चितवनको प्रतिनिसभामा एक र प्रदेशतर्फ चार स्थानमा वाम विजयी

चितवन, २४ मंसिर । चितवनमा प्रतिनिधिसभामा एक र प्रदेशसभामा चार जना वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बाँकी प्रतिनिधिसभाका दुर्इ र प्रदेशसभाका दुर्इ स्थानमा पनि वाम गठबन्धनले नै अग्रता लिएको छ ।

प्रतिनिधिसभातर्फ चितवन क्षेत्र नं. २ बाट नेकपा एमालेका कृष्णभक्त पोखरेल विजयी भएका छन् । पोखरेलले ४४ हजार ६७० प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका शेषनाथ अधिकारीले २७ हजार ३ सय १४ मत प्राप्त गरेका छन् ।

क्षेत्र २ प्रदेशसभा (१) मा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका घनश्याम दाहालले २० हजार ३ सय ८१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जीतनारायण श्रेष्ठले १५ हजार ६ सय ६३ मत प्राप्त गरेका छन् । श्रेष्ठ नेपाली काँग्रेस चितवनका सभापति हुन् ।

क्षेत्र २ प्रदेशसभा (२) मा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका विजय सुवेदीले २१ हजार ५ सय ७२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रकाश अधिकारीले १२ हजार ६ सय ७० मत प्राप्त गरेका छन् । सुवेदीले आचार्यलाई ८ हजार ९ सय २ मत अन्तरले पछि पार्दै विजयी भएका हुन् ।

क्षेत्र १ को (१) मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार एमालेका दावा दोजे लामा र -२) मा नेकपा एमालेकै कृष्ण खनाल विजयी भए । लामाले निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका धनबहादुर गुरुङ्लाई ७ हजार २९ मतले पराजित गर्दै विजयी भएका हुन्  । लामाले २३ हजार २३ मत ल्याउँदा गुरुङले १५ हजार ९ सय ९४ मत प्राप्त गरेका थिए ।

सो क्षेत्रको प्रदेश -२) मा खनालले नेपाली काँग्रेसका उत्तम आचार्यलाई ८ हजार ७ सय २१ मत अन्तरले पराजित गरेका छन् । खनालले २७ हजार २ सय ३२ मत ल्याउँदा आचार्यले १८ हजार ५ सय ११ मत प्राप्त गरेका थिए ।

जिल्लाको क्षेत्र १ मा नेकपा एमालेका सुरेन्द्र पाण्डे अग्रस्थानमा रहेका छन् । उनलाई नेपाली काँग्रेसका राजेन्द्र बुलाकोटीले पछ्याइरहेका छन् ।

उता, क्षेत्र नं. ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अग्रस्थानमा छन् । उनलाई राप्रपा (प्रजातान्त्रिक) का केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले पछ्याएका छन् ।

- तिलकराम रिमाल