रवीन्द्रको ह्याटि्रक, वागीबीच बिन्दु विजयी

कास्कीमा वाम वर्चस्व

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको गत मंसिर २१ मा भएको मतदानको पछिल्लो नतिजामा कास्कीमा वाम गठबन्धनले वर्चस्व जमाएको छ । प्रतिनिधिसभाका ३ र प्रदेशसभाका ६ गरी कुल ९ क्षेत्रमध्ये ८ वटै क्षेत्रमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवार जितउन्मुख हुँदा प्रदेशसभातर्फ नेपाली काँग्रेसले एउटामात्र क्षेत्र जित्दै ‘क्लीन स्वीप’ हुनबाट जोगायो । शनिबारको अन्तिम परिणाममा कास्कीमा प्रतिनिधिसभातर्फ क्षेत्र २ र क्षेत्र ३ मा नेकपा एमालेका उम्मेदवार क्रमशः रवीन्द्र अधिकारी र जगत विश्वकर्मा विजयी हुन सफल भए ।

त्यस्तै, कास्की १ को प्रदेश (क) मा माओवादी केन्द्रका दीपक कोइराला र (ख) मा एमालेका मनबहादुर गुरुङले जित हात पारे ।

कास्की क्षेत्र २ (क) मा एमालेका कृष्ण थापा र -ख) मा काँग्रेसका विन्दु थापा विजयी हुँदा ३ -ख) मा एमालेका राजीव पहारी विजयी हुन सफल भएका हुन् ।

अन्तिम नतिजा आउन बाँकी कास्की १ प्रतिनिधिसभा र कास्की ३ प्रदेशसभा -क) को शनिबार राति मध्यरातसम्मको जारी गणनामा दुवै क्षेत्रमा वाम गठबन्धन फराकिलो मतान्तरले अघि छ ।

कास्की १ प्रदेशसभा (क) मा माओवादी उम्मेदवार दीपक कोइरालाले काँग्रेस नेता जीवन परियारलाई ३ हजार ६ सय ४६ मतान्तरले पराजित गरी विजयी भएका हुन् । कोइरालाले १८ हजार ७ सय २७ र परियारले १५ हजार ८१ मत पाए । विजयी कोइराला कास्की माओवादीका जिल्ला सहइन्चार्ज हुन् भने काँग्रेसका परियार पार्टीका केन्द्रिय सदस्य र निवर्तमान सांसद हुन् ।

कास्की क्षेत्र १ -ख) मा एमालेका मनबहादुर गुरुङले कास्की काँग्रेसका सभापतिसमेत रहेका उम्मेदवार कृष्णबहादुर केसीलाई ४ हजार १ सय ४७ मतान्तरले पराजित गर्दै चुनाव जितेका छन् । गुरुङले १७ हजार २ सय ४९ मत पाउँदा केसीले १३ हजार १ सय २ मत ल्याए । एमाले कास्कीका उपाध्यक्ष समेत रहेका गुरुङ वाम गठबन्धनका साझा उम्मेदवार हुन् । कास्की क्षेत्र २ प्रतिनिधिसभातर्फ एमाले उम्मेदवार रवीन्द्र अधिकारीले काँग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ को फराकिलो मतान्तरले पराजित गर्दै हृयाटि्रक पूरा गरेका छन्। उनी २०६४ र ०७० को संविधानसभा निर्वाचनमा पनि विजयी भएका थिए । यसपालि पनि विजयी अधिकारीले २७ हजार २ सय ७ मत मत ल्याएका छन् भने चालिसेले १८ हजार ६ सय ६१ मत प्राप्त गरे।

यस्तै, कास्की क्षेत्र २ (क) मा वाम गठबन्धनतर्फ एमालेका उम्मेदवार कृष्ण थापा विजयी भए। एमालेका जिल्ला अध्यक्ष समेत रहेका थापाले १५ हजार ३ सय २९ मत ल्याउँदै विजयी हुँदा उनका निकटतम् प्रतिष्पर्धी काँग्रेसका गुरु बरालको ८ हजार ३ सय २५ मत छ।

