रारम्भिक शिक्षा थालेका उनले कष्टपूर्णरुपमा अध्ययन गरे। १० कक्षा पढ्दाताका नै उनी कम्युनिष्टको समानताको सिद्धान्तले राजनीतिमा आकषिर्त भए । ०४२ मा तत्कालीन मोटो मशालको विद्यार्थी संगठनमा समाहित भएर शुक्रराज माविको इकाइ कमिटी अध्यक्ष भएका उनी २०४३ सालमा एसएलसी दिएपछि कम्युनिष्ट राजनीतिमा झनै सक्रिय भए। २०४६ सालको जनआन्दोलनमा पनि उनले पञ्चायतविरुद्ध सडकमा आन्दोलन गरे। उनले ०४७ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए। २०४८ मा संयुक्त जनमोर्चा नेपालको गाउँ इकाइ अध्यक्ष, ०४९ मा पार्टीको जिल्ला सदस्य बनेका उनी ०५१ मा पार्टीको राष्ट्रिय भेलाका लागि प्रतिनिधि छनौट भए।

२०५३ सालतिर पार्टीको पूर्णकालीन कार्यकर्ता बनेका बराल उतिबेलै नेकपा (माओवादी) को इलाका सेक्रेटरी र पार्टीको जिल्ला सदस्य भए। कास्कीको माओवादी आन्दोलन उचाइ पुर्‍याउन बरालको योगदान अविष्मरणीय छ। २०५७ सालमा पार्टीले उनलाई पर्वत सेक्रेटरीको जिम्मेवारी दियो। २०५९ मा उनी पुनः इन्चार्ज/सेक्रेटरीको जिम्मेवारी दिएर कास्की फर्किए। जनयुद्घमा निरन्तर सहभागी भएका उनी कमिसार रहेर धेरै फौजी आक्रमणमा पनि सहभागी भए। तिनै बराल तीन दशकपछि अहिले कास्की ३ प्रदेशसभा (क) बाट प्रदेशका लागि सांसद बन्न सफल भए ।

बरालले चुनावी मैदानमा काँग्रेस उम्मेदवार तथा पूर्व सांसद शारदा पौडेललाई हराएका हुन् । विजयी बरालले १५ हजार ८ सय २३ र पौडेलले १३ हजार ५७ मत ल्याइन् ।

- अादर्श समाज सम्वाददाता