प्रदीप पौडेल ५ मतअन्तरले पराजित

खैरेनीटार, २४ मंसिर । तनहुँमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सबै छ वटै क्षेत्रमा वाम गठबन्धनले बाजी मारेको छ ।

क्षेत्र १ मा प्रतिनिधिसभातर्फ काँग्रेसका वरिष्ठ नेता समेत रहेको उम्मेदवार रामचन्द्र पौडेललाई ६ हजार ८ सय २ मतअन्तरले पराजित गर्दै वामगठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठले जित हात पारेका छन् । श्रेष्ठले ३४ हजार ४ सय ९२ मत ल्याएका छन् भने पौडेलले २७ हजार ६ सय ९० मत पाए । उक्त क्षेत्रमा काँग्रेसका चिरञ्जीवी वाग्ले पौडेलका वागी बनेका थिए ।

यस्तै, क्षेत्र १ प्रदेशसभा (क) मा वामगठबन्धनबाट रामबहादुर गुरुङले १८ हजार २ सय ६५ मत प्राप्त गरी विजय हासिल गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका गोविन्द भट्टराईले १६ हजार ८ सय ७८ मत प्राप्त गरे।

क्षेत्र नं. १ (ख) मा वाम गठबन्धनका हरिबहादुर चुमान १५ हजार ३ सय ६० मत प्राप्त गरी जित हात पार्दा काँग्रेसका रघुनाथ पौडेलले ११ हजार ८ सय ८१ मत पाए।

तनहुँको क्षेत्र २ प्रतिनिधिसभा सदस्यमा वामगठबन्धन विजयी भयो । केदार सिग्देलले ३२ हजार ९ सय २४ मत प्राप्त गरी विजयी हुँदा काँग्रेसका शंकर भण्डारीले २९ हजार ६ सय ४५ मत प्राप्त गरेका थिए ।

क्षेत्र नं. २ (क) मा वामगठबन्धनकी आशा कोइराला काँग्रेसका युवा नेता प्रदीप पौडेललाई मात्र ५ मत अन्तरले पराजित गरी विजयी बनिन् । उनले १६ हजार ६ सय ४६ मत प्राप्त गर्दा पौडेलले १६ हजार ६ सय ४१ प्राप्त गरे ।

क्षेत्र नं. २(ख) का वाम गठबन्धनका उम्मेदवार किरण गुरुङले १५ हजार ६ सय ३० मत प्राप्त गरी विजयी हुँदा काँगे्रसका ध्र्रुव वाग्लेले १४ हजार २ सय १४ मत प्राप्त गरे।

- अादर्श समाज सम्वाददाता