क्षेत्र २ (ख) तर्फ काँग्रेसका विन्दुकुमार थापा वागी उम्मेदवारबीच पनि वाम गठबन्धनका उम्मेदवारको कडा प्रतिष्पर्धामा विजयी हुन सफल भएका हुन् । थापाले १० हजार ७ सय २६ मत ल्याएका छन् भने वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार राजकाजी गुरुङले ९ हजार ९ सय २४ मत पाए। थापाविरुद्ध वागी हालेका दिनेशशंकर पालिखेको पक्षमा १ हजार २ सय ९२ मत परेको छ ।

कास्की क्षेत्र ३ प्रतिनिधिसभा सदस्य तर्फ एमालेका जगत विश्वकर्माले ८ हजार ३ सय ८६ मतान्तरले काँग्रेसका शुक्रराज शर्मालाई पराजित गरी विजयी हुन सफल भए । पार्टीका पोलिट्व्युरो सदस्य समेत रहेका विश्वकर्माले ३२ हजार ६ सय ९० मत ल्याउँदा काँग्रेसका पूर्व जिल्ला सभापतिसमेत रहेका पाका नेता शर्माले २४ हजार ३ सय ४ मत ल्याए।

त्यस्तै, क्षेत्र ३ (ख) मा एमालेका युवा नेता राजीव पहारी विजयी भए । युवा संघ अध्यक्ष समेत रहेका पहारीले निकटतम् प्रतिद्वन्द्वी सिकन्दर गुरुङलाई ५ हजार बढी मतअन्तरले पराजित गर्दै विजयी हुन सफल भएका हुन् । पहारीले अन्तिम गणनामा १६ हजार १ सय ६७ र गुरुङले १० हजार ८ सय ७६ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ ।

उता, कास्की १ मा एमालेका उम्मेदवार खगराज अधिकारीले निकतटम् प्रतिद्वन्द्वी काँग्रेसका यज्ञबहादुर थापालाई फराकिलो मतान्तरले पछि पार्दै अग्रता कायमै राखेका छन् । जारी मतपरिणामअनुसार पूर्व स्वास्थ्यमन्त्री समेत रहेका अधिकारीले २८ हजार ६ सय ८३ र हालका कानुनमन्त्री समेत रहेका काँग्रेसका थापाले १८ हजार ७ सय ६३ मत ल्याएका छन् । हालसम्म ५० हजार ९ सय ५ मत गणना भैसकेको छ । त्यस्तै, कास्की ३ -क) मा वाम गठबन्धनबाट माओवादी केन्द्रका रामजी बरालले अग्रता कायमै राखेका छन् । पछिल्लो नतिजामा बरालले ९ हजार ३ सय २३ र काँग्रेसबाट उम्मेदवार तथा पूर्व सभासद समेत रहेकी शारदा पौडेलले ७ हजार २ सय ९३ मत ल्याएकी थिइन् ।

कास्कीमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फ १७ दल र स्वतन्त्र गरी ९५ उम्मेदवार चुनावी मैदानमा थिए । शुक्रबार दिउँसोदेखि क्षेत्र १ को पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, क्षेत्र २ को सहकारी डिभिजन कार्यालय र क्षेत्र ३ को जिल्ला समन्वय समितिको कार्यालयमा मतगणना जारी छ । प्रतिनिधिसभा तथा प्रदेशतर्फ सबै क्षेत्रको अन्तिम परिणाम आइतबारसम्म आइसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रत्यक्षतर्फ गणना भइसकेपछि समानुपातिकको गणना हुनेछ । जिल्लामा २ लाख ५५ हजार मतदातामध्ये करिब ७० प्रतिशत मत खसेको थियो ।

यसैबीच, मतगणनास्थल शहीदचोक परिसरमा विभिन्न दल, कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारण परिणामबारे जान्न उत्सुकका साथ दिनरातभर बसेको पाइन्छ । विजयी उम्मेदवारलाई जितको खुसीयालीमा सम्बन्धित दलका कार्यकर्ता तथा शुभेच्छुकले गाडीमा हालेर सहर परिक्रमा गराउने गरेका छन् ।

