एमाले उपमहासचिव पौडेल विजयी

वाम गठबन्धनको सिट बढी

बुटवल, २४ मंसिर । रूपन्देही क्षेत्र नं २ मा प्रतिनिधिसभामा वाम गठबन्धनका तर्फबाट उम्मेदवार नेकपा -एमाले) का उपमहासचिव तथा पूर्वर्अर्थमन्त्री विष्णुप्रसाद पौडेल विजयी भएका छन्।

उनले नेपाली काँग्रेसका युवराज गिरीलाई २२ हजार ६६ मतको फराकिलो मतान्तरले पराजित गरेका छन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको परिणामअनुसार नेता पौडेलले ४४ हजार नौ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्द्वी गिरीले २१ हजार ९४६ मत प्राप्त गरेका छन्। सो निर्वाचन क्षेत्रमा रहेका एक लाख पाँच हजार २०६ मतदातामध्ये ७४ हजार ४०९ मत खसेको थियो।

नवनिर्वाचित नेता पौडेलले यसअघि विसं २०७० मा तत्कालीन नेकपा -माओवादी)का वरिष्ठ नेता डा बाबुराम भट्टराईलाई झण्डै छ हजार मतान्तरले पराजित गरेका थिए ।

पटक पटक जनताबाट निर्वाचित पौडेलले यस क्षेत्रमा सो निर्वाचन क्षेत्रबाट २०६४ सालको संविधानसभाको निर्वाचनमा काँग्रेसका नेता सूर्यप्रसाद प्रधान -हाल स्वर्गीय)लाई पराजित गरेका थिए ।

यसै निर्वाचन क्षेत्रको प्रदेशसभातर्फ पनि एमालेले जीत हात पारेको छ। प्रदेशसभा (क) मा वाम गठबन्धनका तर्फबाट एमालेका केन्द्रीय सदस्य तथा रूपन्देही इञ्चार्ज लीला गिरी २१ हजार ७३४ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका काजीमान श्रेष्ठले नौ हजार ७७८ मत प्राप्त गरेका छन्।

निर्वाचित नेता गिरी यस क्षेत्रमा इमान्दार र निष्ठाको राजनीति गर्ने व्यक्तिका रूपमा चिनिन्छन्। यसैगरी प्रदेशसभा २ मा पनि वाम गठबन्धनका तर्फबाट एमालेका ५ नं प्रदेशका नेता तथा बुटवल नगरपालिका पूर्वप्रमुख भोजप्रसाद श्रेष्ठ २१ हजार १३५ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष महेशमान सिंहले १२ हजार ५६५ मत प्राप्त गरेका छन्।

निर्वाचित श्रेष्ठ पनि विकासका योजनामा सफल व्यक्तित्वका रूपमा यस क्षेत्रमा परिचित छन् । रूपन्देहीको सिर्द्धार्थनगर नगरपालिकास्थित भैरहवा बहुमुखी क्याम्पसमा भइरहेको मतगणनामा क्षेत्र नं १ मा पनि संयुक्त वाम गठबन्धनका उम्मेदवार अगाडि छन् । यस निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि एमालेका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री छविलाल विश्वकर्मा अघि छन् ।

यस्तै प्रदेशसभातर्फ प्रदेश (क) मा ४४ हजार २३४ मत खसेकामा वाम गठबन्धनका तर्फबाट एमालेका डा कृष्ण न्यौपानेले १९ हजार ५२० मत प्राप्त गरेका छन् भने राप्रपा -प्रजातान्त्रिक) का ताहिर अलि भाटले १३ हजार ७८ मत प्राप्त गरेका छन्।

यस्तै प्रदेशसभा (ख) मा माओवादी केन्द्र केन्द्रीय सचिवालय सदस्य दधिराम न्यौपाने १३ हजार ९४ मत प्राप्त गरेर निर्वाचित भए भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका हरि न्यौपानेले ११ हजार १०३ मत प्राप्त गरेका छन्।

क्षेत्र नं ३ को प्रतिनिधिसभातर्फ एमालेका उपमहासचिव घनश्याम भुसाल चार हजार ५२८ मतको अन्तरले विजयी भए। नेता भुसालले २९ हजार ६०१ र उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा स्वास्थ्यमन्त्री दीपक बोहराले २५ हजार ७३ मत प्राप्त गरेका छन्। यस निर्वाचन क्षेत्रअन्तर्गतको प्रदेशसभाको मतगणना अन्तिम परिणाममा प्रदेश -क)मा संघीय समाजवादी फोरम नेपालका सन्तोष पाण्डे र (ख) मा एमालेका तुल्सी चौधरी निर्वाचित भए।

क्षेत्र नं ५ मा प्रतिनिधिसभातर्फ काँग्रेस विजयी भएको छ। सो निर्वाचन क्षेत्रमा काँग्रेसका नेता भरतकुमार शाह ३३ हजार ८८ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नेता डिलाराम आचार्यले २० हजार ४३८ मत प्राप्त गरेका छन्। एक लाख छ हजार १५३ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा ७९ हजार ४९६ मत खसेकामा पाँच हजार २३७ मत बदर भएको सहायक निर्वाचन अधिकृत नुमराज खनालले जानकारी दिए ।

सो निर्वाचन क्षेत्रमा प्रदेशसभा (क) मा ४५ हजार ९१५ मत खसेकामा एमालेका भूमीश्वर ढकाल २२ हजार २५ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विष्णु पोखरेलले १५ हजार ४१६ मत प्राप्त गरेका छन्।

यस्तै प्रदेशसभा (ख) मा काँग्रेसका फकरुद्दिन खाँ १६ हजार ६८३ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वीसमाजवादी फोरमकी रामावती पासवानले नौ हजार २५० मत प्राप्त गरेका छन्। यस क्षेत्रमा ३३ हजार ६०८ मत रहेकामा २ हजार ५०८ मत बदर भएको छ। निर्वाचनको परिणाम घोषणासँग निर्वाचित उम्मेदवारका दलका समर्थकले विजय उत्सव मनाउन थालेका छन्।

- रासस