रवीन्द्रले रचे इतिहास

वाम गठबन्धनका उम्मेदवार एमाले नेता रवीन्द्र अधिकारीले कास्की क्षेत्र २ बाट चुनाव जिते । उनले यसपाली चुनाव मात्रै जितेनन् संसदीय नेतृत्वमा कास्कीबाट इतिहास नै रचे । लगातार तेश्रो पटक चुनाव जित्ने रवीन्द्र कास्कीका पहिलो नेता हुन् । उनी २०६४ र ०७० को संविधानसभा चुनावमा विजयी भएका थिए । यसअघि काँग्रेस नेता तारानाथ रानाभाट र एमाले नेता तुलबहादुर गुरुङ २/२ पटक सांसद बनेका छन् ।

२०५६ देखि संसदीय चुनावको अभ्यासमा रहेका अधिकारी पहिलो पटक पराजित उम्मेदवार हुन् । ०५६ मा उनी कास्की १ मा नेकपा मालेका तर्फबाट उम्मेदवार बनेका थिए । पहिलो चुनावमा मतका आधारमा अधिकारी चौथो भएका थिए । तत्कालीन चुनावमा उनले १ हजार ७ सय ५२ मत पाएका थिए ।

त्यसपछि एमाले र मालेको एकीकरण भएसँगै अधिकारी एमालेका नेता बने । २०६४ को पहिलो चुनावमा कास्कीमा एमालेबाट चुनाव जित्ने अधिकारी मात्रै थिए । माओवादी नेता झलकपाणी तिवारीलाई २ हजार ४ सय ६० मतान्तरले पराजित गरेका अधिकारीले ०७० मा काँग्रेस नेता सोभियतबहादुर अधिकारीलाई पनि पाखा लगाए । सोभियत रवीन्द्रसँग २ हजार ३ सय २ मतले पराजित भए ।

विद्यार्थी संगठनदेखि राजनीतिमा उदाएका अधिकारी तत्कालीन भरतपोखरी गाविसको जामुनाबोटमा २०२६ सालमा जन्मिएका हुन् । गाउँमै मावि तहको पढाइ पूरा गरेपछि पृथ्वीनारायण क्याम्पस छिरेका अधिकारी ०४४ सालमा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष, ०४५ सालमा स्ववियु पीएन क्याम्पस सदस्य, ०४५ सालमा नै अनेरास्ववियु कास्की जिल्ला कमिटी अध्यक्ष, ०४७ सालमा गण्डकी अञ्चल अध्यक्ष तथा अनेरास्ववियु केन्द्रीय सदस्य र ०४९ सालमा पीएन क्ाम्पस पोखरा हुँदै ०५३ सालमा त्रिभुवन विश्वबिद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववियु सभापति निर्वाचित भए ।

२०५३ सालमा स्ववियु काउन्सिल नेपालका संयोजक भएका अधिकारी ०५६ मा अनेरास्ववियुका केन्द्रीय अध्यक्षहुँदै २०६० र ०६३ मा दुर्इ कार्यकाल कास्कीको सचिव भए । पञ्चायतको विरोध गरेकै कारण ०४६ सालमा अधिकारी पटकपटक गरी ६ महिना जेल परेका थिए । २०४५ सालमा पार्टीको संगठित सदस्यता पाएका उनी ०४६ मा पोखरा नगर कमिटी, ०४८ मा पार्टीजिल्ला कमिटीमा हुँदै केन्द्रिय राजनीतिमा होमिए । २०५४ मा पार्टीविभाजन हुँदा नेकपा मालेमा लागेका उनी ०५८ मा पार्टीएकीकरणसँगै एमालेमै छिरेका हुन् ।

मेयरपछि ‘माननीय’

बीस वर्षअघि पोखरा नगरका मेयर हुँदा कृष्ण थापा ४० वर्ष हाराहारीका थिए । २० वर्षपछि उनी ‘माननीय’ बने । २०१७ सालमा जन्मिएका थापा विद्यार्थी राजनीतिका उत्पादन हुन् । उनले तत्कालीन नेकपा मालेको विद्यार्थी संगठन अनेरास्ववियु पाँचौबाट राजनीति थालेका थिए । २०४१ सालमा पार्टीको सदस्यता लिएका थापा उतिबेलै अनेरास्ववियु कास्कीको अध्यक्ष र पीएनमा स्ववियु सदस्य भए । २०४५ मा अनेरास्ववीयु केन्द्रिय सदस्य हुँदै २०५० मा पोखरा नगर कमिटी सचिव भएका थापाको राजनीति निकै लामो छ । उनले २०४३ देखि २०४५ सम्म पोखरा, दमौली र गोरखा गरी झण्डै २ वर्ष जेल जीवन विताएका छन् । उनी २०५० मा पोखराको नगर सचिव समेत बने । जनसाँस्कृतिक संघको संस्थापक नगर अध्यक्ष थापा दुर्इ दशकअघि देखि लगातार नेकपा एमाले कास्कीको जिल्ला कमिटीमा छन् । २०६६ सालदेखि सचिव हुँदै हाल अध्यक्ष थापासँग पोखरा उपमहानगरपालिकाको प्रमुख भएर जनप्रतिनिधिका रुपमा काम गरेको अनुभव छ ।

२०४९ सालमा उपमेयरमा पराजित भएका थापा ०५४ सालमा मेयरमा निर्वाचित भएका थिए । २०४७ मा नेकपा माले जिल्ला सदस्य भएका उनी पार्टीएकीकरणपछि २०५१ म्ा एमालेका जिल्ला सदस्य थिए । थापाले ०५१ सालमा पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष र क्षेत्र नम्बर २ को पार्टीसंयोजक भएर पनि काम गरेका थिए भने विभिन्न सामाजिक संघसंस्थाको नेतृत्व तहमा बसेर काम गरेका थिए । थापाले पञ्चायतकालमा २८ महिना जेल जीवन बिताएका छन् । उनी नेपाल चिकित्सक सहायक संघको संस्थापक सचिव समेत हुन् । २०७० को दोश्रो संविधानसभा चुनावमा काँग्रेस नेतृ शारदा पौडेलसँग पराजीत उनी दोश्रो प्रयासमा सफल बने ।

कास्की काँग्रेसका ‘हिरो’ विन्दु

विन्दुकुमार थापा, सधैँजसो सामाजिक क्षेत्र र व्यवसायमा सुनिने नाम अब राजनीतिमा स्थापित हुँदैछन् । टिकट पाएकै दिनदेखि उनलाई एउटा आरोप थियो-पैसाले टिकट ल्याएको । उनीविरुद्ध काँग्रेसकै महाधिवेशन प्रतिनिधि नरेशशंकर पालिखे बागी बने । काँग्रेसका लागि केही सहज भए पनि कास्की २ -ख) समग्रमा काँग्रेसभन्दा वाम गठबन्धन १५ सय हाराहारीले पछाडि थियो । त्यसमाथि बागी । अझ पूर्व सांसद उनका लागि कम्ता चुनौती थिएन । तर सबैलाई पार लगाउँदै थापा कास्की काँग्रेसकै हिरो बने । प्रतिनिधि र प्रदेशसभा गरी ९ निर्वाचन क्षेत्र रहेको कास्कीमा सम्भवतः विन्दु एकमात्र विजेता हुन्, काँग्रेसको तर्फबाट । यद्यपि मतगणना चलिरहेको छ । तर काँग्रेसका उम्मेदवार निकै पछाडि भएकाले जित्ने सम्भावना पनि उत्तिकै न्यून बन्दैछ ।

२०१४ सालमा जन्मिएका थापा पोखरासँग सम्बन्ध राख्ने हरेक अभियानमा सधैँजसो सुनिने नाम हो । लामो समय व्यापार व्यवसायमा जमेका उनी राजनीतिमा पनि उत्तिकै सक्रिय छन् । २०६३ सालमा नेपाली काँग्रेसको क्रियाशील सदस्यता लिएका उनले त्यसअघि पनि काँग्रेस निकट विभिन्न संगठनहरुमा रहेर काम गरिसकेका छन् । पोखराको व्यापार र अर्थतन्त्रसँग उनको नाम पर्याबाची जस्तै भैसकेको छ । थापाले कानुनमा स्नातक गरेका छन् । पोखराकै सबैभन्दा पुरानो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य संघमा सन् २०१४ देखि ०१६ सम्म अध्यक्ष भएर काम गरिसकेका नेपाल रुस उद्योग वाणिज्य संघको गण्डकी अध्यक्ष हुन् भने गण्डकी विकास बैंकका निर्देशनसमेत हुन् । थापा उद्योग र व्यवसायको क्षेत्रमा स्थापित छन् । हाल उनी नेपाली काँग्रेसको क्रियाशील सदस्यमात्रै हुन् ।

जनयुद्धका ‘कमाण्डर’ प्रदेश सांसद

वाम गठबन्धन कास्कीका लागि भाग्यमानी सावित भयो । एमाले र माओवादीको आपसी तालमेलले दुवै पार्टीकाई उचाइमा पुर्‍यायो । त्यसको मुख्य प्रभाव कास्की १ -क) मा देखियो । माओवादी निकै कमजोर यो क्षेत्रमा माओवादीका उम्मेदवार विजयी भए । त्यसमाथि उनी यो क्षेत्रका लागि नौला अनुहार हुन् । माओवादी कास्कीका सहइन्चार्ज दीपक कोइराला ४ नम्बर प्रदेशका सांसद बने । ११ वर्षमा राजनीति छिरेका कोइराला ४० वर्ष पार गरेपछि लक्ष्यमा पुगे । त्यसो त उनका अघि ठूला चुनौतीहरु छन् र उसैगरी थपिएका छन् नयाँ गन्तब्यहरु ।

२०३५ सालमा जन्मिएका उनी ११ वर्षपुग्दा नपुग्दै राजनीतिमा छिरिसकेका थिए । आन्दोलन नै उनको पहिलो राजनीतिक यात्राको थालनी थियो । गोरखाको मसेलमा जन्मिएर २०४७ मा परिवारसँगै चितवन बसाईसरेपनि उनी उतै हुर्केका थिए । तर राजनीतिले उनलाई चितवनमा मात्रै सीमित गरेन । धेरै मेहिनत र प्रयासपछि कास्कीमा कोइरालाको उम्मेदवारी छ । काचो उमेरमै राजनीतिमा लागेपछि उनले प्रमाण पत्र तह मात्रै पूरा गर्न सके । २०४९ मा वाईसीएल र अखिल (क्रान्तिकारी) मा लागेर उनले सक्रिय राजनीति थाले ।

२०५४ फागुन २१ मा नेकपा (माओवादी) को पार्टीसदस्यता लिएका उनी त्यसपछि पूर्णकालीन जनयुद्धमा होमिए । २०५६ मा इलाका सदस्य हुँदै उनले विभिन्न पदमा रहेर जनमुक्ति सेनाको कमाण्डिङ गरे । कोइराला २०६२/०६३ को जनआन्दोलनपछि गठन भएको वाईसिएल को कास्की अध्यक्ष भएर काम गरे भने उतिबेलै वाईसीएलकै तमुवान संयोजक पनि बने । त्यसपछि पार्टीको छैठौं जिल्ला अधिवेशनबाट कास्की अध्यक्षमा निर्वाचित उनी हाल माओवादी केन्द्रको पोलिटब्युरो सदस्य एवं कास्की जिल्ला सहइन्चार्जका रुपमा कार्यरत छन् ।

सिक्लेसका ‘चिवा’ संसद् सदस्य

मनबहादुर गुरुङ सिक्लेसीका ‘चिवा’ । नेपाली भाषामा जिवालाई मुखिया भनिन्छ । उनले अहिले पनि गाउँमा परेगरेका समस्या र विवादको फैसला दिन्छन् । जतिबेला गाविस अध्यक्ष भए त्यसअघि नै उनी सिक्लेस गाउँका अगुवा हुन् । गाउँको सामाजिक काममा नेतृत्व गरेकै कारण उनलाई सबै गाउँलेले चिवा उपनामले बोलाउन थाले, जुन नाम अहिले पनि फेरिएको छैन । गाउँ पुग्दा उनलाई सानादेखि ठूलाले पनि चिवा भनेर बोलाउँछन् । साविक पार्चे गाविस हालको मादी गाउँपालिका १ मा २०२३ साल बैशाख १ गते जन्मिएका गुरुङ कास्की क्षेत्र नम्बर १ प्रदेशसभा (ख) बाट चुनाव जिते । यो अवस्थामा आईपुग्न उनले धेरै ठूलो संघर्ष गरेका छन् ।

ग्रामीण परिवसमा जन्मे हुर्केका उनी साथीभाइको संगत र प्रशिक्षणले नै राजनीतिमा भित्रिएका हुन् । टेष्ट पाससम्मको शैक्षिक योग्यता भएपनि उनीसँग विकासको भिजन कमी छैन । गुरुङको अनुभवले नै आफ्नो निर्वाचन क्षेत्र मज्जासँग हाँक्न सक्छन् । २०५४ सालमा पार्चे गाविसको अध्यक्ष भई काम गरेका उनी एमालेको विभिन्न पदमा रहेर काम गरिसकेका छन् । २०४३ सालबाट मालेको समथन गर्दै राजनैतिक गतिविधिमा होमिएका उनी २०४६ को जनआन्दोलनमा सक्रिय नेतृत्वकर्ताको भूमिकामा थिए ।

२०५१ सालमा एमालेको संगठित सदस्य बनेका गुरुङ क्षेत्र नम्बर १ को क्षेत्रीय कमिटि सदस्य भएर दुर्इ कार्यकाल काम गरे । दुवै कार्यकाल जिल्ला कमिटिको सदस्यमा पनि गुरुङ निर्वाचित भए । हाल उनी जिल्ला कमिटि उपाध्यक्षको भूमिकामा कार्यरत छन् । उनै गुरुङ ४ नम्बर प्रदेशका लागि सांसद बने ।

जनताको साथले तोडियो जगतको जंग

समाज नै कमजोर । आर्थिक अवस्था बलियो हुने कुरै थिएन । त्यसमाथि भोको पेटमा राजनीति कल्पना बाहिरको कुरा भयो । राजनीतिमा सम्भावना पनि के नै थियो र ? सामाजिक दासत्व जब मनमा गडेर बस्छ अनि व्रि्रोह आफैबाट शुरु हुन्छ । उदाहरण हुन्, जगत विश्वकर्मा । २०३१ सालमा पोखरा १९ घार्मीमा जन्मिएका उनी प्रावि तहमै विद्यार्थी अधिकारका पक्षमा लडे । २०४६ को संयुक्त जनआन्दोलनमा अनेरास्ववियु -पाचौं) संघर्ष समितिका एउटा सदस्य जगत नेता हुने कल्पना उनी आफैले गरेनन् ।

सधैँ अर्काको लागि लड्दालड्दै अहिले उनका लागि पूरै कास्की ३ लड्यो र उनलाई विजयको उचाइसम्म पुर्‍यायो । गैरदलित भएर दलित समुदायमा मुखिया बन्ने हाम्रो समाजमा उनी भने दलित भएर गैर दलितको अधिकारका लागि आफ्नो जीवन बिताए । विद्यार्थी जीवनबाटै राजनीतिमा पसेका उनी एमाले क्षेत्रीय समन्वय कमिटी क्षेत्र २, कास्कीको सदस्य, इलाका नम्बर ८ को उप-सचिव हुँदै सचिव, गाउँ कमिटी लामाचौरको सदस्य र उपसचिव भएपछि तत्कालीन २०४८ को आम निर्वाचनमा चुनाव प्रचारप्रसार उप-समिति लामाचौरको सदस्य भएका थिए ।

विश्वकर्मा २०५४ मा लामाचौर गाविसको उपाध्यक्ष भए । उनी २०६६ देखी हालसम्म नेपाल उत्पीडित जातीय मुक्ति समाजका विभिन्न पदमा रहेका काम गरेका ब्यक्ति हुन् । उनले नेपाल दलित मानवअधिकार संगठनको संस्थापक अध्यक्ष भएर काम गरे । त्यसबाहेक विभिन्न गैर सरकारी संस्थाहरुमा उनको संलग्नता थियो । उनी हाल नेकपा एमालेका वैकल्पिक पोलिट्व्यूरो सदस्य तथा प्रदेश ४ का सचिव हुन् । उनले २०७१ देखि २०७३ सम्म पार्टीको वैकल्पिक पोलिट्व्यूरो सदस्य एवं गण्डकी इञ्चार्ज भएर काम गरे । २०६६ देखि २०७१ सम्म गोरखा, मनाङ र कास्की इञ्चार्ज भए । त्यस्तै २०६३ देखि ०६६ सम्म उनी एमालेको कास्की जिल्ला सदस्य एवं सामाजिक सेवा विभाग प्रमुख बनेका थिए । संसदीय अभ्यास अहिलेसम्म नगरेका जगत पहिलो प्रयासमै सफल भए ।

स्ववियुको नमूना संसद सदस्य

२०३३ सालमा पोखराको पर्यटकीय क्षेत्र बैदाममा राजीव पहारी जन्मिँदा फेवाताल किनार ‘लेकसाइड’ भैसकेको थिएन । यसको मतलव बाहिरियाको पोखरा भित्रिने क्रम शुरु भएको थिएन । सालिन थियो फेवाताल । फेवाजस्तै सालिन थिए फेवा किनारका बासिन्दा । यति सालिन ठाउँमा एउटा व्रि्रोही निस्के राजीव । १३ वर्ष पुग्दानपुग्दै पञ्चायतको विरोधी बने । २०४६ मा पहिलो जनआन्दोलन ताका पहारी एक जत्थाको नेतृत्व गर्ने भैसकेका थिए । २०४८ मा उनले तालबाराही माविमा भएको विद्यार्थी आनदोलनको अगुवाइ गरे । विद्यालय तहको अध्ययन सकेर २०५० सालमा नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको प्रारम्भिक कमिटिको सदस्य, २०५३ मा अनेरास्ववियु कास्कीको जिल्ला कोषाध्यक्ष, सचिव हुँदै अध्यक्ष बनेका पहारी २०५७ मा स्ववियुको उपसभापति पछि सभापति निर्वाचित भए ।

पहारीलाई नमूना स्ववियु सभापतिको रुपमा त्रिभुवन विश्वविद्यालयले सम्मानितसमेत गरेको थियो । २०५७ देखि उनी अनेरास्ववियुको केन्द्रीय कमिटी सदस्यहुँदै शैक्षिक विभाग प्रमुख वने । २०५८ देखि नेकपा एमाले कास्की जिल्ला कमिटि सदस्य तथा विद्यार्थी इन्चार्ज, २०६० मा नेकपा एमाले कास्की जिल्ला कमिटि सचिवालय सदस्य र प्रचार विभाग प्रमुख पनि उनी भए ।

२०६२/६३ सालको संयुक्त जनआन्दोलनको पश्चिमाञ्चल क्षेत्र स्तरीय युवा विद्यार्थी परिचालन समितिको संयोजक भएर उनले काम गरे । त्यसवेला ५ महिना जेल पनि परे । २०६६ देखि २०६९ सम्म युवा संघ नेपालको केन्दीय सचिव एवम विदेश विभाग प्रमुख भएर काम गरेका पहारी युवा संघ नेपालको केन्द्रीय महासचिवहुँदै २०७२ सालमा केन्द्रिय अध्यक्ष भए । पहारीको राजनीति यतिमा मात्रै सकिएन । बरु थपियो जिम्मेवारी र बने सांसद ।

- प्रकाश ढकाल